‘सामाजिक सञ्जालको नियमन आवश्यक’

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, प्रहरी, पत्रकारलगायतले युट्युबलगायतका सामाजिक सञ्जालले समाजमा नकारात्मक कुरालाई बढावा दिएको भन्दै यसको नियमन आवश्यक भएको औँल्याएका छन् ।

सञ्चारिका समूहले आइतबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागीले सामाजिक सञ्जालको नियमनको आवश्यक भएको बताएका हुन् । नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सामाजिक सञ्जालको सबैभन्दा बढी असर बालबालिका र किशोरकिशोरीमा परिरहेको बताए ।

सूचना प्रविधि ऐन पास भएपछि यसले सामाजिक सञ्जाललाई नियमन गर्ने उनले बताए । उनले भने, ‘परिवारका सदस्यहरु एकै ठाउँमा बसिरहँदा पनि आ–आफ्नै मोबाइलमा इन्टरनेटमा व्यस्त हुने समय आएको छ ।’

राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिमल्सिनाले युट्युबका सञ्चालक आफूले प्रसारण गर्ने विषयप्रति संवेदनशील हुनुपर्ने बताए । आफ्ना सामग्री परिवारका सदस्यले हेर्दा त्यसको असर के पर्न सक्छ भन्ने विचार गरेर मात्रै सामग्री प्रसारण गर्नुपर्ने उनको सुझाव छ । उनीले भनिन्, ‘भ्युअर बढाउनकै लागि जथाभावी कुरा प्रसारण गर्नु हुँदैन ।’

बरिष्ठ पत्रकार बबिता बस्नेतले मिडिया काउन्सिल ऐनमा नियमनकारी निकायको समेत व्यवस्था हुने भएकाले सामाजिक सञ्जालमा रहेका विकृति हट्ने बताइन् ।

सञ्चारिका समूहकी उपाध्यक्ष कमला पन्थीले समूहले मिडियामा पत्रकार महिलाको सङ्ख्यात्मक र गुणात्मक वृद्धिको विषयसँगै लैङ्गिक समानताका पक्षमा वकालत गर्दै आएको बताइन् । कार्यक्रममा सहभागी युट्युब सञ्चालकले पनि यसलाई नियमन गर्न कानून आवश्यक भइसकेको औँल्याएका थिए ।

कार्यक्रमको संचालन समूहकी महासचिव बिमला तुम्खेवाले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया