पाकिस्तानका पूर्वराष्ट्रपति तथा सैनिक शासक परवेज मुशर्रफले आफूविरुद्ध गरिएको मृत्युदण्डको फैसलालाई ‘प्रतिशोध’का आधारमा गरिएको फैसलाको संज्ञा दिएको छ ।
उपचारका लागि भन्दै लामो समयदेखि दुवईमा स्वैच्छीक निर्वासनमा रहेका मुशर्रफका सहयोगीहरुले बुधबार राती अबेर सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले उक्त टिप्पणी गरेको छ । पाकिस्तानको एउटा विषेश अदालतले गत मंगलबार मुशरर्फलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला गरेको थियो ।
पाकिस्तानी इतिहासमा पहिलोपटक पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको फैसला गरिएको हो । भिडियो सन्देशमार्फत् पूर्वराष्ट्रपति मुशर्रफले भनेका छन्, ‘म विरुद्धमा नियोजित रुपमा यस्तो फैसला गर्न लगाइएको छ, यसमा व्यक्तिगत प्रतिशोध देखिन्छ ।’ उक्त भिडियो अस्पतालको शैयाबाट नै सार्वजजिक गरिएको थियो । उनलाई बोल्न पनि निकै गाह्रो भइरहेको देखिएको थियो ।
मुुुशर्फरको स्वास्थ्य अवस्था निकै नाजुक रहेको बताइएको छ । उनले फैसलाको विरुद्धमा पुनरावेदनका लागि प्रक्रिया थाल्ने बताएको छ । त्यसका लागि उनका कानूनी सल्लाहकारहरुको टोलीले गृहकार्य गरिरहेका पनि मुशर्रफले जानकारी दिएको छ । देशद्रोहको उनी विरद्धको मुद्धा २०१३ देखि विचाराधिन अवस्थामा रहेको थियो ।
उनलाई सन् २००७ नोभेम्बर ३ मा संकटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको हो । मुशरर्फलाई संविधानको उल्लंघन गरेको र जवरजस्ती संकटकाल लागू गरेको आरोप लगाइएको छ ।
सन् १९९९ मा रक्तहिन सत्तापलट गरेर तत्कालीन सेनाप्रमुख मुशर्रफले नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएको थियो । मुशर्रफले सन् २००८ मा राष्ट्रपति पदबाट राजीनामा दिएको थियो । उनी विरुद्धको गम्भीर देशद्रोहको मुद्दाको बारेमा सुनुवाइ गरिरहेको विशेष अदालतले नोभेम्बर २८ मा मुशर्रफलाई आफ्नो बयान पेश गर्न डिसेम्बर ५ सम्मको अन्तिम सीमा समय तोकेको थियो ।
विषेश अदालतले अघिल्लो महिना नै डिसेम्बर १७ मा अन्तिम फैसला गर्ने तय गरेको थियो । तोकिएकै मितिमा पेशावरको उच्च अदालतका मुख्य न्यायाधिश वाकार अहमद सेठ, सिन्ध उच्च अदालतका न्यायधिश नजार अक्बर र लाहोर उच्च अदालतका न्यायाधिश सहिद करिमको संयुक्त इजलासले मुशर्रफलाई मृत्यु दण्डको फैसला सुनाएको हो ।
अदालतको फैसलाप्रति पाकिस्तानी सेनाले पनि असन्तुष्टि जनाएको छ । त्यसैगरी कतिपय अधिकारकर्मीहरुले पनि फैसला न्यायोचित नभएको टिप्पणी गरेका छन् ।