खाडीमा समस्या आए तत्काल उद्धार : श्रममन्त्री यादव

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौ

सरकारले अमेरिका–इरान तनावका कारण खाडीका मुलुकमा कार्यरत नेपाली श्रमिक समस्यामा परे तत्काल उद्धार गर्न तयार रहेको जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर रायले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मध्यपूर्वमा देखिएको तनावलाई सरकारले नजिकबाट नियालिरहेको र केही समस्या देखिए तत्कालै समाधान खोजिने बताए । ‘खाडीमा रहेको नेपाली श्रमिक समस्यामा परे पूरै सरकार उद्धारमा केन्द्रित हुनेछ’, उनले भने ।


मध्यपूर्वी क्षेत्रमा तनाव देखिने बित्तिकै आफूले पराराष्ट्रमन्त्रीसँग यस विषयमा छलफल गरेको जानकारी दिँदै उनले परराष्ट्रमार्फत सम्बन्धित मुलुकमा रहेको कूटनीतिज्ञलाई चनाखो हुन आग्रह गरिएको बताए ।’ मध्यपूर्वको अवस्था बुझ्नका लागि परराष्ट्र सचिवस्तरीय टोली बनाएर पलपलको खबर लिइरहेको छौँ, अप्ठयारो अवस्था आए कसरी उद्धार गर्ने भन्ने विषयमा पनि छिट्टै टुंगोमा पुग्नेछौँ ‘, उनले थपे ।

परराष्ट्र मन्त्रालयको अगुवाइमा श्रम, गृह लगायत सरोकारवाला मन्त्रालयसँगको समन्वयमा आवश्यक टोली बनाउने तयारी भइरहेको उनले जानकारी दिए । श्रम र परराष्ट्र सचिवस्तरमा पनि नियमित संवाद भइरहेको उनको भनाइ थियो ।

खाडीका मुलुकमध्ये साउदीमा करिब चार लाख र कतारमा तीन लाख ५० हजार बढी नेपाली कार्यरत छन् ।त्यसैगरी यूएईमा दुई लाख ५० हजार, कुवेतमा ७० हजार, ओमानमा २० हजार, बहराइनमा २५ हजार, लेबनानमा १२ हजार, जोडर्नमा १२ हजार र इजरायलमा तीन हजार नेपाली रहेका बताइएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका