बिरामीको अहित हुने कुरामा कदापि सम्झौता गर्न नसक्ने : ग्राण्डी

माधव शर्मा संवाददाता
काठमाडाैं

 

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले शुक्रबार आफ्नो सातौ स्थापना दिवस मनाएको छ ।

अस्पताल परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ग्राण्डीका अध्यक्ष दिपक कुँवरले अस्पताललाई यहाँसम्म ल्याई पुर्याउन साथ दिएकोमा सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि साथ र सहयोग दिइरहन अनुरोध गरे ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले अस्पतालको संहितामा रहेर बिरामी केन्द्रित उपचार र बिभिन्न बिशेषज्ञहरुसँग सहकार्यमा गरिने उपचार यस अस्पतालको आधारशिला भएकाले बिरामीको अहित हुने कुनै पनि कुरामा कदापि सम्झौता गर्न नसक्ने जिकिर गरे । ग्राण्डी सम्पूर्ण नेपालीको अस्पताल भएकाले सरकारसँग सहकार्य गरी नेपालीको स्वास्थ्य क्षेत्रमा योगदान दिन सदैव तत्पर रहेको उनले बताए । डा. पाण्डेले भने, ‘नेपालको स्वास्थ्य क्षेत्रमा ग्राण्डी एउटा बेन्चमार्कको रुपमा स्थापित छ ।’

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले शुभकामना दिदै आगामी दिनमा यहाँका स्थानीय लक्षित योजनाहरु ल्याउन अस्पताल प्रशासनलाई अपिल गरे । मेयर अधिकारीले नगरपालिकालाई ग्राण्डीले नै देश तथा विदेशमा चिनाएको उल्लेख गर्दै जनमुखी र विश्वस्तरीय सेवा बिस्तार गर्दै जानुपर्ने र त्यसको लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरे ।

अस्पतालले गतवर्षदेखि सुरु गरेको एकेडेमिक्स अर्थात अध्ययन तथा अनुसन्धानमा पनि निरन्तरता दिएको छ । गत बर्षदेखि नयाँ बिभागका रुपमा एकेडेमिक्स तथा रिसर्च बिभाग स्थापना गरी नियमित ग्राण्डे लेक्चर पाक्षिक रुपमा आयोजना गरिरहेको छ ।
बार्षिक रुपमा ग्राण्डे मेडिकल जर्नलको दोश्रो संस्करण प्रकाशन गरेको छ । नेपालमा पनि मेडिकल रिसर्च हुनुपर्छ र बिरामीको उपचारमा यस किसिमका अनुसन्धानले बिश्वमा नेपाली चिकित्सकहरुको दक्षता र क्षमता परिचित हुने तथा आगामी पुस्तालाई मार्गनिर्देश गर्ने बिश्वास सहित ग्राण्डे मेडिकल जर्नल प्रकाशन गरिएको हो ।

समारोहमा टोखाका मेयर प्रकाश अधिकारी, अस्पतालका अध्यक्ष दिपक कुँवर, मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले संयुक्त रुपमा बिमोचन गरेको थियो ।

जर्नलका बारेमा बोल्दै अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर तथा एकेडेमिक्स एण्ड रिसर्च डिपार्टमेन्टका प्रमुख डा. बिनोद बिजुक्छेले ग्राण्डीले अध्ययन तथा अनुसन्धानमा पनि योगदान गर्न सक्ने अवस्था भएको बताए । उनले यो बिभाग स्थापना गरी नियमित ग्राण्डे लेक्चर तथा बिभिन्न बिधाका फेलोसिप कार्यक्रमहरु संचालन गरिएको जानकारी दिए ।

सो मेडिकल जर्नलमा अस्पतालको बिभिन्न बिभागमा कार्यरत बिशेषज्ञ डाक्टरहरुका १५ वटा मेडिकल रिसर्च पेपरहरु समावेश गरिएका छन् । अस्पतालले बिपन्न तथा आर्थिक अवस्था कमजोर भएका बिरामीहरूलाई नेपाल सरकारले तोकेबमोजिमको निशुल्क उपचार पनि प्रदान गर्ने जानकारी दिए ।

तपाईको प्रतिक्रिया