सुनको मूल्यमा गिरावट

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौ

पछिल्लो समय लगातार उकालो लाग्दै आएको सुनको मूल्य पुनः ओरालो लाग्न थालेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ । बुधबारको तुलनामा बिहीबार पनि प्रतितोला एक हजार रुपैयाँले सुनको मूल्य घटेको थियो । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ७४ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ३०० पुगेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला र ७५ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार २०० पुगेको थियो । त्यसैगरी चाँदीको मूल्य पनि सामान्य घटेको छ । बिहीबारको तुलनामा १५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला ८८५ रुपैयाँ पुगेको छ । नेपालको इतिहासमा बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो ।

महासंघले बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ७६ हजार २०० रुपैयाँ निर्धारण गरेको थियो । सामान्य उतारचढावका बीच कारोवार भइरहेको सुनको मूल्य अमेरिका र इरानका बीचमा तनाव देखिन थालेपछि एकाएक उच्च वृद्धि भएको थियो ।

अहिले अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ५४९.९५ र चाँदीको मूल्य प्रतिऔँस १७.९२ अमेरिकी डलरमा झरेको छ ।

विश्व बजारमा सोमबार सुनको मूल्य प्रतिऔँस एक हजार ५७३.५० अमेरिकी डलर पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएकाले स्वभाविकरुपमा त्यसको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया