तामाङ र बौद्ध धर्मको आयाम

काठमाडाैं

तामाङ प्रथम राष्ट्रले आधुनिक नेपाल निमार्ण हुनु भन्दा हजारौ वर्ष पहिले देखि यो भूमिलाई आवाद गरि रहेको छ । आधुनिक नेपाल निमार्णका दौरान र उक्त युद्ध पश्चात लामो सिमान्तिकरणको सिकार भएता पनि आफ्ना विशिष्ट सांस्कृतिक, धार्मिक, आर्थिक तथा राजनैतिक प्रणालीलाई बचाइ रहनु यो राष्ट्रको मुख्य विशेषता हो । तामाङ प्रथम राष्ट्रको विविध आयामहरु मध्ये यस आलेखमा धार्मिक आयाम र विशेषतः बौद्ध धार्मिक आयामसँग सम्बन्धित रहनेछ ।

तामाङ राष्ट्रमा धर्म

तामाङ प्रथम राष्ट्रले आदिकालदेखि नै बोन सांस्कृतिक अभ्यासलाई अपनाएको पाइन्छ । बोनहरुलाई स्थान अनुसार बोन्बो, पोम्बो, धामी, झाँक्री आदी शब्दहरुबाट पनि चिन्ने गरेको पाइन्छ । बोन सांस्कृतिक अभ्यासका दुई शाखाहरु डेबोन (उपचारक) र लाबोन (फोला पुजारी) अभ्यास आज पर्यान्त रहेको छ ।

तामाङ सभ्यता अनुसार केही स्थानहरुमा लाबोनलाई लाब्ताबा (कुल बोन्बो) भनेर पनि सम्बोधन गरेको पाइन्छ । यो भनेको बिसुद्ध रुपमा तामाङ ह्रुई (थर) अनुसार आफ्नो फोला(कुल)लाई पूजा गर्ने परम्परा हो । यस्तो पूजा गर्नका लागी प्रत्येक ह्रुईहरुको आआफ्नै लाबोनहरु रहेका हुन्छन् । डेबोनहरुले भने समाजमा हुने रोगव्यधीहरुको उपचार गर्ने काम गर्दछन् । डेबोनहरुमा पनि जडिबुटिको उपचार गर्ने र तन्त्र मन्त्र मार्फत् उपचार गर्ने गरी दुई प्रकारका रहेका छन् ।

आदिकालदेखि आफू रहेको ठुङ्सा (उत्पति स्थल) र बाप्सा (आवाद स्थान) वरपरको वनस्पती तथा जीवहरुको सुक्ष्म पहिचान गरेर कुन वनस्पती कस्तो हो र ती वस्तुहरुलाई कहाँ र कसरी उपयोग गर्नु पर्दछ भन्ने विशिष्ट ज्ञान इन्डिजिनिष्टहरुमा रहेको हुन्छ । तामाङ पुर्खाहरुमा पनि यस्तो विशिष्ट ज्ञान रहेको थियो जसलाई उनिहरुले डेबोन मार्फत् पुस्तान्तरण गर्ने गरेको पाइन्छ । आधुनिक चिकित्सा पद्धतीकोे विकास र उपलब्धता भन्दा हजारौ वर्ष पहिलेदेखि समाजमा हुने रोगव्याधी, महामारी तथा सङ्क्रमणहरुको तत् स्थानहरुमा उपलब्ध प्राकृतिक श्रोतहरुलाई उपयोग गरेर बचाउने काम उनिहरुले गरिरहेको पाइन्छ । जडिबुटिले पनि सम्भव नभएका उपचारहरु भने तन्त्रमन्त्रको साधना गरेका सिद्धहरुबाट गर्ने परम्परा आज पर्यान्त रहेको छ । तन्त्रमन्त्रको साधना र अभ्यास इन्डिजिनिष्टहरुको विशिष्ट गुण पनि हो ।

तामाङ राष्ट्रमा बौद्धधर्म

गौतम बुद्धको जन्म आधुनिक नेपाल राज्य भित्र भएता पनि यसको विस्तार तात्कालिन भारत वर्षभरि भएको थियो । केही नेपाली मिथकलाई आधार मान्ने हो भने बुद्ध नेपाल मण्डल (हालको काठमाडौ उपत्यका) आएका थिए तर त्यसको ठोस आधिकारिकता पाइदैन । बुद्ध पछि बौद्धधर्मलाई व्यापक रुपमा फैलाउने राजा अशोकले छोरी नेपाल मण्डल पठाएको मिथक नेवार बुद्धिजममा पाइन्छ । यसमा पनि धेरै अध्ययन बाँकी रहेको छ । तर पछि पहिलो शताब्दीका बौद्ध विद्धान नार्गजुन भने काठमाडौं आएको प्रमाणहरु पाइन्छ । उनले साधना गरेको भनिएको गुफा आज पर्यान्त प्रसिद्ध रहेको छ । मुलमाध्यमककारिका जस्ता अनगिन्ती पुस्तकहरु रचना गरेका तथा प्रज्ञा पारमितालाई बाहिर ल्याउनु हुने दार्शनिक नार्गजुन शुन्यवादी सिद्धान्तका प्रतिपादक तथा महायान बौद्ध परम्परा अन्तर्गत माध्यमिक दर्शनको सुभारम्भकर्ता हुन् । आज उनकै नाममा काठमाडौंको उत्तरपश्चिममा रहेको डाँडाको नाम नार्गजुन राखिएको छ । उनि पछि अर्का विद्धान वसुवन्धु पनि काठमाडौं आएको इतिहास पाइन्छ । उनको मृत्यु नै नेपाल मण्डलमा भएको विश्वास गरिन्छ । उनको मत्युसम्बन्धी मिथकहरुमा उनले बौद्धभिक्षुले गोरु जोत्दै गरेको देखेपछि आफैले आयुको मन्त्र उल्टो पढेर मृत्यु वरण गरेको पाइन्छ । बौद्ध दर्शन अन्तर्गत वैभाषिक, सौतान्त्रिक र योगचारमा विशेष योगदान गर्नु भएका यि दार्शनिकको मिथकले के जनाउँदछ भने उनकै समयमा नेपाल मण्डलमा बौद्धधर्म अभ्यासमा रहेको देखिन्छ । त्यसयता नेपाल मण्डल बौद्धधर्मको केन्द्रको रुपमा विकास भएको थियो । तात्कालिन तान्त्रिक गुरु तथा महासिद्ध पद्मसम्भव, अर्का दार्शनिक शान्तरक्षिता, त्यसैगरी अतिसा दिपङ्कर श्रिज्ञान लगायत बौद्ध विद्धानहरु तिब्बत जानु पूर्व नेपाल मण्डलमा रहेको इतिहास पाइन्छ । यो क्रम तेह्रौं शताब्दीसम्म कायम रहेको देखिन्छ ।

नेपाल मण्डलमा यसरी समृद्ध भएको बौद्धधर्मलाई यस वरपर रहेका तामाङ राष्ट्रले त्यही समयदेखि अवलम्बन गरेको पाइन्छ । मन्जुश्रीको खड्कले काटेर पानी तारेर काठमाडौंलाई आवादी गर्न योग्य तुल्याएको मिथक तामाङ राष्ट्रमा आज पर्यान्त व्यापक रुपमा प्रभावी रहेको छ । महासिद्ध पद्मशंभव तामाङ आवाद विभिन्न स्थानहरुमा पुगेको तथा उनले नै बोधिचित्तको विज तेमालमा छाडेको जनविश्वास आज पर्यान्त तामाङ समाजमा गहिरो गरी रहेको छ । यसले तामाङ राष्ट्रमा बौद्धधर्मको प्रभावको इतिहासलाई जनाउँदछ । तिव्वतमा बौद्धधर्मको प्रभाव हुनु पूर्वका मिथकहरु हुन या पछिका मिथकहरु हुन यसले बौद्धधर्मसँगको तामाङ राष्ट्रको लामो एेतिहासिकताको निरन्तरतालाई इङ्कित गर्दछ । तिव्वतसँग व्यापार गर्ने तथा हिमाल वारिपारीको आपसि सम्बन्धहरुका कारण कालान्तरमा तिब्बती बौद्धधर्म हिमाल वारिका तामाङ वस्तीहरुमा पनि व्यापक रुपमा भएको देखाउँदछ । आठौं शताब्दी पछि तिब्बतमा बौद्धग्रन्थहरुको व्यापक अनुवाद र पठनपाठन हुन थालेसँगै तामाङ राष्ट्रले बौद्धधर्मलाई आफूमा पनि समाहित गर्दै सामाजिक स्थान दिएको देख्न सकिन्छ । तात्कालिन नेपाल मण्डलमा र पछि तिब्बतमा विस्तार भएको बौद्धधर्म बज्रयान परम्परा अन्तर्गतको भएकाले तन्त्रमन्त्रको अभ्यास गरिरहेको तामाङ राष्ट्रमा अझ व्यापक रुपमा फैलिएको बुझन सकिन्छ । अझ तिब्बती भाषामा नै यसको सहज उपलब्धता हुन थालेसँगै भोट-बर्मेली भाषा परिवारका तामाङ राष्ट्रलाई यो अध्ययन, अनुसरण र अभ्यास गर्न अझ सहज भएको बुझन सकिन्छ ।

बहुल नायक परम्परा

तामाङ बहुल नायक परम्परामा आधारित राष्ट्र हो । समाजका हरेक निर्णयहरु समाजमा रहेका चोहो, गान्बा, तम्बा, लाब्ताबा, बोन्बो, लामा लगायतका नायकहरुको संलग्नतामा मात्र हुने गर्दछ । बौद्धधर्मको प्रवेश पूर्वको तामाङ राष्ट्रको बहुल नायकहरु बोन प्रभावी रहेको थियो । तर, बौद्धधर्मलाई तामाङ राष्ट्रले स्वीकार गरेसँगै बहुल नायक मध्येकै एक लामालाई नायकको स्थान दिएको देखिन्छ । यसरी सांस्कृतिक रुपमा अलग अवधारणाहरु भएको बोन र बौद्धधर्मलाई पनि तामाङ राष्ट्रका बहुल नायकहरुले श्रृजनात्मक तरिकाले उचित व्यवस्थापन गर्न सफल भएका थिए । अन्य हिमाली समुदायहरुमा यस्तो बोन र बौद्ध दुवैलाई उचित व्यवस्थापन गरेको ज्यादै कम मात्र पाइन्छ । कि बोनले बौद्धलाई निषेध गरेको पाइन्छ हैन भने बौद्धले बोनलाई आफूमा समाहित गरको पाइन्छ ।

तामाङ राष्ट्रको राजनैतिक अधिकार चोहो र उ मातहतमा संयन्त्रमा रहेको हुन्छ । सांस्कृतिक अधिकार गान्बा, ताम्बा र उनिहरु मातहतका संयन्त्रमा रहेको हुन्छ । धर्मको अधिकार भने बोन, लामा र उनिहरु मातहत संयन्त्रसँग रहेको हुन्छ । तामाङ मिथकलाई आधार मान्ने हो भने बोेनले लोकमा संरक्षण गर्ने र परलोकमा भने लामाले संरक्षण र मार्ग निर्देश गर्ने सहमति भएको जनविश्वास पाइन्छ । यसरी उचित कार्य विभाजन गरेको कारण तामाङ राष्ट्रमा बौद्ध र बोन दुवै रहन सफल भएको पाइन्छ । हाल पर्यान्त पनि तामाङ राष्ट्रको कुनै सांस्कृतिक क्रियाकलापहरुमा बहुल नायकहरुको अनिवार्य उपस्थिती रहनु पर्दछ । ती साक्षीका रुपमा रहनु पर्ने नैतिक जिम्मेवारीका कारण पनि एक अर्काको सहअस्तित्व आज पर्यान्त रहेको छ ।

लामाले बुद्धधर्म र यसका आधारमा विकास भएका ज्ञान तथा नैतिकतालाई तामाङ राष्ट्रमा फैलाउने काम गर्दछ । लामा शब्द संस्कृत शब्द गुरु (श्रद्धेय/सम्माननीय) को तिब्बती अनुवाद हो । ‘ला’ को तिब्बती अर्थ जीवन शक्ति/हंस या व्यक्तिगत या सामुहिक अवयव, उच्च देवता हुन्छ भने ‘मा’ को अर्थ आमा हुन्छ, जसले संयुक्त रुपमा जीवन मार्गनिर्देश गर्ने सर्वाेच्च आमाको अर्थ राख्दछ । यसरी नै तामाङ राष्ट्रमा दर्शनिक मार्गनिर्देश गर्ने र बौद्ध नैतिकताको माध्ययमबाट समाजमा मध्यमार्ग तय गर्ने काम लामाले गर्दछ । स्थान विशेष अनुसार समाजमा बोन परम्परागत अभ्यासहरु रहेता पनि यो राष्ट्र हाल तिब्बती निङ्मा बौद्ध परम्परालाई नै आफ्नो सांस्कृतिक वैभवको रुपमा मान्दछ । तामाङहरू बुद्धधर्मलाई मृत्यु र अन्य सांसारिक सचेतनाको दृष्टिकोणबाट हेर्दछन् । तिब्ब्ती बज्रयान बौद्ध धार्मिक अभ्यास अनुसार गुरु भनेका मार्ग निर्देशक हुन् र उनलाई बुद्धको रूपमा देख्न सक्नु पर्दछ । यस धर्ममा गुरुले मार्गनिर्देश गरेपछि अथवा आँखा खोलीदिए पछि मात्र चेलाले संसार देख्न सक्छ भन्ने मान्यता रहेको छ । तामाङ विश्वास अनुसार गुरुले आँखा खोली दिएपछि मात्र चेलाले बुद्धलाई देख्दछ । यस कारण पहिलो श्रद्धेय लामा हुन् अर्थात गुरु हुन् । त्यसैले लामालाई बुद्धको रूपमा हेर्दछन् । त्यही भएर तामाङहरुले लामा र बौद्ध दर्शनलाई विशेष स्थान र सम्मान दिएका हुन्छन्।

अन्त्यमा

तामाङ राष्ट्र बहुल नायकमा आधारित प्रथम राष्ट्र भएकाले उसको समाज व्यवस्थापनका आयामहरु त्यही अनुरुप संचालन र नियन्त्रण हुने गर्दछ । सामाजिक न्याय तथा समता कायम गर्नको लागि धर्मको विशेष भूमिका रहेको हुन्छ । समाजलाई गतिशिलता प्रदान गर्नको लागि दर्शनको विशेष भूमिका रहेको हुन्छ । तामाङ समाजको सांस्कृतिक आयामहरु इन्डिजिनिष्ट विशेषता सहितको रहेको छ तर यस आयामलाई गति प्रदान गर्ने काम भने बौद्ध दर्शनले गरेको छ ।

यसरी सास्कृतिक जीवनलाई बौद्ध दार्शनिकीको आयामबाट संरक्षित गरेको कारण आज पर्यान्त तामाङ राष्ट्रको रिमठिम (संस्कार/संस्कृति) जीवन्त रहेको छ । बौद्ध दर्शनलाई प्रोत्साहन गर्नकै लागी घरको माइला छोरालाई लामा बनाउने प्रचलन आज पर्यान्त पाइन्छ । तर, आधुनिकताले तामाङ राष्ट्रको यस्तो सांस्कृतिक धरोहरहरु माथि निरन्तर प्रहार गरिरहेको छ । समयसँगै बौद्ध तामाङ सांस्कृतिक धरोहरहरुलाई पुर्नजारगण गर्नु पर्ने टड्कारो रुपमा देखिएको छ । यसका साथै बौद्ध दार्शनिक आयामहरुमा तामाङ लगाएत बौद्ध समुदायको चासो र संलग्नता बढाउन पर्ने देखिन्छ । बौद्ध दार्शनिक ज्ञान माथि नयाँ पुस्तालाई प्रोत्साहन गर्न नसक्ने हो भने यो संस्कारगत रुढीवादमा फस्ने सम्भावना प्रवल रहेको छ ।

(लेखकद्धय एस.सी.आर.सी.का अध्येताद्वय हुन्)

तपाईको प्रतिक्रिया

Ads by google

पत्रपत्रिका