भारतले नेपाललाई पठायो सीमा समस्याबारे जवाफी पत्र

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

नेपालसँग जोडिएको क्षेत्रमा सीमा समस्या रहेको र उक्त समस्या समाधानका लागि तयार रहेको भन्दै भारतले नेपाल सरकारलाई जवाफी पत्र पठाएको छ । कालापानी-लिपुलेक-लिम्पियाधुरा सीमा समस्या समाधानबारे नेपालले पठाएको पत्रको जवाफमा भारतले सीमा समस्या रहेको स्वीकार गरेको छ ।

भारतका तर्फबाट पत्र आएको र अब समस्या समाधानका लाग कसरी अघि बढ्ने भन्ने बारे छलफलको तयारी भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।

भारतले जम्मू-कश्मीरलाई दुई राज्यमा विभाजित गरेपछि जारी गरेको नक्सामा लिपुलेकसहितको क्षेत्र आफ्नो सीमामा समेटेपछि विवाद पुनः सुरु भएको थियो । भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेको भन्दै आन्दोलन चर्किएपछि नेपाल सरकारले यसबारे भारतलाई पत्र पठाएको थियो ।

पत्रको जवाफ भारतले एक महिना पछि पठाएको हो । भारतले पठाएको पत्रमा कालापानीसहित सुस्ता क्षेत्रमा रहेको सीमा समस्या समाधानका लागि तयार रहेको उल्लेख गरिएको छ ।

समस्या समाधानका लागि नेपालले भारतसँग वार्ताको प्रस्ताव गरेको थियो । पत्रमा वार्ताबाटै सीमा समस्या समाधान गर्नु पर्ने र त्यसका लागि भारत तयार रहेको उल्लेख रहेको स्रोतले जनाएको छ । परराष्ट्र सचिव स्तरीय वार्ताबाट समस्या समाधानका लागि तयार रहेको उल्लेख गरेको भारतले वार्ताको मिति भने आपसी सहमतिमा तय गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका