मुशर्रफलाई मृत्युदण्ड दिने विशेष अदालत असंवैधानिक : लाहोर उच्च अदालत

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
पाकिस्तान

पूर्व पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफलाई ‘देशद्रोह’ अभियोगमा मृत्युदण्ड दिने विशेष अदालतको गठन नै असंवैधानिक भएको पाकिस्तानको लाहोर उच्च अदालतले सोमबार निर्णय गरेको जनाएको छन् ।

सन् १९९८ मा सेनाप्रमुख नियुक्त भएका मुशर्रफ र तत्कालीन प्रधानमन्त्री नवाज शरिफबीच कारगिल युद्धमा सेनाको संलग्नताको विषयमा विवाद उत्पन्न भएपछि रक्तहीन सत्तापलट गरेर सेनाप्रमुख मुशर्रफले सत्ता आफ्नो हातमा लिएको थियो ।

प्रधानमन्त्री शरिफले सन् २००७ नोभेम्बरमा संकटकाल  लगाएर संविधान निलम्बित गरेको थियो । यसै बिषयमा मुद्दा परेपछि सुनुवाईका लागि बनेको विशेष अदालतको गठन संविधानसम्मत नभएको लाहोर उच्च अदालतले ठहर गरेको हो ।

लाहोर उच्च अदालतका न्यायाधीशहरू सैयद मजाहर अलि अकबर नाकभी, मोहम्मद अमीर भाटी र चौधरी मसूद जहानगीरको तीन सदस्यीय पूर्ण इजलासले मुशर्रफमाथि लगाइएको ‘देशद्रोह’ को मुद्दा पाकिस्तानी कानूनको भावना अनुकुल नभएको बताएको छ ।

उक्त विशेष अदालतले पूर्व पाकिस्तानी शैनिक शासक जनरल परवेज मुशर्रफविरूद्ध लागेको ‘देशद्रोह’ को अभियोगमाथि सुनुवाईपछि दोषी ठहर गर्दै गत डिसेम्बर १७ मा मृत्युदण्डको फैसला सुनाएको थियो ।

त्यसपछि मुशर्रफले आफ्ना कानूनी सहयोगीमार्फत् लाहोर उच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएको थियो । उनले आफ्नो मुद्दा सनुवाईका लागि गठन भएको विशेष अदालतको गठन असंवैधानिक रहेको र यसले संविधानको धारा १० (क) को उल्लंघन गरेको भन्दै पुनरावेदन गरेको थियो ।

मुशर्रफको पुनरावेदन लाहोर उच्च अदालतमा डिसेम्बर २७ मा आएपनि जाडो विदाका कारण पूर्ण इजलाश तोक्न सकेको थिएन । लाहोर उच्च अदालतले ख्वाजा अहमद तारिक रहीम र अजहर सिद्दिकीको वैधानिक समितिले पुनरावेदनका लागि परेको निवेदनलाई यही जनवरी ८ मा दर्ता गरेको थियो ।

सम्बन्धित समाचार 

पूर्वराष्ट्रपतिद्वारा बिशेष अदालतको फैसलाविरुद्ध पुनरावेदन

मृत्युदण्डको फैसला प्रतिशोधका आधारमा गरियो : पूर्वराष्ट्रपति

मुशर्रफविरूद्ध लागेको ‘देशद्रोह’ मुद्दाको नोभेम्बर २८ मा फैसला हुने

तपाईको प्रतिक्रिया

पत्रपत्रिका