प्रचण्डविरुद्ध अदालत जाने

काठमाडाैं

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरको नगरसभालाई सम्बोधन क्रममा दिएको अभिव्यक्तिप्रति नेपाल तामाङ घेदुङ, विदेशमा रहेका संघसंस्था र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले ध्यानाकर्षण गरेका छन् ।

घेदुङको विज्ञप्तिमा पूर्वप्रधानमन्त्री प्रचण्डले नै विगतदेखि शोषण, दमन र उत्पीडन भोग्दै आएको समुदायमा थप भ्रम र दुविधा उत्पन्न हुनेगरी तामाङ केटी र मुम्बईको प्रसंग जोडेपछि समस्त तामाङ समुदायको आत्सम्मानमा गहिरो चोट पुगेको बताइएको छ । तसर्थ, प्रसंगवश जोडिएको उक्त अभिव्यक्तिलाई प्रष्ट पार्न र सच्याउन समेत आग्रह गरेको छ ।

 

यही सन्दर्भलाई तामाङ सोसाइटी अफ नर्थ अमेरिकाले पनि विज्ञप्ति जारी गरिएको छ । तामाङ समुदायलाई राज्यको निर्णायक स्थानमा कहिल्यै ल्याउन नचाहने, बरु जिम्मेवारबाट पाखा लगाउने र पछिल्लो पटक अध्यक्ष प्रचण्डको अभिव्यक्तिले राज्य र त्यससँग सम्बन्धित व्यक्ति, निकायले यो समुदायलाई हेर्ने दृष्टिकोण अझै पुरानै रहेको स्पष्ट हुन्छ, विज्ञप्तिमा लेखिएको छ ।

यसैगरी नेपाल तामाङ घेदुङ, इजरायलले पनि विज्ञप्तिमा लेखिएको छ, हाम्रो समुदायप्रति धावा बोल्ने अधिकार अरु कसैसँग नरहेको र यो कुराको नश्लीय शासकहरुले हेक्का राखियोस् ।

नेपाल तामाङ संघ दक्षिण कोरियाले पनि विज्ञप्ति जारी गरिएको छ । नेपालको राष्ट्रिय राजनीतिको बागडोर सम्हालिरहेको व्यक्तिले विप्लवको अभिव्यक्तिलाई उदृत गर्दा यसले सिङ्गो तामाङ समुदायप्रतिको अपहेलना, नश्लीय चिन्तन तथा जातीय विभेदकारी मानसिकताको उपज हो भन्ने कुरामा संघको ठहर छ ।

पूर्व गृहराज्यमन्त्री एवं नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारीले भने,–‘समुदायप्रति अपमानजनक शब्द प्रयोग गरेको छ ।’ प्रचण्डजीले आफ्नो कमजोरी महसुस गर्दै सम्बन्धित समुदायसँग माफी माग्नुपर्नेछ । आम जनसमुदायलाई हेर्ने दृष्टिकोण अस्पष्ट भएको उनले उल्लेख गरे ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले तामाङ चेलीहरुको मानमर्दन गरेकोमा आपति जनाएको छ । त्यसमा प्रचण्डजीले सुधार गर्नुपर्ने निश्चित हो, लिङ्देनले भने ।

तामाङप्रति पुष्पकमल दाहाल (प्रचण्ड) को अभिव्यक्ति प्रति दुःख व्यक्त गर्दछु ! उहाँले सार्वजनिक रुपमा माफी माग्नु पर्छ, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका सभापति विकास लामाले भने ।

नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले स्टाटसमा लेखेका छन्, ‘नेपाली दिदीबहिनीसँग कमरेड प्रचण्डले माफी माग्नु पर्छ कि पर्दैन ?’ नुवाकोटका युवतीहरू खासगरी “तामाङ” जातिका चेलीबेटीमाथि क्रुरतापूर्ण उपमा बनाउँदै जुन क्षुद्र बोली प्रकट गरे । पोहोर साउन ४ गते यस्तै बोली प्रकट गरेको कारण उनकै पार्टीका शेरबहादुर तामाङले न्याय तथा कानुनमन्त्रीबाट राजीनामा गर्न बाध्य बनाइएको थियो । उनले आँशुका मसीले पदबाट राजिनामा दिएर सरकारबाट विदा भए । यही असार १० गते सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले नुवाकोटका युवतीहरू बेचिने गरेको भन्ने क्रुरता र उपहासपूर्ण उपमा बनाएर विप्लवसँगको प्रसंगमा जेजस्ता सार्वजनिक टिप्पणी गरेका छन् । त्यसले नुवाकोटका युवतीहरू खासगरी तामाङ दिदीबहिनीहरूको हुर्मत र इज्जतमाथी धावा बोल्ने काम भएको छ ।

