हेलम्बुमा पर्यटन मार्ग बन्दै

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
हेलम्बु, सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा दोस्रो चरणको लामो पर्यटन मार्ग (ग्रेट ट्रेल) निर्माण शुरु भएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले गाउँपालिकाले सो पैदल मार्ग निर्माण शुरु गरेको हो । काठमाडौं, भक्तपुरलगायत स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले ग्रेट ट्रेल निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । वडा नं ६ र १ को बीचबाट पहिलो चरणको काम शुरु गरिएकामा दोस्रो चरणमा वडा नं ३ को नागीडाँडाबाट शुरु भएको छ ।

हेलम्बु हिमालयन ग्रेट ट्रेल नामकरण गरिएको सो मार्ग हेलम्बुु–३ बुद्घपार्कबाट शुरु भएर शेर्माथाङ, ज्योमथाङ, आमायाङ्ग्री, ढुक्पु, भेमथाङ, पासाङ्सिरी, गुफुपोखरी, जलंसा, दुवाङ्गगुफा, सेमीसिदाङ, भेयस्री, सोली, ठाडेपाटी, पाकेडाँडा हुँदै घोप्टेघ्याङ पुगेर अन्त्य हुनेछ । साठी किलोमिटर लामो ग्रेट ट्रेल हेलम्बुको मात्र नभई देशकै गौरवको आयोजना भएकाले यसमा सरकारले लगानी गर्ने हो भने करीब १० वर्षभित्र लगानी उठ्ने अध्यक्ष शेर्पाको जिकिर छ । नेपालको घुम्नैपर्ने ठाउँमध्ये सिन्धुपाल्चोकको हेलम्बु पनि रहेको र ग्रेट ट्रेल निर्माणपछि उल्लेख्य रुपमा पर्यटक भित्रने गाउँपालिकाले विश्वास लिएको छ । ग्रेट ट्रेलमा ३ अर्ब ५० करोेड रुपैयाँ कुल लागत अनुमान गरिएको छ ।

धेरै लागत लाग्ने भएकाले स्थानीय सरकारको बजेटले मात्र निर्माण सम्भव नभएकाले चालु आवमा सङ्घीय सरकारबाट १ करोड रुपैयाँ विनियोजन भएकाले आयोजनालाई गति दिन सहयोग मिलेको अध्यक्ष शेर्पाले बताए । पर्यटन प्रवद्र्धनमार्फत गाउँपालिकालाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यले पर्यटन मार्ग निर्माण शुरु गरिएको शेर्पाले बताउनुभयो । ठूलो लागत पर्ने भएकाले गाउँपालिकाको बजेटले मात्र सम्भव नभएकाले माथिल्लो सरकारसँग निरन्तर हातेमालो गर्दै पर्यटन मार्गलगायत अन्य विकास निर्माणका कामलाई अगाडि बढाउँदै जाने अध्यक्ष शेर्पाको भनाइ छ ।

काठमाडौँबाट नजीकको पर्यटकीय गन्तव्य सिन्धुपाल्चोकको हेलम्बुमा काठमाडाँैमा आउने सम्पूर्ण पर्यटकलाई भित्र्याउने लक्ष्य गाउँपालिकाले लिएको छ । हिउँदमा हिउँले ढाकिने पदमार्ग पर्खाल यात्राका क्रममा पाँचपोखरी, गोसाइँकुण्डका साथै जुगल, गणेश, याङ्ग्री, लाङटाङ माउन्टेन फ्लाइटबाट हेर्न सकिने र ८० प्रतिशत हिमाल देखिने अध्यक्ष शेर्पाले जानकारी दिए । पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि घरबास, स्थानीय होटल व्यवसाय र स्थानीय कला र संस्कृतिको समेत प्रचारप्रसार हुने र आयआर्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् । ग्रेट ट्रेलबाट धरैले रोजगारीसमेत पाउनेछन् । चीनपछिको दोस्रो ठूलो ग्रेट ट्रेल भएको हुनाले पनि हेलम्बुमा पर्यटकको लर्को लाग्ने विश्वास गाउँपालिकाले लिएको छ ।

धार्मिकस्थलको अवलोकन

ग्रेट ट्रेल निर्माण सम्पन्नपछि हेलम्बुभित्र तथा बाहिर रहेका सम्पूर्ण धार्मिकस्थलको समेत परिक्रमा हुनाका साथै अवलोकन गर्न सकिन्छ । हेलम्बुमा रहेका धार्मिकस्थल गोसाइँकुण्ड, छ्यादी ज्यो, भेमथाङ, गुरु रेम्पोछे, गुफा ढुकफुक, आमायाङ्ग्री, मिलारेप्पा क्याफे, पाल्चोकको जयबागेश्वरी मन्दिरसमेत दर्शन गर्न सकिन्छ ।

हेलम्बु हुँदै लाङटाङ अनि पवित्रस्थल गोसाइँकुण्ड पुग्ने पदयात्रीलाई सुरक्षाका लागि पनि पदमार्ग निर्माण जरुरी देखिएको छ । झण्डै १०० किमी दूरीमा रहेको काठमाडौँको सुन्दरीजल हुँदै नुवाकोट र सिन्धुपाल्चोकको सीमागाउँ कुटुम्साङबाट ठाडेपाटी, मेलम्चीघ्याङ, नाकोते, तार्केघ्याङ, घ्याङुल, शेर्माथान, ककनीसम्म जोड्ने पुरानो पदमार्ग अहिले पनि चलिरहेको छ । सो पदमार्गले गर्दा स्थानीयवासीलाई दैनिक काम गर्नसमेत सहज भएको छ । पदमार्गले सिन्धुपाल्चोक र रसुवा दुवै जिल्लाको पर्यटन प्रवद्र्धनका लागि टेवा पुग्ने गाउँपालिका अध्यक्ष शेर्पाले बताए । ग्रेट ट्रेल अवलोकन गर्न जाँदा लोपोन्मुख प्रजातिको रातो हाब्रे र हिउँचितुवाको समेत अवलोकन गर्न पाइने तथा धेरै कुरा एकै ठाउँबाट अवलोकन गर्न पाइने भएकाले पर्यटकको एक मात्र गन्तव्य हेलम्बु हुने गाउँपालिकाको आशा छ ।

ग्रेट ट्रेल निर्माणमा धेरै लागत लाग्ने भएकाले गाउँपालिकाले विभिन्न व्यक्ति तथा संस्थासँग सहयोगको अपेक्षा गरेको छ । छिटोभन्दा छिटो ग्रेट ट्रेल निर्माण गरी पर्यटक भित्र्याउने हेलम्बुको लक्ष्यलाई सार्थक बनाउनु सङ्घसंस्था, व्यक्ति, अन्य गाउँपालिका तथा नगरपालिकाले सहयोग गरेमा ती व्यक्ति तथा संघसंघस्थाको नाम उल्लेख गरी ग्रेट ट्रेल नजीकै लेख्ने कार्यक्रम तय गरेको गाउँपालिकाले जनाएको छ ।

धर्मचक्र पर्खाल

लामो दूरीका दर्जनौँ पदमार्गलाई पहिलेकै अवस्थामा ल्याउनका लागि गाउँपालिकाले पर्यटकीय पदमार्ग कार्ययोजना बनाएको छ । यसमा लाङटाङबाट हेलम्बु भित्रिने पर्यटकले ह्योल्मो परम्परा, धार्मिकस्थल घुम्दै डुब्कुबाट मेलम्ची खानेपानीको मुहान हेर्ने ‘प्याकेज ट्रेकिङ स्पट’ बनाएर काम थालेको छ । पदमार्ग निर्माणले पवित्रस्थल ‘छुह्यालागेन्जेन’ हेर्ने पर्यटक पनि वृद्धि हुनेछ । ‘छुह्यालागेन्जेन’को अर्थ १०८ पानीको मूल फुटिरहेको बालुवा भएको चौर भएको लामाहरुको भनाइ छ । प्राचीन गुम्बैगुम्बाको शहर शेर्माथान, ह्योल्मो बस्ती हेर्न पाइने मेलम्चीघ्याङ, घ्याङुल, झिचेन मिलारेपा गुफा, ढुक्पु, महागुरु रेन्पोछे छापसम्म एक दर्जन पदमार्ग जोड्दै लगिएको छ ।

पर्खालमा पर्ने पाकेडाँडाबाटसगरमाथाको चुचरोसमेत देख्न सकिन्छ । शेर्पाका अनुसार सम्पदा, प्रकृति तथा पर्यावरणीय दृश्य, जङ्गली जनावर र स्थानीय धर्म, संस्कृति अवलोकन पदयात्रा प्रमुख विशेषता हुनेछन् । रसुवा र नुवाकोटका बस्तीसमेत नियाल्न सकिने छ । परिक्रमा गर्दा हेलम्बु क्षेत्रमा रहेका पूरै धार्मिक तीर्थस्थल पर्ने भएकाले गाउँपालिकाले निर्माणाधीन ‘ग्रेट हिमालयन ट्रेल’लाई ‘धर्मचक्र पर्खाल’का रुपमा समेत जोडेको छ । ठाउँठाउँमा स्थानीय संस्कृति झल्काउने शिलालेख खोप्ने समेत अध्यक्ष शेर्पाले बताए ।

विगतमा हातबाट पदमार्गको काम हुँदा निर्माणले खासै गति लिन नसकेकामा हाल ढुङ्गा काट्ने यन्त्रसमेत निर्माण पक्षले प्राप्त गरिसकेकाले अब निर्माणले गति लिने अध्यक्ष शेर्पाले बताए । पदमार्ग निर्माणका क्रममा जङ्गली जनावरलाई आवतजावतमा अप्ठ्यारो नपरोस् भन्ने उद्देश्यले विशेष ध्यान दिइने निर्माण पक्षले जनाएको छ । द्रुत गतिमा पदमार्ग निर्माण गरिने योजनानुरुप सङ्घीय सरकारबाट छिटटै बोलपत्र गरी शेर्माथाङबाट तेस्रो चरणको निर्माण शुरु गरिने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका