दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनका श्रीमती इलामल्ल शाहीलाई नेत्रविक्रम चन्द नेतृत्वका प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन् । ठाटीकाँध गाउँपालिका- २ श्रीपाटामा घरबाट राति १२ बजे शाही दम्पती अपहरणमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हरिबहादुर वलीले अपहरणमा परेको खबर आएको र त्यसका लागि प्रहरीले अनुसन्धान गरिरहेको बताए ।
वडा नं. १ का वडाध्यक्ष नर्तमबहादुर बुढाका अनुसार राति १५ जनाको टोली आएर अपहरण गरेको भन्ने सुनेर स्थानीय आफन्त र अन्य टोली खोजीकार्यमा लागेको बताए । गाउँपालिकाका उपाध्यक्ष सुस्मीता शाहीले भने घटनाको बारेमा आफूलाई प्रहरीले जानकारी दिएको जानकारी दिए ।
यसैबीच अध्यक्षसहित अपहरणमा परेकी उहाँकी श्रीमती इलामल्ल शाही दैलेख र कालिकोट जिल्लाको सिमानामा पर्ने बताहालेकमा भेटिएको स्थानीयवासीले बताएका छन् ।
अपहरणको सूचना पाएलगत्तै स्थानीयले खोजी गर्न हिँडेको टोलीले दैलेख र कालिकोट पर्ने बताहालेकमा बिहान ९ बजे फेला पारेको सूचना आफूलाई प्राप्त भएको वडाध्यक्ष बुढाले बताए । अध्यक्षको अवस्था भने अझै अज्ञात रहेको उनले बताए ।