त्यस्तै भाषण गरेका एक मन्त्रीले पदबाट राजिनामा दिनुपर्ने तर सोही पार्टीको मुखियाले त्यस्तै भाषण गर्दा पनि पदबाट राजिनामा दिनु कताकता, माफीसमेत माग्नु नपर्ने, उन्मुक्ति पाउने यो कहाँको न्याय हो ?
राप्रपा (संयुक्त) प्रचारप्रसार विभागका सदस्य जनकराज पाठकले प्रचण्डले आफ्नो फोहोर र गन्धा राजनीतिसँग सिंगो जनजातिको अपमान हुने गरी उदाहरण पेस गर्न पाउदैनन् । उनले भने, “नुवाकोटकी तामाङ केटीलाई काठमाडौं ल्याइ मुम्बई पुरयाए जस्तै” भन्नु दुखद विषय हो । यो अभिव्यक्तिले नेपालको सिंगो जनजाति समुदायलाई अपमान भएको छ ।

आह्वान अभियन्ता एवं निबन्धकार कुमारी लामाले जाति विशेषलाई इंगित गरी लज्जाबोध गराउने र उनीहरुको आत्मासम्मानमा ठेस लाग्ने यस्ता गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति प्रचण्डले दिन नहुने बताइन् । उनी थप्छिन्, आज बैदेशिक रोजगारको नाममा धेरै महिला कुनै जाति विशेष मात्र नभई समग्र नेपाली महिलाहरु परिरहेका छन् । त्यसतिर चाहि सरकारको ध्यान जानु जरुरी छ ।

नेपाली कांग्रेसका महासमिति सदस्य क्यालिफोर्नियाबाट विद्यासागर योञ्जनले यसरी आपति जनाएका छन् । एउटा जातलाई गिराएर जातिगत कुरा गरी प्रचन्ड यति तल झरेर अत्यन्तै तुच्छ र घृणित रुपमा प्रस्तुत हुनु भनेको उच्च जातिको घमण्डको अहंकार ओकलेको हो । उनले विगत सम्झदै लेखे,–‘जनयुद्धका नाममा पहिलो मारिएकी तामाङकै छोरी थिइन् । आज प्रचण्डले जुन सान र मान पाएका छन । दिलमायाजस्तै सयौ जवानी तामाङकै बलिदानबाट पाएका हुन् ।’
यसैगरी नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि बिकास प्रतिष्ठानको अध्यक्ष सिंहबहादुर योञ्जन तामाङले यसरी स्टाटस लेखिएको छ,–‘देशको प्रधानमन्त्री भईसकेको प्रचण्डेले तामाङ समुदायको अस्तित्व र अस्मितामाथि प्रहार गरेकोले गाली बेइज्जती कानून बमोजिम एक बर्ष कैद र दश हजार जरिवान गरी पाउँ भनि म अदालत जाँदैछु । सम्पुर्ण तामाङ समुदायलाई सहयोगको लागि हार्दिक अनुरोध गर्दछु ।

नयाँ शक्तिको भातृ संगठन युवा शक्ति नेपाल, निवर्तमान संघीय कोषाध्यक्ष मञ्जु तामाङले लेखेकी छिन,–‘यो अपशब्द बोल्दाबोल्दै भएको त्रुटि नभई सुझबुझका साथ बोलेको हो भन्ने ठान्दछु ।’ तामाङ सामुदायको चेलीबेटीहरुको चरित्रमाथि आँच पुग्न गएकोमा तुरुन्त माफी माग्नको लागि अनुरोध गर्दछु ।

लोकतान्त्रिक गणतन्त्र स्थापनापछि परम्परागत उखानदेखि तत्कालीन प्रस्तुति भाषा सच्याएर बोल्नुपर्ने संविधानले नै स्पष्ट पारेको छ । संविधानमा उल्लेख गरे अनुसार मुलुकी अपराध संहिता २०७४ दफा ३०५ गाली बेइज्जती कसुर अन्तर्गत कसैले कसैलाई होच्याउने वा गाली गर्ने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा निजले गाली वा बेइज्जत गरेको मानिनेछ । यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुनेछ ।

तपाईको प्रतिक्रिया