उछेन, सम्भोटा र तामयिग एउटै हो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

कुन उद्देश्यले लिपि र त्यसको प्रयोग अभ्यास सिकेको हो भन्ने मुख्य कुरा हुन्छ । तामयिग शैली तामाङ भाषालाई लेखन पद्धतिमा उतार्ने एउटै मात्र लक्षले विकास गरिएको शैली हो । अुछेनको साल्जे सुमच्युको बर्णक्रम भत्काउने, वर्णहरु हटाउने, घटाउने, तिब्बती भाषाको व्याकरण जथाभावी चलाउने विषयसँग तामयिग कुनै लिनुदिनु छैन ।

सम्भोटा लिपिलाई आधारभूत लिपिको रुपमा स्वीकार गरी निर्णयहरु गरेका छन् । तर, ती निर्णयहरुले भने नयाँ लिपिको विकासका लागि पहल नहुँदा लिपिको सवालमा परिकल्पना गरिएअनुसार नयाँ पहिचान स्थापित हुन सकेको छैन ।

आफ्नो समुदायको भाषा र लिपिको सवालमा एउटै साझा धारणा र दृष्टिकोण बनाएर सक्रिय रहने र राज्यलाई घचघच्याउने दायित्व भने समुदायकै हो । यसै सवालमा केही समयअघि प्रकाशित ‘तामाङ भाषा र लिपि’ पुस्तकका लेखक एवं संचारकर्मी प्रतीक ङेसुर तामाङसँग सैलुङअनलाइनले गरेको कुराकानी :

तपाईंको भर्खर प्रकाशित पुस्तक ‘तामाङ भाषा र लिपि’ कस्तो खालको पुस्तक हो ?

मैले तामाङ भाषा र लिपिको क्षेत्रमा पनि काम गर्दै आइरहेको धेरैलाई थाहै छ । लामो समयसम्म नेपाल तामाङ घेदुङमा पनि काम गरेँ । घेदुङमा काम गर्ने क्रममा मैले अलगअलग जिम्मेवारी वहन गरेँ । विभिन्न कार्य सम्पादन गरेँ । त्यही क्रममा तामाङ भाषा जान्ने बुझ्ने व्यक्ति भएको नाताले मलाई एउटा समिति नै बनाएर संयोजकको जिम्मेवारी दिइएको थियो । त्यस समय नेपाल तामाङ घेदुङको पहलमा विभिन्न जिल्लामा तामाङ भाषा र लिपि प्रशिक्षणको क्रम अघि बढ्यो । मैले धेरै ठाउँमा प्रशिक्षकको भूमिका निर्वाह गर्ने अवसर पाएँ । क्रमिकरूपमा लिपिसम्बन्धी तालिम, गोष्ठी, प्रशिक्षणमा सहभागी पाएँ । जहाँ जहाँ तालिम दिइयो, प्रशिक्षणपछि प्रशिक्षार्थीहरूबाट ‘केही अक्षर त सिकियो तर हामीलाई आफैले घरैमा बसेर सिक्ने केही अध्ययन सामग्री पाए हुन्थ्यो’ भन्ने सुझाव आयो । यस्तै सुझाव र आग्रहको आधारमा मैले लिपिसम्बन्धी अध्ययन सामग्रीको रूपमा यो पुस्तक तयार गरेको हुँ ।

पहिले तपाईं आफैं तामयिग लिपिको पक्षमा हुनुहुन्थ्यो । तर घेदुङको महाधिवेशनबाट महासचिवमा निर्वाचित नभएपछि एक्कासी उछेन लिपिको वकालत गर्नुभएको आरोप छ नि ?

बाहिरीरूपमा हेर्दा धेरैलाई यस्तो लाग्नु अन्यथा होइन । मैले एकाएक यसरी फरक धारणा किन ल्याएको होला भन्ने धेरैको जिज्ञासा छ । तर एक्कासी मैले यसखालको बुझाई उठाएको भने होइन । नेपाल तामाङ घेदुङमा आफू जिम्मेवारीमै रहेको बेला मैले यो विषयमा कुरा उठाइसकेको थिएँ । २०७२ वैशाखमै महाधिवेशन सम्पन्न भएर नेतृत्व परिवर्तन भएको भए म पछि हुन्थेँ । तर भूकम्पका कारण महाधिवेशन स्थगित भएपछि कार्यकाल पनि लम्बियो । त्यही बीचमा महाधिवेशन सम्पन्न हुनुअघि नै मैले लिपिसम्बन्धी अहिलेको दृष्टिकोण प्रस्तुत गरिसकेको हुँ । लिपिसम्बन्धी मेरो धारणा र बुझाई र मैले कहिले उठाएको थिएँ भन्ने सम्बन्धमा तत्कालीन अध्यक्ष कुमार योञ्जन र महासचिव कुमार ब्लोनलाई पनि राम्रो जानकारी छ । यसैगरी मसँगै काम गर्नुहुने मोहनकुमार तामाङलगायतका साथीहरू पनि यो विषयमा प्रस्ट हुनुहुन्छ । घेदुङको महासचिव पदमा पराजित भएपछि फरक दृष्टिकोण ल्याएको भन्ने कुरा बिलकुल असत्य हो ।

त्यसो त पुस्तक त निकै ढिला ल्याउनुभयो नि ?

मेरो पुस्तकमा दुईटा खण्ड छ । दोस्रोखण्डमा उछेन लिपि सिक्न इच्छुकहरूका लागि सहयोग हुने अध्ययन सामग्री छ । यसको आधारमा थोरै समयमा घरमै बसेर पनि यो लिपि सिक्न सकिन्छ । पहिलो खण्डमा लिपि र भाषा, त्यसको महत्व, लामा लिपिका रूपमा बुझ्दै आएको उछेन लिपिको विकास, थोन्मी सम्भोटाको परिचयका साथै तामयिगको अवधारणा र सरल लेखनशैलीको बारेमा विस्तृत चर्चा गरिएको छ । यसैगरी अहिलेसम्मको लिपिको क्षेत्रमा देखिएको बहस र विवाद अनि निष्कर्षका बारेमा उल्लेख गरिएको छ । मेरो धारणा संस्थागत रूपमा सार्वजनिक गर्न पाइयोस् भनेर मैले केही समय पर्खि बसेको हुँ । लिपि विवादलाई निष्कर्षमा पुर्याउन एउटा कार्यदल पनि बनेको थियो । त्यसले एउटा दृष्टिकोण ल्याउन सकेमा घेदुङले पनि अपनत्व स्वीकार्ने आशा पनि थियो । मेरो पुस्तकमा समेटिएका धारणाका सम्बन्धमा कार्यदलमा छलफल पनि हुँदै थियो । तर, दुर्भाग्य अहिलेसम्म कार्यदलले आफ्नो अन्तिम निर्णय दिन सकिरहेको छैन । औपचारिक रूपमा विघटन पनि भएको छैन । अनेक कारणले निष्क्रिय रहन पुग्यो । यही बीचमा नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष, महासचिव, उपाध्यक्ष, प्रदेशका अध्यक्ष, जिल्लाका अध्यक्षहरूसँग मैले अलग-अलग भेटेर आफ्नो धारणा प्रस्ट्याउने प्रयास गरिरहेँ । तर, कसैले पनि मेरो प्रस्तावलाई गम्भीरताका साथ लिने र संस्थामा छलफलका लागि औपचारिक विषय बनाउनु भएन । हुँदाहुँदा अहिलेको पदाधिकारीको चार वर्षे कार्यकाल पनि सकिन लागिसक्यो । यो अवस्थामा अब चाहिँ धेरै ढिला भयो भन्ने मलाई लाग्यो । संस्थागत अवधारणकै रूपमा ल्याउने मेरो रहर थियो । तर, त्यो सम्भव नदेखेपछि मैले पुस्तक अहिले सार्वजनिक गरेको हुँ ।

तर, घेदुङले त यो केवल तपाईंको व्यक्तिगत बुझाई हो भनिरहेको छ नि ?

घेदुङले त्यस खालको प्रतिक्रिया दिनु त स्वाभाविकै छ नि । किनभने उसले आफ्नो पुरानो निर्णयमा पुनर्विचार गरेकै छैन । ऊ तामयिग लिपिकै अडानमा छ । मैले पुस्तकको रूपमा ल्याउनुअघि विभिन्न हिसाबले यो विषयमा अनौपचारिक छलफल गर्दै आएको छु । अहिले पुस्तकमै रूपमा आइसकेपछि यो विषयको बहसले अलि आकार लिँदै गएको छ । अहिले सतहमा हेर्दा मेरो व्यक्तिगत बुझाईजस्तो देखिए पनि यसमा सहमति जनाउनेहरूको पङ्ति ठूलो छ । बरू यसरी ठोस रूपमा धारणा ढिला आयो भन्नेहरू थुप्रै छन् । अब उछेन (सम्भोटा) लिपि लामा गुरु र घेदुङमा लाग्नेहरूले मात्रै जानेका हुन्छन्, बुझेका हुन्छन् भनेर बुझ्नु गलत हुनेछ । स्वतन्त्र हिसाबले यो लिपिका बारेमा, यसको इतिहास, व्याकरण, विशेषता, महत्व, आकारप्रकार, मौलिकताका विषयमा गहिरो अध्ययन अनुसन्धान गर्नेहरूको जमात् बढ्दो छ । यसकारण केवल व्यक्तिगत विचारका रूपमा मात्रै बुझ्दा उचित नहोला ।

तामयिग लिपि, सम्भोटा लिपि नै हो भन्ने तपाईंको भनाइ देखियो हैन त ?

मेरो पुस्तक लोकार्पण समारोहमा घेदुङको महासचिव बाबु घिसिङले नै प्रष्ट भनिएको थियो, ‘प्रतीकजीको अवधारणा सैद्धान्तिक रूपमा एकदम सही छ । तामयिग लिपि त वास्तवमा सम्भोटा नै हो । यसलाई उछेन लिपिबाटै लिइएको हो । यसकारण उनको पुस्तकले लिपि विवादलाई सल्टाउनका लागि मार्गप्रशस्त गर्नेछ भन्नेमा म विश्वस्त छु ।’ घेदुङको महासचिवकै निष्कर्ष यस्तो छ । अब घेदुङको एकदम आधिकारिक व्यक्तिले नै यस खालको प्रतिक्रिया दिइसकेपछि मैले धेरै कुरा बोलिरहनु पर्ने देखिँदैन । उछेन सम्भोटा एउटै हो । तामयिग पनि अलग्गै होइन ।

मैले अहिले यो कुरा किन के कारणले ल्याइरहेको छु भन्ने कुरा बुझ्न आवश्यक छ । यसखालको एउटै विवादमा अल्झिँदा २६ वर्ष हामीले यत्तिकै खेर फालिसकेका छौं । घेदुङ देशभरि सञ्जाल भएको राष्ट्रिय संस्था हो । तर, लिपि, पाठ्यपुस्तक निर्माण र कार्यान्वयन, पठनपाठनको दृष्टिकोणबाट हेर्दा केही पनि गर्न नसकिरहेको देखिन्छ । जसरी अभियान तीव्रगतिमा गइसक्नुपर्ने थियो, जुन उपलब्धि हासिल गरिसक्नुपर्ने थियो, भाषा लिपिको विकास जुनस्तरमा उठिसक्नुपर्ने थियो, आज त्यसो हुन सकिरहेको छैन । एउटै विषयमा निरन्तर विवाद देखिनु, त्यसलाई गम्भीरतापूर्वक नलिनु यसको मुख्य कारण हो । जब एउटा विषय लामो समयसम्म समुदायमा विवादकै रूपमा देखिरहन्छ भने त्यसमाथि पुनर्विचार गरिनुपर्छ कि पर्दैन ? अहिलेसम्मको २६ वर्ष त खेर गयो नै, अर्को २६ वर्ष पनि यसरी नजाओस् भन्नेमा सबैको चिन्ता हुनुपर्छ । मेरो चासो र चिन्ता यही विषयमा हो । के उपाय गर्दा यसलाई अगाडि बढाउन सकिन्छ भन्ने विषयमा सबैले पहल गर्नुपर्छ । व्यक्तिगत लहड, घेदुङको जिम्मेवारीमा छैन भन्दैमा निरपेक्ष विरोधको मानसिकताले म अघि बढिरहेको छैन । घेदुङको अभियानमा अवरोध देखिँदा समग्र समुदायलाई नै घाटा भइरहेको छ ।

उछेन, सम्भोटा, तामयिग लिपिको भिन्नता के हो ?

यो विषयमा दुईटा कुरा यहाँ प्रस्ट हुनुपर्छ । कतिलाई थाहा होला, कतिलाई नहोला । लिपि वास्तवमा एउटै हो । उछेन भने पनि सम्बोटा भने पनि उही लिपि हो । उछेन लिपि बनाउने व्यक्ति थोन्मी सम्बोटाको नामबाट ‘सम्बोटा लिपि’ भनिएको हो । ‘तामयिग लिपि’ भनिए पनि सम्भोटा लिपिलाई नै जस्ताको तस्तै प्रचलनमा ल्याइएको छ । कुनै नयाँ लिपि विकास गरिएको होइन । यसैले ‘तामयिग लिपि’ भनेर जसरी नामकरण गर्ने काम भयो, त्यो निर्णयलाई पुनर्विचार गरिनुपर्छ भन्ने मेरो भनाइ हो ।

तर, लिपि उही प्रचलनमा ल्याइएपनि लेखनशैली भने अलग्गै विकास गरिएको हो । तिब्बती भाषामा लेखिएका बौद्ध धार्मिक ग्रन्थमा समेटिएको व्याकरण जस्ताको तस्तै लिनु व्यावहारिक हुँदैन भन्ने बुझाईका साथ अलग्गै लेखनशैलीको विकास गरिएको हो । तामाङ भाषा र तिब्बती भाषा अलगअलग भाषा हो । दुईटा भाषाको एउटै व्याकरण हुनै सक्दैन । देवनागरी लिपिमा लेखिए पनि नेपाली, संस्कृत र हिन्दी भाषाको व्याकरण आ-आफ्नै छ । छ्योइ लेखिने व्याकरण जटिल प्रकृतिको हुन्छ । लेखाइअनुसारको उच्चारण हुन्न । उच्चारणअनुसारको हिज्जे लेखिन्न । यो तिब्बती भाषाको विशेषता पनि हो । तर, यो जटिल प्रकृतिको व्याकरणको भारी तामाङ भाषामा किन लाद्ने ? यसैले पनि सरल शैलीको विकास गरिएको हो । यही सरलशैलीको व्याकरण लागू हुनुपर्छ भन्ने घेदुङको अवधारणा हो । मेरो पनि यही भनाइ हो ।

तामयिग लिपि पनि उछेन लिपि हो भनिए पनि फेरि तिब्बतकै लिपि भयो नि । यसलाई तामाङ मौलिक लिपिका रूपमा कसरी दाबी गर्न सकिन्छ ?

आफ्नो लिपि पनि नभएको, अरूको लिपि लिएर आफ्नो मौलिक लिपि भनेर दाबी गर्न पनि नसकिरहेको भन्ने कुरा सबैतिर उठ्दै आएको छ । यस सन्दर्भमा देवनागरी लिपिको कुरा गरौं न । यो लिपि भारतको भन्ने कि, संस्कृत लेख्ने पढ्ने ब्राह्मणको भन्ने ? नेपालको भन्ने कि कसको भन्ने त ? जब की त्यही लिपिमा हाम्रा तामाङ भाषा समुदायको कैयौं दस्तावेज लेखिएका छन्, लेखिँदैछन् । त्यो लिपि प्रयोग गर्दा चाहिँ मौलिक लिपिको सवाल उठाउनु नपर्ने । अनि हाम्रो धार्मिक हिसाबले, भाषिक सांस्कृतिक हिसाबले साइनो सम्बन्ध भएको उछेन लिपि लिँदा चाहिँ मौलिकताको सवाल उठाउनु पर्ने ? यो त कुनै तर्क नै भएन । यो पनि हाम्रो मौलिक होइन । तामाङ समुदायले बनाएको होइन, किन यसलाई पनि प्रयोग गर्ने त ? लिपि ठूलो कुरो हैन । भाषाको विकास ठूलो कुरा हो ।

फेरि आफ्नो मौलिक पहिचान झल्कने र पूर्णरूपमा स्वामित्व लिन पनि मिल्ने नयाँ लिपिको विकास गर्ने प्रस्ताव पनि आफ्नो ठाउँमा सही छ । त्यसो गर्न सके त झनै राम्रो हो । जसरी पनि उछेन लिपि नै प्रयोगमा ल्याउनुपर्छ भन्ने पनि होइन ।

यसले त झन अन्योल देखिने त होइन ?

अन्योल बढाउने होइन, मैले फेरि पनि दोहोर्याएँ, यसले भएको अन्योललाई चिरेर बाटो देखाउने काम गर्ने छ । यो मेरो विश्वास हो । हैन, सबै आ-आफ्नै अडानबाट टसको मस नहुने हो भने समुदायलाई ठूलो घाटा लागिरहने छ । यसो हुन दिनु कसैको हितमा छैन । अहिले कतिपय स्थानीय तहमा स्थानीय सत्ताको नेतृत्व हाम्रै तामाङहरूले गरिरहेका छन् । उनीहरूसँग आफ्नो क्षेत्रमा शैक्षिक क्षेत्रका लागि बजेट छु्ट्याउने, दरबन्दी सिर्जना गर्ने, पठनपाठनको आवश्यक सम्पूर्ण व्यवस्थापन गर्ने अधिकार छ । तर, लिपिको सवालमा अलगअलग अभियान, दृष्टिकोण र पाठ्यपुस्तक आउँदा उनीहरूले चाहेर पनि भाषिक शिक्षाका लागि काम गर्न सकिरहेका छैनन् । यो भनेको समुदायका लागि ठूलो घाटा हो । उनीहरूको उत्साह सेलाउँदै छ । यसको दोषी को हो ?

पुस्तकको बारेमा कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

सकारात्मक प्रतिक्रियाहरू पाइरहेको छु । यो पुस्तक ढिला आयो भन्ने शुभेच्छुकहरू थुप्रै देखिए । तामाङ समुदायका लागि, घेदुङका लागि उपयोगी, अहिलेसम्मको बहसलाई निकास दिने सामग्री समेटिएको पाठकहरूको प्रतिक्रिया छ । यसलाई अब अलि व्यवस्थित रूपमा तामाङ समुदायमा बहसमा लगेर छिटोभन्दा छिटो विवाद निरूपण गर्नुपर्छ भन्नेहरू पनि छन् । समग्रमा म उत्साहित छु ।

तपाईं पनि आफ्नो अडानमा अडिग हुनुभएन भन्ने आरोप छ । भोलि फेरि अर्कै लिपिको प्रस्तावना ल्याउनुहुने हो कि ? कसरी विश्वस्त हुने ?

भविष्यमा मैले के गर्छु भन्ने कुरा त परिकल्पनाको कुरा भयो । तर, चार वर्षदेखिको मेरो तर्क, मेरो भनाइलाई विश्लेषण गरेर हेर्दा धेरै कुराहरू प्रस्ट हुनसक्छ । मैले जेजस्तो बहस गर्दै आएको छु, समीक्षक, बुद्धिजीवीहरूले यसलाई स्वतन्त्र ढङ्गले हेरि दिनुपर्यो । मैले आज अघि सारेको विषयलाई हेरि दिनुपर्यो । मैले विभिन्न चरणमा घेदुङका पदाधिकारीहरूलाई भेटेको छु । कुरा राखेको छु । उहाँहरू कसैले गलत भन्नुभएको छैन । अब तामाङ समाजलाई थप अन्योलमा राख्न मिल्दैन । अलगअलग लिपि हो भने एउटा लिपि सिक्ने बित्तिकै कसरी दुवै लिपि पढ्न लेख्न जानिन्छ । मुख्य कुरा यही हो । यसलाई समर्थन जनाउनेहरू घेदुङभित्रै पनि थुप्रै छन् । हामी बीचको असहमतिले गर्दा राज्यबाट लिन सकिने सुविधाहरू लिन सकिरहेका छैनौं । हाम्रो बालबालिकाहरू आफ्नै भाषामा पठनपाठन गर्ने सुविधाबाट वञ्चित भइरहेका छन् । अब निष्कर्ष दिने खालको बहस र अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्न चाहन्छु ।

घेदुङले तपाईंको विचारलाई संस्थागत गर्नेमा कति विश्वस्त हुनुहुन्छ ?

आजै या भोलि नै त नहोला । तर, म विश्वस्त छु । घेदुङले अब विस्तारै यसलाई संस्थागत गर्नेछ । किन भने त्यसो नगरी नहुने स्थितिमा पुगिसकेको छ । सत्य त आखिर सत्य नै हुन्छ । त्यसलाई स्वीकार्नुको विकल्प हुँदैन । स्वतन्त्ररूपमा भाषा लिपिको विषयमा अध्ययन गर्नेहरूको जमात बढ्दो छ । त्यस हिसाबले यो मेरो मात्रै विचार होइन । मैले त प्रतिनिधित्व गरिदिएको मात्रै हो । भाषा लिपिको अभियान ठप्पजस्तै छ । यस अवस्थाबाट अघि बढ्नैपर्छ । बरू अब विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मीहरूले पनि यो विषयलाई विशेष रूपमा बहसमा लगिदिनुपरयो । सकारात्मक निष्कर्षका लागि सकारात्मक दबाब दिनुपर्यो । देवनागरीभन्दा अुछेन लिपिमै मौलिकता देखिन्छ भन्ने बुझाई राख्ने हो भने सबै लाग्नुपर्यो । यो पनि हाम्रो पहिचान स्थापित गर्ने अभियान हो ।

तपाईको प्रतिक्रिया