प्रदेश ३ को नेकपा संसदीय दलले प्रदेश नं. ३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौंडालाई नै एकमतले पास गराउने निर्णय गरेको छ ।
पार्टी सचिवालयको निर्णयलाई नै एक भएर पास गराउने निर्णय भएको नेकपा प्रदेश नं. ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले जानकारी दिए ।
‘विगतमा प्रदेशसभा सदस्यहरुले आ-आफ्नो हिसाबले मन्तव्य र विचार व्यक्त गरेको भए पनि एक भएर राजधानी र नामकरण टुङ्ग्याउने सहमति भएको छ ।’ शाक्यले भनिन्, ‘दलको निर्णयअनुसार नै मतदान हुने हुँदा ‘ह्वीप’ वा दण्डको डर वा त्रास देखाउने अवस्था छैन ।’
मुख्यमन्त्री डोरमणि पौडेलले संसद्मा एउटा मात्र प्रस्ताव लैजाने सहमति भएको जानकारी दिए । ‘दलको बैठकमा प्रदेशसभा सदस्यको धारणा सुनेपछि संसद्मा राजधानी हेटौंडा र नाम वाग्मती मात्र प्रस्ताव पेश गर्ने निर्णय सर्वसम्मत भएको छ’, मुख्यमन्त्री पौडेलले भने ।
राजधानी र नाममा एउटा–एउटा मात्र प्रस्ताव पेश गर्न राखिएको प्रस्ताव सर्वसम्मत रूपमा पास भएको बताउँदै यही पुस २७ गते प्रदेश नं. ३ ले स्थायी राजधानी मकवानपुरको हेटौंडा र नाम वाग्मती पाउने पौडेलको भनाइ छ ।
विकासलाई विस्तार गर्नुपर्छ भन्ने अवधारणाका साथ र दीर्घकालीन सोचका साथ हेटौंडालाई नै राजधानी र नाम वाग्मती राख्ने निर्णय भएको नेकपा प्रदेश नं. ३ का अध्यक्ष नारायण दाहालले जानकारी दिए । हेटौंडालाई राजधानी बनाउँदा समृद्ध नेपाल बनाउने अभियानमा धेरै हिसाबले बल पुग्ने र थुप्रै रणनीतिक कारण पनि हेटौंडा उपयुक्त हुने उनको भनाइ थियो ।
‘नेकपाको संसदीय दलले एक ढिक्का र एकमतका साथ जाने निर्णय गरेको छ’ दाहालले भने । ह्वीप नलगाउँदा ‘फ्लोरक्रस’ हुन्छ कि ? भन्ने प्रश्नमा अध्यक्ष दाहालले कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको कारण पार्टीको निर्णय नमान्ने भन्ने कुरा नहुने बताए ।
प्रदेशसभामा नेकपाका ८०, नेपाली कांग्रेसका २२, विवेकशील नेपालीका तीन, राप्रपाका एक, राप्रपा (संयुक्त)का एक र नयाँ शक्तिका एक सदस्य छन् ।