नेपाली दूतावास साउदी अरबले ‘भिजिट नेपाल २०२०’ को सुरु गरेको छ । दूतावासले जनवरी ७ मंगलबार रियादस्थित क्राउन प्लाजा होटलमा एक कार्यक्रम गरी सुरु गरेको हो ।
कार्यक्रममा साउदीका अल वातान डेलीमा कार्यरत पत्रकार मोहाब अलावरले नेपाल बसाइँका अनुभव बाँडेका थिए । नेपाल गरीब, विकास नभएको भन्ने भ्रम नेपाल पुग्दा हटेको पत्रकार अलावरले बताए । उनले थपे- नेपाल भ्रमणका लागि आर्थिक रूपमा खासै महँगो नलागेको र नेपालीहरू सरल र सहयोगी व्यवहार देखेर प्रभावित भए ।
पत्रकार अलावर साउदीमा नेपालको प्रचारप्रसार गर्ने उदेश्यसहित दूतावासको सहयोगमा नेपाल भ्रमण गरेर फर्केका हुन् । उनी फर्के लगत्तै नेपालका बारेमा आफू कार्यरत पत्रिकामा प्रचारप्रसार सुरु गरेका थिए ।
समारोहमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही साउदी नागरिक नेली अख्तर र साउद अल ईदीले आरोहण गर्दाको अनुभव साटेका थिए । उनीहरूले सगरमाथासँगै नेपाल विश्वकै घुम्न लायक मध्ये उत्कृष्ट स्थान लागेको बताइन् ।
साउदीका लागि नेपाली राजदूत तथा कार्यक्रमका सभापति प्रा.डा महेन्द्रसिंह राजपुतले भिजिट नेपाल २०२० सफल बनाउन आपसी सहकार्यको खाँचो रहेको बताए । राजदूत राजपुतले साउदी नेपाल सम्बन्धको बारेमा चर्चा गरे । उनले थपे- नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरेका सन् २०२०लाई सफल बनाउन कार्यक्रमहरू गर्दै आएको छ ।
दूतावास उपप्रमुख दिलीपकुमार पौडेलले उपस्थितिहरुलाई धन्यवाद ज्ञापन दिएको थियो । उनले भिजिट नेपाल २०२०लाई सफल बनाउन साउदीमा रहेका सबै नेपालीले अह म भूमिका खेल्नुपर्ने समेत बताए ।
कार्यक्रममा सुरा काउन्सिल मेम्बर डा.अब्दुल्ला अल सदुन, च्याम्बर काउन्सिल मेम्बर डा.अब्दुल्लाह अहमद् अल महादी, डाइरेक्टर जनरल मोफा डा. मोहम्मद अल समरी, ज्वाइण्ट सेक्रेटरी मिनिस्टर अफ इण्टेरिएर डा.अब्दुल्लाह अल खरैसी, कमिसन टुरिजम एन नेसनल हेरिटेजका मेनेजर फाद अल अब्दुल क्रिम लगायत उपस्थितिरहेका थिए ।
दूताबासका द्वितीय सचिव बिपिन दवाडीले सञ्चालन गरेको कार्यक्रममा नेपाली कलाकार तथा बाँसुरी वादक राज यात्रीले नेपाली र साउदी अरबको राष्ट्रिय धुन बजाएका थिए ।
कार्यक्रम स्थलमा भिजिट नेपाल २०२० को प्रवर्द्धनका लागि प्रचारप्रसारका नेपालका विभिन्न सामग्रीहरू प्रदर्शनका लागि राखिएका थिए । कार्यक्रममा हिमालयन एयरलाइन्स, फ्लाई दुबई, वातान एयरलाइन्स, ईतिहाद एयरलाइन्स, जजिरा एयरलाइन्स लगायतले साउदी लगायत अन्य विदेशीहरुलाई भाग्यशाली उपहार मार्फत ७ जनालाई नेपालका लागि दुई तर्फी हवाई टिकट उपलब्ध गराएका थिए ।