हरिबहादुर गुर्मछान
वडाध्यक्ष, मरिण गाउँपालिका वाडा नं. १, सिन्धुली
यसपटक गाउँपालिकाले कृषिलाई जोड दिएको देखिन्छ । यसलाई व्यवहारमै लागू गर्न वडाले के कस्तो भूमिका खेलिरहेको छ ?
साविक कपिलाकोटको वडा नं. ३ र ५ मिलाएर बनाएको वडा हो यो । गाउँपालिकाको विकट क्षेत्रमध्ये यो वडा पर्दछ । आधारभूत तहको विकास पनि योभन्दा अगाडि पाइनसकेको हुँदा विशेष गरी यो वडाले सिंचाईंलाई अलि बढी जोड दिएको छ । सिंचाईं बिना नगदेवाली र अन्यबाली राम्ररी उत्पादन गर्न नसक्ने हुनाले यो वडाले यस्तो निर्णय लिएको हो । सिंचाईंको व्यवस्था भएपछि अर्को सालदेखि हामी कृषि र पशुपालनको लागि पहल आधुनिक ढंगबाट पहल गर्नेछौं । यो वर्ष गरगरे टुडिखेल, ठूलोगरगरे तोरीबारी, बेतपानीको तीन सिंचाइ र भलायो भन्ज्याङ सिंचाईं निर्माण तथा मर्मत–सुधार गरिनेछ । बजेट पनि छुट्याइसकेका छौं । कातिके र मधुवनीमा पहिलादेखि नै सुन्तला र जुनार खेती गरिआएको छ । यसलाई व्यवस्थित गरी सुन्तल–जुनार हब बनाउनको लागि जुनार सहकारी गठन गरी ७ लाख रुपैयाँ बजेट दिएका छौं । सहकारीमार्फत् कृषकहरू संगठित भई सामुहिक खेतीप्रति उत्साहित पार्न सहयोग पुगोस् भन्ने हेतुले यस्तो निर्णय गरेका हौं ।
वडाको मूल बजेट सिंचाईंमा लगानी गर्दा प्रतिफल दिन सक्लान् र ?
अहिले यहाँको किसानहरू धानबालीमा केन्द्रित रहेता पनि बिस्तारै नगदेवालीतर्फ आकर्षित गर्न यो योजनालाई अगाडि सारेका हौं । कुलो खनेर सिंचाई गर्न सक्ने ठाउँमा कुलो र भीर पहरा तथा स–सानो पानी भएको ठाउँमा पाइपको व्यवस्था गरेका छौं । यो वडा अलि सुक्खा ठाउँ हो । हिउँदोमा कुलोमा पानी ल्याउन गाह्रो हुने भएकोले पाइपको व्यवस्था गरेका हौं । यो वडा उत्तर र दक्षिण फैलिएको छ । पानीको व्यवस्था भएपछि दक्षिणतर्फ कटहर, आँप, केरा, माछा र बाख्रा पालन गर्न सजिलै सकिनेछ भने उत्तरतर्फ भैंसीपालन, जुनार, सुन्तला, कागति, अलैंची जस्ता कृषिजन्य कामहरू गर्न सकिनेछ ।
तपाईंले कातिके र मधुबनीलाई जुजार र सुन्तला खेतीको लागि योग्य ठाउँ हो भन्नुभयो तर यस क्षेत्रमा यो खेती पहिला त्यति सफल भएको देखिएन नि ?
यो क्षेत्र जुनार, सुन्तला नहुने ठाउँ होइन । माटो परीक्षण गरी विज्ञहरुले यसलाई प्रमाणित गरिसकेका छन् । यसअघि कृषकहरू निस्क्रीय भएका हुन् । उनीहरुले विरुवालाई चाहिने मल, पानी पुर्याई स्याहार सुसार गर्ने र औषधीको प्रबन्ध गरेका थिएनन् । किनभने उत्पादन गरी बजारसम्म लैजाने स्थिति नै थिएन । आफैलाई मात्र खानको लागि खर्च गर्ने कुरा पनि भएन । अहिले बाटोघाटोको व्यवस्था भइसकेको छ । सजिलै बजार पाउने स्थिति छ । यसकारण मिहेनत गर्ने वित्तिकै आर्थिक उपार्जनको मूल स्रोत बन्ने स्थिति छ । हामीले उत्पादन सुरु हुन थालेपछि यसको सहजीकरणको लागि चिस्यान र संकलन केन्द्र पनि बनाउने योजना रहेको छ ।
सामुदायिक शिक्षा सुधारको लागि चाहिँ कस्तो काम भइरहेको छ ?
श्रीमावि कातिके, निमावि बेतपानी, प्रावि भदौरे, प्रावि खलंगा, प्रावि मधुबनी गी यो वडामा ५ वटा विद्यालयहरू छन् । यी विद्यालयहरुमा प्रशस्त मात्रमा विद्यार्थीरहे तापनि विद्यार्थी अनुपातमा शिक्षक उपलब्ध गराउन सकेका छैनौं । शिक्षक अभाव भएका विद्यालयहरुमा हामीले लाइसेन्सवाला शिक्षकहरू राख्ने निर्णय गरेका छौं । निमावि शिक्षकलाई १८ हजार, माविलाई २२ हजार, प्राविलाई १५ हजार रुपैयाँ तलब दिने निर्णय गरेका छौं । यही आईतबार शिक्षालाई कसरी सुधार गर्न सकिन्छ भनेर शिक्षक र बुद्धिजीवीहरू सहितको अन्तरक्रिया भएको थियो । यसमा विद्यालयलाई अनुदान दिने, नपुग शिक्षकहरू नियुक्ति गर्ने र उत्कृष्ट विद्यार्थी र विद्यालयहरुलाई पुरस्कृत गर्ने जस्ता निणयहरू भएका छन् ।
यो वडालाई गाउँपालिकाले आफ्नो कार्ययोजनामा पर्यटन क्षेत्र बनाउने भनेर राखेको छ । कतिको सम्भावना छ ?
गाउँपालिकाले वडा नं. २ र हाम्रो वडाको सीमानामा पर्ने धुरीढुङगालाई पैदल पर्यटन क्षेत्र बनाउने घोषणा त गरेको छ । तर यसको लागि बजेटिङ भइसकेको छैन । दरबारडाँडा संरक्षणको लागि चाहिँ ५ लाख रुपैयाँ छुट्याइसकेको छ । वडा २ र हाम्रो आधा आधा बजेट यसमा परेको छ । हामीले दरबारडाँडा हुँदै टुडिखेल ठाकुरथान खलंगा क्षेत्रलाई पर्यटक स्थल बनाउन खोज्दैछौं । यो ऐतिहासिक स्थल हो । पहिला यस ठाउँमा ठाकुर राजाले शासन गरेका थिए । गाउँपालिका र हामीले १ नम्बर वडालाई पर्यटकीय र कृषि क्षेत्र बनाउने तयारी गरेका छौं । विकट भौगोलिकले गर्दा अन्य सम्भावना नहरेको हुँदा यस्तो निर्णय गरेका हौं । तर समस्या के भइरहेको छ भने पालिकाले माथिबाट निर्णय गर्ने र यहाँको बासिन्दा त्यो कुरामा असहमति जनाउने हुँदा म चाहिँ अलि अप्ठेरोमा परेको छु । असहमतिको बीचमा सहमति खोज्दै अघि बढ्नु पर्ने स्थिति सिर्जना भएको छ ।
प्रस्तुति : यकिना अगाध