हरिवनका मेयरले खेतमै मनाए धान दिवस

१६ औं राष्ट्रिय धान दिवस

राजु तामाङ प्रदेश २ संवाददाता
0 Shares
सर्लाही

भनिन्छ– असार महिना भनेको किसानहरुका लागि मुठी रोपी मानो फलाउने दिन हो । त्यसमा पनि असार पन्ध्र त झन् कृषिमा आबद्ध किसानहरुका लागि विशेष दिन पनि हो । असारमा रोपेको धानले वर्ष भरि खानालाई पुर्याउनु पर्ने हुन्छ ।

यसै अवसर पारेर सर्लाहीको हरिऔन–२ को लालभित्ती, नयाँटोलमा १६ औं राष्ट्रिय धान दिवस भव्यताका साथ मनाए । हरिवन ११ मा रहेको संयुक्त कृषि सहकारी संस्थाको आयोजना तथा हरिवन नगरपालिकाको सहयोगमा नयाँटोलमा धान दिवस मनाएको हो । कार्यक्रममा नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाई, उपमेयर रेणुका पौडेल, प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, संस्थाका सल्लाहकार विप्लव कार्कीलगायतका विशिष्ट व्यक्तित्व र किसानहरुको उपस्थिति रहेको थियो । अतिथिहरु खेतमै पसेर धान रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

संयुक्त कृषि सहकारी र हरिवन नगरपालिकाले संयुक्त रुपमा विगत तीन वर्षदेखि लगातार धान दिवस मनाउँदै आईरहेको छ । यो वर्ष पनि अरु वर्षमा झैं खेतमै पुगेर दिवस मनाएको हो । कार्यक्रममा उत्कृष्ट किसान माधव दाहाल र केशव तिमिल्सिनालाई दोसल्ला ओढाई प्रशंसापत्र प्रदान गरी आयोजकले सम्मान गरे ।
कार्यक्रममा मायाको चिनो पनि प्रदान गरिएको थियो । पञ्चेबाजा सहित निकै तामझामका साथ मनाईएको यो दिवसमा गाउँले किसानहरुको उल्लेख्य सहभागीता रहेका थिए ।

कार्यक्रम मेयर गणेशप्रसाद प्रसाईको प्रमुख आतिथ्यमा भएको थियो । प्रमुख अतिथि प्रसाईले किसानले समय अनुसार कृषिलाई आधुनिकिकरण गर्दै लैजानुपर्नेमा जोड दिए । विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले नगरपालिकाले किसानको हितमा नगरको नीति तथा कार्यक्रम बनाएको बताए ।

धान दिवसको अवसरमा पुरुष दौड प्रतियोगिता र महिला दौड प्रतियोगिताको पनि आयोजना गरिएको थियो ।

सरोज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा चुडामणि वाग्ले, भरत कार्की, आरती लामा , विप्लव कार्की, सलाम वाईबा, मनोज चन्दलगायतका अतिथिहरुको उपस्थिति थियो ।

                        धान दिवसको उद्घाटन
असार २५

तपाईको प्रतिक्रिया