निति बनिन्छ तर कार्यान्वयन पक्षमा छैन : उपमेयर उर्मिला

पाँचथर

स्थानीय तहको निर्वाचन भएको १७ महिना बित्यो । प्रत्येक स्थानीय तहमा विकास निर्माणका कामहरु निरन्तर अघि बढिरहेका छन् । स्थानीय तहका उपप्रमुखहरुलाई अनुगमन र न्यायिक अधिकारको जिम्मा छ । तिनै अधिकारहरुको प्रयोग र कार्यान्वयन लाई कसरी अघि बढाइदैछ भन्ने विषयमा पाँचथरको फिदिम नगरपालिकाका उपमेयर उर्मिला प्रधान श्रेष्ठसँग सैलुङअनलाइनका संवाददाता लक्षिमा तामाङले गरेको कुराकानी :

फिदिम नगरपालिकामा के कस्ता गतिविधिहरु भइरहेका छन् ?

नगरपालिकामा विशेष गरि गतिविधहरु धेरै छन् । विकास निर्माणका कामहरु भइरहेका छन् । त्यसमा अनुगमनको जिम्मा मेरै छ । विकास निर्माणका कामहरु द्रुत गतिमा अघि बढिरहेको छ । त्यससँगै महिला दिदीबहिनीहरुसँग भलाकुसारी गर्ने कामहरु पनि भइरहेको छ ।

महिला दिदीबहिनीहरुसँग भलाकुसारी गरिरहेका छौ भन्नुभयो, यस सन्दर्भमा हेर्नुपर्दा नगरपालिकामा महिलाहरुको स्थिति कस्तो छ ?

साँच्चै भन्नु पर्दा स्थिति विकराल छ । हिंसा र हत्याको प्रचुर मात्रामा विकृति बढेको छ । एउटा घरमा मात्रै राम्रो भएर हुँदैन । एउटा घर मात्रै सभ्य भएर हुँदैन । नगरपालिका नै सभ्य भयो भने मात्रै हामीलाई पनि खुसी लाग्छ । स्थिति विकराल छ । दिनहूँ घटना क्रमहरु आइरहेको अवस्था छ । तथ्यांकहरु कही पुलिसमा छ । कहीँ अदालतमा छ । कहीँ न्यायिक समितिमा छ । कतिपय बाहिरिन नसकेको लुकेर बसेको धेरै नराम्रा अवस्थाहरु पनि गाउँगाउँमा छ ।

अब यस्ता हिंसाका स्वरुपहरुलाई न्यूनीकरण गर्न कस्तो उपाय अपनाउन आवश्यक छ ?

वास्तवमा यहाँले गर्नुभएको प्रश्न अतिनै गम्भिर छ । हरेक कुरा निति बनिन्छ तर कार्यान्वयन पक्षमा रहिरहेको छैन । त्यसैले मलाई चाहिँ लाग्छ, सम्पूर्ण बालिका र महिलाका सम्पूर्ण अधिकारको सुनिश्चितता हुनुपर्छ । किताबमा हैन कार्यान्वयन पक्षमा सुनिश्चितता हुनुपर्छ । त्यसरी नै शसक्तिकरण र व्यवहारगत लैंगिक समानता एवम कानुनको उचित कार्यान्वयन गर्न सकेमा मात्र लैंगिक हिंसाका स्वरुपहरु फेरिदै जान्छ । अन्त्य नै त भन्न सकिन्न । फेरिदै जाने सम्भावना चाहिँ मैले देखेको छु । तर कार्यान्वयन पक्षमा चाहिँ जानैपर्छ ।

कार्यान्वयन पक्षमा को जागरुक हुन आवश्यक छ ?

साह्रै खुसी लाग्यो,सर्वप्रथम त संविधानमा अक्षरांश लेखिएको छ । हामी पढ्छौ । पढ्न नजान्नेले सुन्छौ । रेडियो पेपर सुन्छौ र हेर्छाै। यसर्थमा पहिलो नम्बरमा त महिला नै स्वःस्फुर्त रुपमा जागरुक हुनुपर्छ जस्तो लाग्छ मलाई । किनकी हामीले अधिकार मागिराख्दा हामी महिलाहरुले अधिकार प्राप्त गर्न केके कर्तव्य पूरा गर्नुपर्छ ? के के गरेर अघि बढ्नुपर्छ भन्ने कुरालाई मनन गर्दैनौ । त्यही भएर अधिकार अधिकार भन्छौ, अधिकारलाई मात्रै नहेरेर आफ्नो कर्तव्यलाई पनि बुझैं ।

अहिले उपभोक्ता समितिमा होस या त कुनैपनि सहकारी संस्थाहरु, गैरसरकारी संस्थाहरुको नेतृत्व तहमा महिलाहरुको स्थान चाहिँ छ, नाम र हस्ताक्षरमा हामी देख्न पाउछौँ तर सकृय नेतृत्व जमाउनका लागि के गर्न आवश्यक छ ?

सर्वप्रथम त महिलालाई चुनौती नै चुनौती छ । चारैतिर घेराबन्दी छ । घरबाट बाहिर निस्कन पनि गाह्रो छ । बाहिर निस्कीहालेतापनि समाजको कुरिति, कुप्रथा पहिलाको हेर्ने दृष्टिकोण, पितृसतात्मक आवाजहरुले जकडिएको छ । त्यसलाई चिर्दै निस्किन चाहि“ घर परिवारबाट जो घरमा रहनुहुन्छ श्रीमान, सासुससुरा, आमाबुवा,दाजुभाई उहा“हरुले चाहि“ शसक्त भएर निस्कन अगाडी बढाउनुपर्छ । घरपरिवार र समाजले प्रेरणा प्रदान गर्नुपर्छ । त्यसबेला महिलाले पनि म कहाँ छु र कुन ठाउँमा निस्किदैछु, पाइलाहरु कसरी चल्दैछ र कसरी पाइलाहरु सकृय रुपमा अगाडी बढाउनुपर्छ भन्ने कुरा चाहिँ स्वमुल्यांकन गरेर अघि बढ्नुपर्छ ।

तपाई आफैपनि महिला जनप्रतिनिधिको रुपमा निर्वा्चित भएर उपमेयरको कुर्सीमा बस्दै आउनुभएको छ,यो कार्यक्षेत्रमा महत्वपूर्ण निर्णय लिने भूमिकामा आफु कतिको सन्तुष्ट हुनुहुन्छ ?

मैले भन्नैपर्छ अहिलेसम्मको मेरो कार्यकालमा १६र१७ महिना पुरा हुन लाग्यो निर्णय प्रक्रियामा छुटेको छूइन । प्रायजसो काम कुराहरु हुँदा मेयरको तर्फबाट पनि निर्णयमा म पुगेको छु । जे होस निर्णय लिने भूमिकामा चाहिँ स्वतन्त्र हुनुहुन्छ । आफुले अनुभव गरेसम्म म कुन्ठित छु जस्तो लाग्दैन ।

स्थानीय तहमा जनप्रतिनिधि हुनु अघि कुन क्षेत्रमा आवद्ध हुनुहुन्थ्यो ?

मेरो जन्म झापा जिल्लामा भएको हो । मेरो विवाह पहाडमा भयो । म पा“चथरमा आउ“दा बाटो, पानी, बत्ती केही पनि थिएन । त्यसबेला मैले केही सर्त लिएर नै विवाह गरेर आएको थिए“ । मैले भनेको थिएँ पढेको छु, साउ अक्षर जानेको छु, मैले जागीर खानु पाउनुपर्छ भन्ने धारणा थियो । सोही अनुरुप पाँचथरमा आएर पहिले कोष तथा लेखा नियन्त्रण कार्यालयमा जागिर खाएँ । कोष तथा लेखा नियन्त्रण कार्यालय पनि हामीले नै सुरुवात गरेका थियौ । १६ जनाको टिम थियो अहिले पनि छ । त्यसपछि आफु व्यापारीको घरपरिवारको सदस्य भएकोले समय व्यवस्थापन गर्न नसकेर जागिर छोडेर व्यापार सम्हाल्न घरमा बसे । फेरी आफुलाई व्यापार मात्रै हैन, शैक्षिक क्षेत्रमा पनि केही गर्नुपर्छ र शैक्षिक क्षेत्रमा पनि योगदान पुर्याउनु पर्छ भन्ने सोच आयो । अनि मैले सुखबोध निमाविमा शिक्षिकाको भूमिकामा रहेर जागिर पनि खाए । धेरै समय खान सकिन दुई तीन वर्ष विद्यालयमा जागिर खाए तर पनि त्यहाँ सबैसँग जनभावना साट्न पाए । अभिभावकहरुको प्रेरणा पाए । त्यसपछि घरव्यवहारले व्यापार अलिक बढ्यो व्यापार बढिसकेपछि घरमै सघाउनुपर्ने भएकोले गर्दा श्रीमानले पनि जागिरलाई तिलान्जली दिनुभयो । आफुले पनि जागिरलाई तिलान्जली दिएर घरमै व्यवसाय सम्हाल्यौ । व्यवसाय सम्हाल्दा सम्हाल्दै दिदीबहिनीहरुको मनोभावना अर्थात चाहानाहरु बुझे र त्यसपछि एउटा सहकारी स्थापना गर्ने योजना बनायौ“ । वि.स. २०५९ सालमा सहकारी स्थापना गरियो । जसको नाम देउराली बहुउद्देशीय सहकारी संस्था छ । अहिले पनि जिवित छ र मलाई भन्न गर्व लाग्छ सहकारी मेरो धरातल हो ।

यो शिक्षा क्षेत्रमा काम गर्दै आउनु भएको त्यससँगै सहकारी संस्थाको कार्यानुभव पनि तपाइ“ले सम्हालिरहनु भएको छ र यसरी हेर्दा यो जनप्रतिनिधि भएर काम गर्दा के फरक पाउनुहुन्छ ?

यसमा आकाश पातलको फरक छ । शैक्षिक क्षेत्रमा काम गर्दा विद्यार्थीको प्रिय बन्न सके, सहकारीमा आउँदा यो सहकारीकर्मी हो । यसले विश्वासका साथ काम सम्हाल्न सक्छ भन्ने विश्वास दिलाउन सके, विश्वासको भरमा सहकारी अघि बढाउन सकिदोरहेछ । विश्वासको पात्र बन्न सके, अहिले पनि सहकारीको स्थापनापछि निरन्तर अध्यक्षको पद नै सम्हालीरहेको छु । जनप्रतिनिधि भइसकेपछि त्यसमा पनि बीसौ वर्षसम्म बिउरोकेसीहरुले चलेको संघसंस्थाहरु सम्पूर्ण अधिकारहरु उनीहरुको हातमा निहित थियो । अहिले जनप्रतिनिधिको हातमा त्यो अधिकारहरु आइरहँदा जनताले उर्मिला प्रधान नेतृत्वमा गइसकेपछि यहाँ केही हुन्छ भन्ने सोच्दा रहेछन् ।

यसै सन्दर्भमा महिला दिदीबहिनीहरु भन्छन् सिंहदरबारको अधिकार घरघरमा आउँछ उपमेयर महिला भएपछि महिला लक्षित बजेट पनि राम्रै छुट्छ भनेको तर छुट्नै छाड्यो, यसो भनिरहँदा तपाईलाई कस्तो लाग्छ ?

दुःख लाग्छ । महिला दिदीबहिनीहरु सोच्नुहुन्छ ट्वाक्कसँगले ब्यागमा राखेको पैसा चाहिँ ठ्याक्क ल्याएर काम गरौ तर निती र प्रक्रियागत ढंगले अगाडि बढ्नुपर्छ यो उहाँहरुले बुझिदिनुहुन्न । म चाहिँ के भन्न चाहान्छु भने अधिकार खोज्दा खोज्दै कर्तव्यहरु के छ,नियम पालनमा के के गर्नुपर्छ ? नितीगत कुराहरु के के छन् भन्ने कुरापनि उहाँहरुले बुझिदिनु भयो भने साह्रै राम्रो हुन्छ । बजेट प्रसस्तै छुट्याइको छ । अझै गर्न बाँकी छ । अर्को कुरा महिला दिदीबहिनीहरु समय हुन्जेल सुस्ताएर बस्नुहुन्छ, जब असार लाग्छ अनि अगाडी आउनुहुन्छ त्यसैले अहिले महिला दिदीबहिनीहरुलाई मैले भन्ने गरेको छु,अधिकार खोज्दा कर्तव्य के पालना गर्नुपर्छ भन्ने कुरा पनि बुझ्नुहोस । उहाँहरुको भावना अनुसार गर्न नसकेपनि गत साल केही गरियो भने यो वर्ष गरिनेछ । पक्कै पनि आफ्नो कार्यकालमा दिदीबहिनीहरुको इच्छा चाहाना पूरा हुन्छ जस्तो लागेको छ ।

तपाइँ एउटा महिला जनप्रतिनिधि महिला लक्षित बजेट कति प्रतिशत छुट्ने गरेको छ ?

छुट्याउन पनि गाह्रो छ । किनभने भन्ने नै गरिन्छ बाटो पनि महिला कै लागि हो, पानी ल्याउनुपर्छ , शिक्षा पनि तिनै महिलाको छोराछोरीको लागि हो, कुलकुलेसो पनि तिनै महिला खेतबारीमा जानुपर्छ भन्ने कुरा हुन्छ । त्यसो भएतापनि महिला लक्षित भनेर हामीले करिब करिब २० लाख रुपैयाँ छुट्याएका छौं । तर मेरो एउटा छुट्टै भनाइ छ– जुन काम गरिन्छ त्यो देखिनेगरी हुनुपर्छ भन्ने मान्यता मेरो हो । सबै महिला दिदीबहिनीहरुलाई त्यसै भन्ने गरेको छु, उहाँहरुले पनि अहिले बुझ्दै जानुभएको छ ।

देखिने गरी काम गरिनुपर्छ भन्नु भयो, कामहरुमा चाहिँ के कस्ता कामहरुको सुरुवात भइसकेको छ ?

यसमा महिला दिदीबहिनीहरुलाई कानुनी परामर्श, एकल महिलाहरुलाई अभिमुखीकरण दिने लगायतका कामहरु भएको छ ।

उपमेयरको जिम्मेवारी न्यायिक समितिको संयोजन पनि हो र न्याय सम्पादनको क्षेत्रमा चाहि“ के कस्ता कामहरु भइरहेका छन् ?

अहिले न्याय सम्पादनमा विशेष गरेर दुई खालका मुद्धाहरु हामीलाई जिम्मा दिइएको छ । एउटा फैसला नै गर्ने, एउटा मेलमिलापबाट सम्पादन गर्ने ।

हजुर, त्यो न्याय सम्पादन कसरी गरिरहनुभएको छ ?

त्यसमा म आफु संयोजक, जेष्ठताको आधारले एकजना सदस्य अनि कनिष्टताको आधारले एक जना सदस्य हुनुहुन्छ जम्मा तीन जना छौ“ । जसले निवेदन दिनुहुन्छ उहाँलाई तपाईको प्रतिवादी को हो भनेर बोलाउँछौं, उहाँहरु आउनुहुन्छ, आइसकेपछि वादी, प्रतिवादी दुबैको कुरा सुन्छौं । दुवैतिरको कुरा सुनेपछि हामीलाई के भएको रहेछ ज्ञात हुन्छ, दुई जना साथीहरुले टिपोट गरि राखेको हुन्छ, टिपोट गरिसकेपछि कस्को गल्ति छ कसलाई धेरै मर्का परेको छ वा को बढी अन्यायमा परेको छ भन्ने कुरा छुट्याउँछौं र अन्यायमा परेका व्यक्तिहरुलाई मिलाउने काम गर्छौ ।

यसरी मिलाउने काम गर्न कतिको सजिलो असजिलो ?

सम्झाउन गाह्रो हुन्छ । त्यसमा पनि महिला महिला आउनु भयो भने सम्झाउन झन कठिन हुन्छ । पुरुष र महिला आउनु भयो भने सम्झाउन पनि सकिन्छ । महिला नै महिला दिदीबहिनीहरु आउनुभयो भने उहाँहरु चाहिँ अलिक चेतनाको कमीले होला भनौ शहरको मात्र नभएर गाउँतिरको महिलाहरु पनि आउनुहुन्छ । गाह्रो हुन्छ तर धेरै मुद्धाहरु मिलाएरै पठाउने गरेका छौं ।

जस्तोकी एउटै घरको महिला पुरुषबिचको अर्थात श्रीमानश्रीमतीको मुद्धा मिलाएर पठाइएपछि पुनः अनुगमन गर्ने गर्नुभएको छ ? उनीहरुसँगै मिलेर बसेका छन् छैनन् भन्नका लागि ? मिलाएर पठाएपछि झन हिंसामा परेका छन् की ?

यो कार्यचाहिँ गरिएको छैन । उनीहरु फेरी मुद्धा लिएर आउँदैनन् । मिलेरै बसेका छन् भन्ने लाग्छ ।

अहिले महिलाहरुलाई दृष्टिगत गर्दा नगरपालिकामा गरिहाल्नुपर्ने काम के देख्नुहुन्छ ?

मैले धेरै ठाउँमा गइरहँदा र अध्ययन गरिरहँदा महिलाहरुमा चेतना कै कमि छ, तुरन्तै गर्नुपर्ने काम चाहिँ महिलाहरुको चेतना स्तर उकास्नु नै हो । फेरी गाउँका महिलालाई भन्दा पनि शहरका महिलाहरुकै बढि चेतनाको स्तर उकास्न आवश्यक छ ।

यो पाँचवर्षे कार्यकालमा नगरपालिकालाई कस्तो बनाउँने सोचमा हुनुहुन्छ, साथै महिलाहरुको स्तर कहाँसम्म पुर्याउने सोच्नुभएको छ ?

अव एउटा गीत नै छ सोचे जस्तो हुन्न जिवन, सम्झे जस्तो हुन्न जिवन भन्ने एउटा गीत नै छ । सोच र सपना त धेरै छ तर सपना मैले मात्रै देखेर हुँदैन,एउटा नगर उपमेयरले मात्रै सोचेर हुँदैन,सम्पूर्ण नगरवासीहरु उहाँहरुले पनि सपना देख्नु पर्छ । त्यो सपना पुरा गर्न सम्पूर्ण नगरवासीको हातमा हात साथमा साथ मिल्नुपर्छ । सहयोग, सदभावका साथै प्रेरणा मिल्यो भने पाँच वर्ष्भित्रमा वास्तवमा नगरपालिका विगतमा भन्दा केही परिवर्तन भयो है भन्ने महसुस गराउने सपना छ । साथै एक महिला एक सिप भन्ने ध्येयका साथ प्रत्येक महिलालाई आत्मनिर्भर बन्न सक्ने सिप र क्षमताको विकास गराउने लक्ष्य छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका