सागका पदक विजेतालाई गाउँपालिकाद्वारा सम्मान

प्रकाश थिङ संवाददाता
0 Shares
ललितपुर

तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा गल्फ तर्फ २ स्वर्ण र १ कास्य विजेता खेलाडीलाई ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको सम्मान गरेको छ ।

पुस १ गते मंगलबार गाउँपालिकामा आयोजित सम्मान कार्यक्रममा २ स्वर्णपदक विजेता भारदेउका सुवास घिसिङ र १ कास्य पदक जितेकी रविना श्रेष्ठलाई नगद चेक र सम्मानपत्र सहित सम्मानित गरिएको हो ।

विजेतालाई प्रदेश ३ कि प्रदेशसभा सदस्य लालकुमारी पुन ‘सुशीला’ र गाउँपालिका अध्यक्ष गोपीलाल सिङ्तानले चेक र सम्मानपत्र प्रदान गरेका थिए । सुवासलाई १ लाख रुपैयाँ र रविनालाई २५ हजार रुपैयाँको चेक प्रदान गरिएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि प्रदेशसभा सदस्य पुनले भौगोलिक रुपमा विकट ठाउँमा जन्मेर, सङ्घर्ष गर्दै दक्षिण एसियाली खेलकुदको माध्यमबाट आफ्नो देशलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन सफल सुवास र रविनालाई बधाई र शुभकामना दिइन् । ‘सबै प्रशिक्षकको अटल मेहनतकै कारण आज भारदेउले यो सफलता हात पारेको हो´, उनले भनिन्,`आगामी दिनहरू यस्तै प्रतिभालाई प्रोत्साहन गर्न सबै तहका सरकारले खेलकुदमैत्री कानून निर्माण गरेर अघि बढ्नु आवश्यक छ ।’

गाउँपालिकाका प्रमुख सिङ्तानले गरीब परिवारमा जन्म लिएर साथीहरुको हेपाई र पेलाई सहन नसकी पेट पाल्नकै लागि काठमाडौँ पलायन भएको सुवासको वेदनाको बयान गरे । आज त्यही पीडा र वेदनालाई शक्तिको रुपमा लिएर अगाडि बढेका सुवासले दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक जित्नु चानचुने कुरो नभएको उनको भनाइ छ । अपाँग आमाको कोखबाट जन्मेका सुवासको खेलप्रतिको भविष्य अत्यन्तै उज्ज्वल रहेको सिङ्तानले बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै गाउँपालिकाकी उपप्रमुख मिङ्म लामाले दक्षिण एसियाली खेलकुद जस्तो ठाउँमा प्रतिस्पर्धा गरेर स्वर्ण र कास्य पदक जितेर गाउँपालिका, टोल र समुदायको नामलाई सगरमाथाको चुचुरो झैं अटल राख्न सफल खेलाडी सुवास र रविनालाई बधाई तथा शुभकामना व्यक्त गरिन् । यस्ता प्रतिभावान खेलाडीलाई कहिल्यै नबिर्सी सम्मान गर्नुपर्छ भन्ने जिम्मेवारी महसुस गरी गाउँपालिकाले सम्मान कार्यक्रम आयोजना गरेको लामाले बताइन् ।

गल्फ प्रशिक्षक दिपक थापामगरले सुवासको प्रतिभाको प्रशंशा गर्दै सानैदेखि उनमा खेलकुद र गल्फप्रति उदयमान प्रतिभा उजागर भएको बताए । नेपाल गल्फ एसोसियासनका महासचिव चन्द्र राईले स्वर्ण र कार्य पदक जित्न सफल कोञ्ज्योसोम गाउँपालिका खेलकुदको क्षेत्रमा अपार्धनी भएको प्रतिक्रिया दिए । राईले अबका दिनहरुमा खेलकुदको विषयलाई पनि शैक्षिक पाठ्यक्रमकै रुपमा लिएर अगाडि बढ्न अवश्यक रहेको बताउँदै सुवास घिसिङलाई भविष्यमा एसियन च्याम्पियनसिपमा सहभागी गराई विजयी गराउन सहयोग गर्ने प्रतिबद्धता गरे ।

कुल नेपालले जितेको ५१ स्वर्णपदक मध्ये दुइटा कोञ्ज्योसोम-४, भारदेउका खेलाडीले जितेको हो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका