रौतहट लगायत तराईका जिल्लाहरुमा बिगत केही दिनदेखि चिसो ह्वात्तै बढेसँगै जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र शीतलहरले घाम देखिएको छैन । चिसोले विशेष गरी बालबालिका, वृद्धवृद्धा, असहाय तथा बिपन्न परिवारका व्यक्तिहरु बढी प्रभावित भएका छन् ।
मेला मजदुरी गरेर गुजारा चलाउनेहरुलाई समस्या भएको छ । स्कुले बालबालिकाहरु पनि चिसोको मारमा परेका छन् । चिसो बढेपछि रौतहटका केही स्थानिय तहले एक हप्ता विद्यालयसमेत बन्द गरेका थिए । सो स्थानिय तहले स्थानीय बिदामा कट्टी हुने बिदा दिन सबै स्कुलहरुलाई निर्देशन दिएको थियो । चिसो बढेपछि अस्पतालहरुमा श्वासप्रश्वास तथा अन्य स्वास्थ्य समस्या लिएर आउनेहरुको संख्या बढेको स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।
रौतहटको चन्द्रपुरस्थित सरकारी अस्पताल र चन्द्रपुर अस्पतालमा आउने बिरामीहरु मध्ये आधा भन्दा धेरै दम, निमोनीया, रुघाखोकी, ज्वरो, बाथ तथा पखालाका रहेको चन्द्रपुर अस्पतालका डाक्टर सुवास चौधरीले बताए । रौतहटको गौर अस्पलतालमा पनि तुलनात्मक रुपमा चिसोबाट हुने बिभिन्न स्वास्थ्य समस्या लिएर आउनेहरु बढेका जनाइएको छ ।
अस्पतालको सूचना शाखाका अनुसार विशेषगरी बालबालिकामा कोल्ड डायरीया, निमुनीया, ज्वरो, रुघाखोकी, हाइपोथर्मीया जस्ता समस्या देखिएको जनाएको छ । चिसो बढेपछि रौतहटका मुख्य बजारका साथै सहायक बजारहरुको चहलपहल पनि घटेको छ । रौतहटको चन्द्रनिगाहपुर, बागमती, डुमरिया, बालचनपुर, गरुडा, शिवनगर, कटहरिया, गुजरा, गौर लगायतका मुख्या बजारहरुका साथै सहायक बजार तथा सडकका पेटीहरुमा मानिसहरु कमै देखिएका छन् ।
होटल तथा चिया पसलमा फाट्टफुट्ट मानिसहरुको जमघट देखिएपनि अन्य क्षेत्रको व्यापार व्यवसाय घटेको चन्द्रपुरका एक ब्यापारी राजु तिवारीको भनाइ रहेको छ । सडकमा सवारीसाधनको चाप कम छ । सरकारी कार्यालयहरुमा पनि सेवाग्राहीहरुको चहलपहल घटेको छ । जाडो छल्न मानिसहरु चोक चौराहामा दाउरा तथा घुर्यान बालेर आगो तापेका भेटिने गरेको छ ।