प्रदेश ३ सरकारले १८ वर्ष पुगेपछि मात्र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) दिने कानून बनाएको छ । हालको कानूनअनुसार १६ वर्ष पुगेपछि दुईपाँग्रे सवारीको लाइसेन्स लिन सकिन्छ ।
नयाँ व्यवस्थासहितको ‘प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०७५’ १८ माघमै राजपत्रमा प्रकाशित भइसकेको छ । नयाँ प्रावधान लागू गर्न प्रदेश सरकारले केन्द्रीय सरकारलाई आग्रह गरेको छ ।
यातायात व्यवस्था कार्यालय ठुलो भर्याङकी प्रमुख कमला थापा खत्रीले केन्द्रीय सिस्टमअनुसार नै काम हुने भएकाले नयाँ कानून लागू हुन नसकेको बताइन् ।
यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने प्रदेश सरकारले बनाएको कानून लागू नहुने सम्भावना रहेको बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ।