‘म बाँचेको केही गर्नकै लागि हो’

काठमाडाैं
PHOTO:

कक्षा ४ को पहिलो दिन थियो त्यो, विद्यालय युनिफर्ममा चिटिक्क सजिएको एउटा फुच्चे मन भारी गराउँदै थियो। मनमा अनेक कुरा खेल्दै थिए, ‘अघिल्लो वर्षमात्रै किनेको सर्ट पाइन्ट अब लगाउन पाइँदैन, बल्ल बल्ल मिल्ने साथी बनेका थिए, अब उनीहरुसँग एउटै कक्षामा बसेर खेल्न पाईँदैन, कुरा गर्न पाईँदैन।’

किनकि त्यो वर्ष अनपेक्षित रुपमा उनी सिद्धिबिनायक बोर्डिङ स्कुलबाट नयाँ विद्यालय जानुपरेको थियो। नयाँ परिवेशले उनलाई तर्साएको थियो जिरिङ्ग हुने गरी। के गर्ने होला, कसो गर्ने होला?भन्दा भन्दै स्कुलको गाडी आयो। चढेर गए। बाटोमा जाँदै गर्दा नयाँ स्कुल कस्तो होला? भन्ने कौतुहलता थियो साथै नयाँ उमंग पनि।

घुरुरु गुडेर स्कुलको गेट भित्र गाडी छिर्यो।

अर्जुन भण्डारी त्यो गेटभित्र छिर्नासाथ अघि गरिएका सबै कल्पना गलत साबित भए। भारी भएको मन एकाएक हलुका भएर आयो, चंगा जस्तै। नयाँ स्कुल नेपाल आदर्शमा त ठुला ठुला स्वीमिङ्ग पुल रहेछन्। कहीं कम्मरसम्म आउने कहीं घाँटीसम्म, कहीं कहीं त चुर्लुम्मै डुबाउने पानीका निला रंगीन पोखरी। कुनै कुनैमा चिप्लेटी खेल्दै सुलुलु बगेर पानीमा चोपलिन पाइने, अग्लो ठाउँबाट डाइभ हान्न पाइने। आहा ! भण्डारीको मन त्यसै त्यसै फुरुङ्ग भए।

नयाँ स्कुल जानुभन्दा अघि घर नजिकैको बगादी खोलामा धेरैपल्ट चोपलिएको अनुभव ताजै छ, अब त स्कुलमा नै पौडी खेलाउने भए। बच्चाहरुको मन न हो, पानी देखेपछि चलाउन मन लागिहाल्ने। भण्डारी सम्झन्छन्, ‘घरबाट ढाँटी ढाँटी जान्थे। बाढी आउने बेलामा पनि बहदी खोलाको धमिलो पानीलाई छोडिएन। शनिबार घरमा नभनी जाँदा कम्ता चुटाइ खाइएन।’ नेपाल आदर्शमा शुक्रबारसधैँ पौडी खेलाउँथे।

अर्जुन भण्डारी
वैशाखको महिना, वृक्षहरुमा नयाँ नयाँ पालुवा आउँछ, प्रकिृतिले आफ्नो सुन्दरताको सिर्जना गर्छ । हर बुट्यानमा आशाका मुना पलाएका हुन्छन्। वैशाख सुन्दर समयको सुरुवात मानेर होला शायद नयाँ कामको थालनी वैशाखमै हुन्छ। अर्जुन वैशाखमै नयाँ स्कुलमा भर्ना भएका थिए, अनि उनको दिमागमा नयाँ नयाँ आइडियाहरू आइरहेका थिए।

स्कुलबाट घर फर्केपछि अर्जुनले आमा कौशल्या भण्डारीलाई भन्न भ्याइहाले, ‘म ठुलो भएपछि स्वीमिङ्ग पुल भएको घर बनाउँछु।’ आमालाई लाग्यो बच्चाले के भन्या ?

तैपनि छोरो सानैबाट काममा जिम्मेवार थियो, केही देख्यो, सोच्यो न त भन्यो होला भन्ने आमालाई । समय बित्दै गयो हेर्दा हेर्दै ९ वर्षको फुच्चेले १२ वर्षपछि आफूले भनेको पुर्‍याएरै छोड्यो।

पोखरा जाँदै गर्दा तालचोकको बाटो कट्दै गर्दा देब्रे पट्टि गेटमा ठुलो अक्षरमा लेखेरै छाडे, ‘सेभेन वन्डर्स वाटर पार्क एण्ड रिसोर्ट’

प्रोपाइटर – अर्जुन भण्डारी
ठेगाना– पोखरा महानगरपालिका–२९
लगानी – ९ करोड,
क्षेत्रझल – ८ रोपनी
सञ्चालन मिति–२०७३ मंसीर १७ गते

अर्जुनका अनुसार त्यो बेलमा लेखनाथमा वाटर स्लाइडका लागि पहिलो प्रोजेक्ट थियो। पोखरमा दुई वटा .मात्र स्वीमिङ्ग पुल थियो। फिल्टर सिस्टम अरुमा थिएनन्। उनले रिसर्च गरेर धेरै केमिकल प्रयोग नगर्ने वाटर स्लाइड भएको पानी राख्ने व्यवस्था सहितको पुल बनाए। एक वर्ष बनाउनै लाग्यो ।

सहज थिएन बनाउन

सपना र पानी उस्तै हुन्छन्, आकार बिहीन। जसरी पानीले भाँडो अनुसार आकार लिन्छ, सपनालाई पनि आकार दिनुपर्छ । सपना जति सुन्दर देखिन्छन्, पूरा गर्न असाध्यै गाह्रो हुन्छ।

अर्जुन भण्डारीलाई यो प्रोजेक्ट सुरु गर्न फलामको चिउसा चपाएजस्तै भयो। २०७२ सालमा यो प्रोजेक्टको ब्लु प्रिन्टसहित बैंकमा लोनका लागि अप्लाई गर्न गए, त्यो बेला उनलाई उमेरको हदबन्दीले समस्या पार्‍यो। १८ वर्षको फुच्चेले यो कसरी गर्न सक्छ, पैसा दिउँला तिर्न सकेन भने ?

अर्जुनका बाबा शिवराम भण्डारी उनका भगवान हुन्, छोराको आवश्यकतालाई आँखा झिमिक्क गर्दा पूरा गर्ने । शिवरामले आफ्नो घर बारी भएको ९ रोपनी जग्गा–जमिन धितो राखेर छोराको सपना पूरा गर्न आफूले रचेका संरचना भत्काए।

‘हाम्रो राइस मिल थियो। टिनको छानो भएको घर । बाबाले सानो विजनेश गर्नुभएको थियो, ब्रोसरीको । बिस्तारै पानी चुहिने टिनको छानो ढलानमा परिवर्तन भएको थियो।’

तिहारमा देउसे भैलेले दिएको आशीर्वाद जस्तै परिवर्तन भएको अवस्था सुनाउँदै अर्जुन भन्न थाले, ‘त्यो कुराले मलाई सधैँ झस्काउँछ, बाबाले कसरी त्यो टिनको छानोबाट ढलान गरेको घरसम्म ल्याइ पुर्याउनुभयो। र मैले एक बचन बोल्दा हुन्छ भनेर त्यसलाई परिवर्तन गर्न मान्नुभयो।’ उनले बाबाबाट सिकाएको थियो, कामगर्दै गएपछि एक न एक दिन सफल भइन्छ।

बाबाआमाको विश्वासले नै व्यवसायिक बैंकहरुले रिजेक्ट गरेको गर्‍यै गर्दा पनि सानो युवकले हजारको होइन करोडको प्रोजेक्टमा काम गर्ने अवसर मिल्यो । बाबा आमा नै उनको आशाका किरण हुन्, नैतिक समर्थक हुन्। त्यही हौसलाको रुप हो।

तपाईको प्रतिक्रिया