यो मेरो वक्तव्य हो
अर्थात् यो धरतीको सबैभन्दा सुन्दर मानिसको आवाज हो ।
तिमीले फेर्ने प्रत्येक स्वासमा
म मैलो किसानको पसिनाको गन्ध आयो कि आएन ?
तिम्रो घाँटिबाट ओर्लिदैगरेको प्रत्यक गाँसमा
मेरो आलो रगतको गन्ध आयो कि आएन ?
तिम्रो टेबलमा सजिएका चौरासी ब्यन्जनमाथि
यो बूढो किसानको चाउरिएको अनुहार नाच्यो कि नाचेन ?
तिम्रो जिवनको
अर्थात् तिमी बाँचेको व्यवस्थाको
अर्थात् तिम्रो शरीरको कुन अङ्गमा छैन म ?
तिम्रो पेटको भोकमा छु म
तिमीले देख्ने सपनामा छु
तिम्रो आँखाको दृष्ट्रिमा छु
बिडम्बना !
म भएरै सम्भव हुने जीवनको अस्तित्वअघि
म मेरै गाँसको भिख माग्नु परेको छ तिम्रो सत्तासँग ।
थाहा छ,
तिमी मेरै करङको भर्याङ चढेर बिराजमान छौ सत्तामा
मेरै हाडछालाको लिलाम हुन्छ तिम्रो संसदमा
मेरै सपनाको बलात्कार पछि
तृप्त हुन्छ सरकार ।
पराल ओढेर हिउँदको कठ्याङ्ग्री काट्नुको चोट कस्तो हुन्छ ?
यो बूढो किसानलाई सोध्नु ।
आफ्नो पसिनाको अनाज मालिकको भकारिमा भरिनुको पीडा कस्तो हुन्छ ?
यो बूढो किसानलाई सोध्नु ।
भोको पेटको झम्ट्याई कस्तो हुन्छ ?
यो बूढो किसानलाई सोध्नु ।
तर, अब यो नसोध्नु कि यो बूढो किसानको भोक
कुन आगो टिपेर दन्किरहेको छ ?
तिम्रो बिरासतको ठिक मुन्तिर
बिद्रोहको सुरुङ खनिरहेको एउटा आगो छ
तिमीले देख्यौ होला
हो, म त्यही आगो हुँ ।