नेपाली साझा मञ्च साउदीको चौथो वार्षिकोत्सब तथा श्रमिक सचेतना कार्यक्रमको तयारी पूरा भएको छ । मञ्चको रियादस्थित एक्जिट १८ सुलाईमा जनवरी ३ तारिख शुक्रबार हुनलागेको कार्यक्रमको तयारी पुरा भएको हो ।
सचेतना कार्यक्रम अन्तर्गत श्रमिकहरूले आफ्ना समस्याहरू प्रत्यक्षरूपमा राजदूत समक्ष राख्न सकिने मञ्चका साउदी संयोजक विष्णु घिमिरे बताए । संयोजक घिमिरेका अनुसार कार्यक्रममा स्थानीय कलाकारहरुको विविध सांस्कृति प्रस्तुति रहनेछन् ।
कार्यक्रममा अंग्रेजी नयाँ वर्ष २०२० को शुभकामना आदानप्रदान गर्ने आयोजकले बताए । नेपाल सरकारद्वारा तय गरिएको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मञ्चले भिजिट नेपाल लेखिएको टिसर्ट सार्वजनिक गर्ने मञ्चका संयोजक घिमिरेले जानकारी दिए ।
‘देशको लागि केही त गरौ’ भन्ने मुल नाराका साथ २०७२ सालमा मञ्चको स्थापना भएको थियो । विशेष गरेर मञ्चले विभिन्न समस्यामा परेका श्रमिकहरुलाई उद्धारका साथै छात्रवृत्ति, विभिन्न रोगका बिरामी लगायतलाई आर्थिक सहयोग गर्दै आएका छन् ।