भारतीय चर्चित गायिका आशा भोस्लेले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेकी छिन् । भोस्लेले आज शीतल निवासमा पुगी राष्ट्रपतिसँग भेटघाट गरेकी हुन् ।
बुधबार नेपाल आएकी भोस्लेले साधना कला केन्द्रको आयोजनामा हुन लागिरहेको बृहत् सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन दिनेछिन् । कार्यक्रम सोल्टी क्राउन प्लाजामा हुनेछन् ।
राष्ट्रपति भण्डारीले भोस्लेले नेपाली गीतसंगीतको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेको भेटघाटमा संलग्न केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए । ‘उहाँका गीतबाट राष्ट्रपति भण्डारी निकै प्रभावित हुनुहुँदो रहेछ’, मोक्तानले भने, ‘भोस्लेसँग भेट गर्न पाउँदा राष्ट्रपति धेरै खुशी हुनुभयो ।’ भेटमा देशको समसामयिक घटनाक्रमका विषयमा छलफल भएको उनले जानकारी दिए । भोस्लेले नेपालमा आफूले सोचेभन्दा धेरै सम्मान पाएको विषय राष्ट्रपतिलाई अवगत गराइन् , मोक्तानले भने, ‘विमानस्थलमा नेपाली संस्कृतिले गरेको स्वागत स्मरणयोग्य रहेको उल्लेख गर्नुभयो ।’
शनिबार हुने कार्यक्रममा गायिका भोस्लेले ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है’ लगायतका आफूले स्वर दिएका थुप्रै नेपाली गीत गाउने छिन् । उनलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनेछन् ।
केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार पनि नेपाल आएको छ । भोलि हुन लागिरहेको कार्यक्रमले नेपालको सांगीतिक क्षेत्रमा दीर्घकालीन महत्व राख्ने मोक्तानले बताए ।
सम्बन्धित समाचार