प्रेरणालाई राष्ट्रिय टेनिसको उपाधि

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
पोखरा, कास्की

पोखरामा जारी १७औँ संस्करणको ‘पोखरा ओपन तथा भेट्रान्स’ राष्ट्रिय टेनिस प्रतियोगितामा महिला एकल खुलातर्फको उपाधि प्रेरणा कोइरालाले जितेकी छिन् । पोखरा रंगशालास्थित टेनिस कोर्टमा आइतबार भएकोे फाइनल खेलमा सलोनी तामाङलाई ७–५ र ६–१ को सोझो सेटले पराजित गर्दै कोइरालाले उपाधिसहित ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी हुन् ।

उपविजेता तामाङले २५ हजार रुपैयाँ तथा सेमिफाइनल पुगेकी भगवती विक र गंगा विकले १०÷१० हजार रुपैयाँ पुरस्कार पाएकी छिन् । प्रतियोगिताको भेट्रान्सतर्फ ३५ वर्षमाथि डबल्सको उपाधि राजु श्रेष्ठ (काठमाडौ) र कमल भण्डारीको जोडीले जितेको छ । सिमान्त गुरुङ र राजु श्रेष्ठ (गोरखा) जोडीलाई ६–१, ४–६ र सुपरटाइमा १०–६ को जित निकाल्दै राजु जोडीले उपाधि जितेको हो ।

त्यसैगरी ४५ वर्ष माथिको डबल्समा गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछानेको जोडीले मनोज राणा र विमल गुरुङको जोडीमाथि ६–३ र ७–६ को नतिजामा पराजित गर्दै उपाधि जितेको छ । संरक्षक भूषण बज्राचार्यले पुरुष व्यक्तिगत खुलातर्फको सेमिफाइनलको खेलमा नेपालका शीर्ष वरियताका प्रदीप खड्कालाई २–६, ७–६ र ६–१ सेटमा पराजित गरी फाइनलमा प्रवेश भएको छ ।

प्रवण खनालले ६–० र ६–४ को सेटमा नवीन मगरलाई पराजित गरी प्रतियोगिताको फाइनलमा स्थान बनाए । पुरुष खुलातर्फको उपाधिका लागि सोमबार ब्रजाचार्य र खनालका बीचमा स्पर्धा हुनेछ ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा यही पुस १० गतेबाट शुरु प्रतियोगिताको ३५ वर्षमाथिकोे स्पर्धामा कमल भण्डारीले श्रीमान गुरुङलाई ७–६ र ६–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाए भने राजु श्रेष्ठले छवाङ लामालाई ५–७, ६–४ र सुपरटाइमा १०–८ ले पराजित गरी फाइनलमा प्रवेश गरे ।

पैंतालीस वर्षमाथिको उमेर समूहको उपाधिका लागि चन्द्र शाही र विमल गुरुङबीच प्रतिस्पर्धा हुनेछ । शाहीले अनु जोनलाई ६–१ र ६–० को सेटमा पराजित गर्नुभएको थियो भने गुरुङले गोपीबहादुर भट्टराईलाई ६–३ को समान सेटमा पराजित गरे ।

पचपन्न वर्षमाथिको उमेर समूहमा कमल थापा फाइनलमा प्रवेश गरेको छ । थापाले प्रदीप शाहलाई २–६, ६–४ र १०–८ ले पराजित।गरे भने अनिल तुलाचनले मनोज राणालाई ६–२, ४–६ र १३–११ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

पैंसठ्ठी वर्षमाथिको उमेर समूहको आजको सेमिफाइनलमा ज्ञानेन्द्र ताम्राकारले विष्णुकुमार गुरुङलाई ४–१ र ४–० को सेटमा पराजित गरे । त्यसैगरी दीपक श्रेष्ठले छेवान नोक्र्याललाई समान ४–० को सेटमा पराजित गरी फाइनलमा पुग्न सफल भएको जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाले जानकारी दिए ।

पुरुष व्यक्तिगत÷डबल्स, महिला व्यक्तिगत÷डबल्स तथा ३५ वर्ष, ४५ वर्ष, ५५ वर्ष र ६५ वर्षमाथि पुरुष व्यक्तिगत÷डबल्स गरी १२ इभेण्टमा भएको स्पर्धामा १२४ खेलाडी उपाधिका लागि स्पर्धामा उत्रिएका थिए ।प्रतियोगिताको फाइनल खेल पुस १४ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया