प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउने गरेका छन् । सोही अनुसार रौतहटको चन्द्रनिगाहपुरमा पनि मंगलबार गुरुङ समुदायले ल्होसार भव्यताका साथ मनाएका छन् ।
तमु ह्युल छोज गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य
समिति रौतहट प्रदेश नं. २ को आयोजनामा चन्द्रनिगाहपुर बजारबाट निकालिएको र्याली चन्द्रपुर नगर परिक्रमा गरी चन्द्रपुर वडा नं. ६स्थित झनझा टोलमा पुगेर अन्त्य भएको थियो ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास रहेको रौतहट जिल्ला अध्यक्ष भिम गुरुङले बताए । यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको तमु ल्होसार आयोजक समितिका अध्यक्ष रंग बहादुर गुरुङले बताए ।
परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेको र मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको रौतहट सचिव बिनोद गुरुङले बताए । चन्द्रपुर नगरपालिकाको वडा नं. ६स्थित झनझन टोलको गुरुङ बस्तीमा विधित सांस्कृतिक कार्यक्रमसिहत रौतहटका गुरुङ समुदायले पनि तमु ल्होसार धुमधामका साथ मनाएका छन् ।
‘तमू ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित रहेको जनाइएको छ । गुरुङ समुदायको बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५मा यो पर्व मनाउने गरिएको गुरुङ समुदायका अगुवाहरुको भनाइरहेको छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको उनीहरुको कथन रहेको छ ।
सरकारले तमु ल्होसारमा दिदै आएको सार्वजनिक बिदा गत वर्षदेखि कटौती गरिएकोमा गुरुङ समुदायको असन्तुष्टि छ । केही स्थानीय तहले भने ल्होसारको अवसरमा मङ्गलबार सार्वजनिक बिदा दिइएको जनाएका छन् ।