नुवाकोटमा चार स्रष्टासहित आठ जना सम्मानित

नुवाकोट

नुवाकोट साहित्य प्रतिष्ठानले आफ्नो १२ औं स्थापना दिवसको अवसर पारेर शनिबार चार जना स्रष्टासहित आठ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

महामण्डल साहित्य सम्मानबाट डा. नवराज लम्साल सम्मानित भएका छन् । यसैगरी कमलादेवी तथा जगनिधि गजुरेल स्मृति साहित्य सम्मानबाट जीवनाथ धमला, महामण्डल युवा साहित्य सम्मानबाट बीना थिङ र नरेन्द्रनाथ वाङ्मय काव्य सम्मानबाट प्रह्लाद पोखरेल सम्मानित भएका छन् ।

यसैगरी प्रतिष्ठानले नरेन्द्रनाथ निधि वाङ्मय प्रतिष्ठानद्वारा नेपाली विषयमा स्नातकोत्तर तहमा प्रथम स्थान हासिल गरेकी सुभद्रा पौडेललाई नगद रु २५ हजारसहित पुस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा नुवाकोटबाट एसइई परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एक्कल रिमाल, रश्मी पनेरु र निशा गजुरेललाई पनि प्रतिष्ठानले जनही नगद रु पाँच–पाँच हजार पुरस्कारसहित सम्मान गरेको छ । प्रतिष्ठानले १२ वर्षदेखि नियमितरुपमा नुवाकोटको विदुरमा साहित्य कार्यक्रम गरेर स्रष्टा सम्मान तथा पुरस्कार गर्दै आइरहेको छ ।

प्रतिष्ठानले हालसम्म विविध क्षेत्रका ७० जना स्रस्टालाई सम्मान तथा पुरस्कृत गरिसकेको प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा सल्लाहकार श्रीराम श्रेष्ठले जानकारी दिए ।

वाल्मीकि विद्यापीठका प्रा. पुरुषोत्तम दाहालको प्रमुख आतिथ्य तथा नेपाली केन्द्रीय बिभाग त्रिबिका प्रा. डा. देवीप्रसाद गौतम र नरेन्द्रनाथ रिमाल वाङमयनिधिका अध्यक्ष डा. भूपहरि पौडेलको विशेष आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमको सभापतित्व करण तामाङ घलानले गरेका थिए ।

तपाईको प्रतिक्रिया