दृष्टिविहीन विद्यार्थीलाई स्मार्टफोन र सिमकार्ड

सुनसरी
PHOTO:

नेपाल टेलिकमले असार १३ गते सुनसरीमा दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई एण्ड्रोइड स्मार्टफोन सिमकार्डसहित वितरण गरेको छ ।

इटहरीमा आयोजित एक कार्यक्रममा दृष्टि सम्बन्धी अपांगता भएका बाह्र र स्नातक अध्ययनरत विद्यार्थीहरुलाई सामसुङ ग्यालेक्सी एम २० स्मार्टफोन प्रदान गरेको हो । अध्ययन कार्यमा सहयोग पुर्याउने उद्देश्यले वितरण गरेको टेलिकमले जनाएको छ ।

दूरसञ्चार कार्यालय इटहरीका प्रमुख उप–प्रबन्धक ज्ञानेश दंगालले मोबाइल सेट हस्तान्तरण गरेका थिए । स्माटफोन प्राप्त गरेका विद्यार्थीहरुले ब्रान्ड एम्बेसडरको रुपमा कम्पनीको सेवा बारेमा जानकारी प्रवाह गर्ने विश्वास व्यक्त गरे ।

कम्पनीको तर्फबाट गरिएको सानो सहयोगले उनीहरुलाई सूचना प्रविधिमैत्री वातावरण प्रदान गर्न र थप योग्यता निर्माण गर्न सहयोग पुग्ने प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका वरिष्ठ प्रशासकीय अधिकृत घनश्याम पाण्डेले बताए ।

अध्ययनका लागि प्रयोग गर्नुपर्ने विभिन्न एप्सहरु अब एउटै उच्च क्षमताको मोबाइलबाट प्रयोग गर्न सकिने भएकाले हामीलाई निकै हौसला मिलेको छ, पदम ठटालले बताए ।

‘आइसिटी फर द स्टुडेण्ट विथ भिजुअल डिसएबिलिटी’ कार्यक्रममार्फत् प्रदेश नम्बर १ मा सुनसरीको इटहरी र कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगरका विद्यार्थीहरुलाई सहयोग गर्ने कम्पनीको कार्यक्रम रहेको छ ।

यस अन्तर्गत आर्थिक एवं प्राविधिक रुपमा पछि परेका जम्मा २० जना दृष्टिविहीन विद्यार्थीहरुलाई कम्पनीको सिमकार्डसहित एण्ड्रोइड स्मार्टफोन उपलब्ध गराएर अत्याधुनिक सूचना प्रविधिमा आधारित अध्ययनको अवसर प्रदान गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया