थिएटर मलमा १३ कलाकारको चित्र प्रदर्शनी

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

कीर्तिपुर रंगमञ्चमा ‘क्यानभास एट थिएटर’ सामूहिक चित्रकला प्रदर्शनी सुरु भएको छ । राराहिल कीर्तिपुरस्थित थिएटर मलको नाटकघर परिसरमा युवा कलाकारहरुको सिर्जना प्रदर्शनीमा राखिएको हो ।

प्रदर्शनीको उद्घाटन गर्दै कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले कीर्तिपुरलाई कलानगरीको रुपमा विकास गर्न आफू प्रतिवद्ध रहेको बताए ।

प्रदर्शनीमा रहेका चित्रहरुले समकालिन नेपाली समाजप्रतिको चिन्ता र चासो अभिव्यक्त गरिएका छन् । युवा कलाकारहरुले आफ्नो सिर्जनामा चेनतशील मानव सभ्यताका विकृति, कुसंस्कार, उत्पीडनलाई प्रतिरुप स्वरुप उतारेका छन् ।

प्रदर्शनीमा भिजिट नेपाल २०२० को लोगोका सिर्जनाकारदेखि विभिन्न विश्वविद्यालयबाट दिक्षित सक्रिय १३ कलाकारहरुको सिर्जना राखिएको छ ।

कलाकारहरु उद्धवराज रिमाल, टिकादत्त दाहाल, दीपमाला महर्जन, नारायणप्रसाद बोहजु, भिषण राजभण्डारी, मनिषा मानन्धर, रुकुमणी श्रेष्ठ, विद्यमान तामाङ, सन्तोष सिग्देल, सुजिता महर्जन, सुमन महर्जन, सुवास तामाङ र सोनी राईको चित्रकला प्रदर्शनीमा राखिएका छन् ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार तथा प्रदर्शनीहरुमा समेत सहभागिता जनाइसकेका कलाकारहरुको सहभागिता रहेको प्रदर्शनीको संयोजन प्रिन्ट मेकीङ कलाकार सुजिता महर्जन गरेका छन् ।

प्रदर्शनी आगामि माघ ४ गतेसम्म जारी रहनेछ ।

तपाईको प्रतिक्रिया