जातीय विभेदविरुद्ध पहिचान संवाद

अमिर योञ्जन संम्वाददाता
दक्षिण कोरिया

‘पहिचानको आन्दोलनमा प्रवासी जातीय संस्थाहरुको भूमिका’ विषयक पहिचान संवाद श्रृंखला सम्पन्न गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) दक्षिण कोरियाको आयोजनामा आइतबार सउल दोङदेमुनको दर्शन नमस्ते रेष्टुरेण्टको सभाहलमा सम्पन्न भएको हो ।

यहाँका बाह्र वटा संघसंस्थाहरुको अध्यक्षहरुलाई राखेर खुल्ला संवाद गरेका हुन् । संवादमा फोनिजका सल्लाहकार यम श्रीस मगरले फोनिज र समाचार साइटबारे संक्षिप्तमा जानकारी गरेका थिए ।

संवादमा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष युगेलतेन्डुप शेर्पाले राज्यसत्ताले एकात्मक ढाँचाले खोसिएको पहिचान खोज्नु आन्दोलनको औचित्य रहेको प्रष्ट पारे । उनले खासमा लोकतन्त्रको व्यवस्थामा पनि जातीय पहिचानबारे स्पष्ट नबुझेका बताए ।

संवादमा आफ्नो पहिचानको निरन्तर रुपमा विभिन्न सांस्कृतिक तथा राजनैतिक तरिकाले अघि लम्किरहेको बताएका छन् । आदिवासी जनजातिहरुले कुनै समयमा पहिचानको मुद्धा जित्ने छन् । त्यसको समय ढिलो चाँडो हुने मात्रै रहेको बताए । उनीहरुले भने,–‘विविधतामूलक संस्कृति भएको देश भएपनि अहिलेसम्म शासकहरुले दमन र विभेद गरिरहेका छन् । आदिवासी जनजातिहरु जहाँ रहेपनि सांस्कृतिक, सामाजिक, भाषिक, भेषभुषा तथा सांगीतिक तवरले पहिचानलाई संरक्षण र प्रबद्र्धन गर्दै आएको बक्ताहरुले बताए ।

अबको दिनमा प्रवासमा सांगीतिक मनोरञ्जन कार्यक्रम मात्र नभई सैद्धान्तिक तरिकाले मूलधारको विषयमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

संवादमा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष युगेल तेन्टुप शेर्पा, नेपाल मगर संघ दक्षिण कोरियाका अध्यक्ष सिपी मगर, तमु धीं दक्षिण कोरियाका अध्यक्ष जीत गुरूङ, नेपाल तामाङ संघ, दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाइबा तामाङ रहेका थिए ।

यसैगरी किरात राई यायोख्खा दक्षिण कोरियाका अध्यक्ष बालकृष्ण बान्तवा, किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष सुन्दरदिप आङदेङ्बे, थारू कल्याणकारिणी सभा दक्षिण कोरियाका उपाध्यक्ष शिवशंकर महतो थारू, ह्योल्मो सेवा समाज दक्षिण कोरियाका अध्यक्ष बाबुज्याबा ह्योल्मो र नेपाल शेर्पा संघ दक्षिण कोरियाका महासचिव थुप्तेनग्याल्जी शेर्पा वक्ताका रुपमा रहेका थिए ।

कार्यक्रममा उपस्थितिहरूले जातिय पहिचान, भाषिक आन्दोलन, साहित्यिक आन्दोलन, कोरियामा जातिय संस्थाका काम आदि बारे जिज्ञसा र प्रश्न गरेका थिए ।

कार्यक्रममा स्वागत एवं कार्यक्रमबारे फोनिजका सचिव सिमा लामा र सहजिकरण फोनिजका अध्यक्ष गोकुल थोकरले गरेका थिए ।

तपाईको प्रतिक्रिया