“तपाईको संगत ठिक भएन । कहिले गर्नुभएको छ श्रमिकहरुको संगत ?”
उनी अप्रत्यासित प्रश्न तेर्साइदिन्छन् । (उनी…एक समाज जानिफकार)
“किन नहुनु । म आफैँ पनि त एक श्रमिक हुँ ।” (म प्रतिकारपूर्ण जवाफ फर्काउछु ।)
उनी फ्यास्स व्यङ्ग्यात्मक हाँसोमा उडाइदिन्छन् मेरो जवाफ । म थोरै आहत हुन्छु ।
श्रमिक पनि त फरक फरक हुन्छन् हैन र ?
(उनीसँगको पछिल्लो वार्तालाप मनकुनामा थन्क्याउछु र नियाल्छु वरपर । अर्का ‘उनी’ तिर जान्छ नजर ।)
त्यसबखत साइकल लिएर ठ्याक्कै गेटमा पुगेका थिए, उनी । मैले आवाज दिई हात हल्लाए ।
साइकल छेऊ लाएर मतिर लम्किए । खिरिलो अधबैँसे कद । उमेरका अनगिन्ती रेखाहरुले छपक्कै ढाकेको अनुहार । घामले बेस्सरी चुटेको छाला । तर देखिन्छन्, थोरबहुत स्टाइलिस्ट । खासमा उनको उमेर भन्दा भिन्न लुक्सले तानेको हो, मेरो नजर । हल्का खैरो कपाल कानभन्दा मुनिसम्म लत्रिएको छ । कालो रंगको सर्ट र प्यान्ट लगाएका छन् । उनको प्रिय रंग नै कालो हो कि जस्तो लाग्छ । हुन त उनको अनुहारको रंग पनि उस्तै नै छ । उनी नजिकिदै गर्दा नाकमा ठोक्किन आइपुगेको छ, थोरबहुत श्रमिक गन्ध । बोली फुटाएसँगै ट्वाक्कै कानमा ठोकिन्छ, खाँट्टी नेवारी लवज ।
चैत्रे हुरीले असरल्ल छरेका छन्, पातहरु । चलायमान छ, म्हेपी मन्दिर परिसर । निकै माथि थुम्कोमा छ, मुख्य मन्दिर । म भने फेदको मन्दिर प्राङ्गणमा छु । बिहानी हावामा फर्रफर्र गर्दैछ रुखभरि टाँगिएका रंगीन लुङ्दर । रातो फरिया चोलो लाएकी एक बृद्धाले खुट्टामा भने स्पोर्टस सुज घुसारेकी छिन् । मीठो फ्युजन । उनी निकै छरितो चालमा केही खुड्किलाहरु उक्लिने ओर्लने गरिरहन्छिन् । एक युवा लगातार फेदबाट टुप्पोसम्मका खुड्किलाहरु चढ्ने झर्ने काममा ब्यस्त छन् । ज्यानको रौं पुरै खुइलिएका बाँदरहरु उत्तिकै व्यस्त छन्, भक्तजनले चढाएको प्रसाद झ्याप पार्न । एक नजर मतिर पनि हुत्याउँछन् । म अलि सजग भई च्याप्छु हातको झोला ।
यिनै चहलपहल माझ म भने अनुहारमा घाम ताप्दै एउटा रुखमा अडेसिएको छु । त्यसै बखत कालो वस्त्रधारी जुल्फिवाला दाजु मतिर केही पटक आँखा हुत्याउँछन् । त्यसपछि भने मेरो नजर उनीतिर दौडिन्छ । कति छट्पटे उनी । एकैछिन नअडि तल र माथि गरिरहन्छन् । मन्दिर उक्लिने सिँढीमा केही बेरदेखि पसारिइरहेको छ, मुसाको क्षतविक्षत देह । खै कताबाट के ले खसायो । ओहोरदोहोर गर्नेहरु देख्ने बित्तिकै कम्तिमा एकपटक अनुहार बिगार्दैछन् । मैले अघि नै देखेको हुँ । टिपेर फाल्दिनु पर्छ कि क्या हो सोच्दै फेरि घामतिरै अनुहार सोझ्याउँछु । एकैछिनमा फेरि उही जुल्फिधारी दाजु देखिन्छन् । टपक्क टिपी हुर्याइदिन्छन् मृत मुसा । छेवैको धारामा हात धुन्छन् । कपालमा पानी हालेर मिलाउँछन् र साइकल डोर्याउँदै गेटतिर लाग्छन् । त्यत्ति नै खेर म उनलाई बोलाउँछु । ए दाइ…
तुरुन्तै साइकल अघिकै ठाउँमा अड्याएर उनी मतिर लम्किन्छन् । यतिखेर म रेलिङमा अडेसिएको छु । छेऊमा आएर प्रश्निल आँखाले हेर्छन् । म फुत्त एउटा प्रश्न पस्कन्छु ।
तपाईंले किन फाल्नु भएको त्यो मुसा ? (क्या वाहियात सोधाई)
म यही काम गर्छु ।
ए, के काम ?
सरसफाई गर्ने, बोटबिरुवा हेर्ने ।
अब प्रष्ट भएको छ, उनको तलमाथि हिँडाईको रहस्य । आँखा पर्छ उनको हातमा । कस्ता पोटिला औँलाहरु । खिरिलो ज्यानभन्दा निकै भिन्न । जब्बरे । खस्रा । यस्तै हुन्छ हो श्रम गर्नेको हात ? (हामी एक बसाई मस्त गफिइसकेका छौँ । तर त्यो गफ मात्र गफ नभई एउटा सीमान्त जीवनसँगको सामीप्य बनिसकेको छ ।)
हुन त छरिएर पनि कहाँ पो पुगिदो रहेछ र ? घुमीफिरी एकै ठाउँ । धरातल, परिवेश सबै त उस्तै छन् । हाम्रा पीडा र भोगाइका लहरहरु कतै न कतै जोडिन्छन् । जसरी यी श्रमिक दाजुलाई पिरलो छ, घरको उस्तै त छ मेरी आमालाई पनि ।
उनका हातहरुले फूलविरुवा स्याहार्नेदेखि ज्याला मजदुरीका भएजतिका सबै काम भ्याइदिन्छन् । खस्रा हातहरुले नरम बोटपात सुम्सुम्याउँछन् र सुन्दर फूलहरु फुलाउँछन् । आजकल उनी म्हेपी मन्दिर थुम्कोको रुख विरुवा ख्याल गर्ने जिम्मामा छन् । मात्र दुईघण्टे विहानी ड्युटी । त्यसपछि उनको अर्को सिफ्ट शुरु हुन्छ । अनि लाग्छन् सहरतिर कसैको घरका पर्खाल ठड्याउनेदेखि, ईट्टा बोक्ने या बालुवा चाल्ने या यस्तै केही ज्यालादारी काममा । उनका हातले धेरै धेरैको घर बनाएको छ, यस सहरमा । तर आफ्नो घर भने अझै अलपत्रै । बहत्तरको भूँइचालोले ध्वस्त पारिदियो धर्मस्थली क्षेत्र । त्यसैमा पर्यो उनको घर पनि । रफ्तारमा दौडिएको भूकम्पीय समय अब त सुदुर सम्झनाझैँ लाग्न थालिसकेको छ । तर अझै उनको परिवार टहरामै छन् । यसै क्षण एक प्रश्न बेतोडले बुर्कुसी मार्छ । अरुको घर ठड्याउने श्रमिकहरुको आफ्नो घर चाहिँ किन कहिल्यै समयमा बन्न सक्दैन ?
धर्मस्थलीका स्थानीय हुन्, उनी । थोरबहुत जग्गा पनि छ । गहुँ र आलु लगाएका छन् । तर, फेरि घरवार चलाउन यसैगरी दिनरात ज्यालादारीमा खटिनुपर्छ । किन उनीहरुको जीवनस्तर उक्सिन नसकेको होला ? खास के के को अतिक्रमणमा परेका होलान्, उनी जस्ता काठमाडाैंका स्थानीयवासीहरु ? प्रश्न गम्भीर छैन र ?
चावहिल चारुमति बिहार भित्रको बहालका केही स्थानीयहरुको पनि हाल उस्तै देखिन्छ । दुई दशकमा चावहिल अचम्मैसँग बद्लियो । बहालभित्र पनि बद्लिएको छ दिनचर्या । अलि अघिसम्म बिहान सबेरै जाग्थ्यो त्यहाँको समय । इनारमा पानी लिनेहरुको हुन्थ्यो लामै लर्को । स्थानीय नेवार्नी आमाहरु उत्ति खुकुलिइसकेका थिएनन् । डेरावालहरुलाई आफूले सबै काम भ्याएपछि मात्र दिन्थे इनार छुन । नेवारीपना प्रशस्तै थियो । तर, आज ती इनारहरु वेवारिसे देखिन्छन् । पहिलेको जस्तो विहानी चहलपहल हराएको छ, बहाल भित्रका घरहरु आज अजंगका कंक्रिट बिल्डिङमा बद्लिएकाछन् । भूकम्पले भत्काइदिएको कतिपयका घर भने अझै ठडिन नसकी अचेटिएका छन् टहरोमै । किन समयमा बन्न नसकेको होला उनीहरुको घर ? (घर चिन्तनले घेरेको छ यतिखेर ।)
घर एक संस्था । एक मान्यता । घर जोडिन्छ भौतिक स्वरुपसँग । फेरि उही घर नजिकिदिन्छ, हाम्रो मानसिककतासँग पनि । घरको मान्यता कस्तरी गढी बसेको छ है हामीमा । ख्याल गर्नु भाको छ ?
अनेक अर्थ बोकी हामी छेउ उभिन्छ घर । काठमाडौंका डेरावालहरुको हत्तुहैरानी धेरैले बेहोरेकै हुनुपर्छ । घरवालाहरुको चुरीफुरी धेरैले देखेकै पनि हुनुपर्छ । भाडामा बस्नेका लागि घर कति सारो बोझिलो भइदिन्छ कहिलेकाँही । अनि कहिले भने निकै हलुका । घर नहुनेलाई के छ र जता डेरा सार्यो त्यही घर । हैन र ? तर, डेरै सर्न पनि कहाँ सजिलो छ र । गाह्रो, अप्ठेरो, कचकच सबै सहेरै पनि बसिरहन्छन्, सकेसम्म उही घरमा । पक्कै मन भने खेलाइबस्छन् एउटा सुन्दर डेराको कल्पनामा । जसरी म कल्पना गरिबस्छु बार्दली सहितको एउटा डेरा । जो घरको सबैभन्दा माथिल्लो तल्लामा होस् । कल्पनासम्म न हो पुरा नहुँदा पनि खास फिकर छैन । कहिलेकाँही बसमा चक्रपथ चक्कर लाउँदै गर्दा घरहरु नियाल्छु । सडकबाट परपरसम्म देखिने आफूले कल्पे अनुसारको घर देख्दा खुब आनन्द लाग्छ । बाटो कटाउनी मेलो । आफैसँगको संवाद । अनि कहिलेकाँही यसो साथीबहिनीहरुसँग गफ गर्ने विषय पनि ।
हुन त गफै गर्न विषयको के कमि छ र सहरमा । सम्झन्छु प्रोफेसर थापा (त्रि.वि. केन्द्रीय अंग्रेजी विभाग प्रमुख) । सानो स्वरमा कडा बोल्छन् उनी, ‘देख्नु पर्यो नि, जताततै डिस्कोर्स नै डिस्कोर्स छ हाम्रो समाजमा ।’ प्रसंग चलेको थियो एमफिलको डिस्कोर्स एनालिसिस सत्रमा । सायद उनकै हप्कीपछि अलि बढी चनाखो हुन थालेकी हुँ समाजमा चलिरहने अनगिन्ती डिस्कोर्स र विषयहरुमा । वास्तवमा ‘घर’ पनि त एक डिस्कोर्स नै रहेछ । घर हुने र नहुने बारे डिस्कोर्स । घरवार हुने र नहुने बारे झन् कडा छ डिस्कोर्स । घर या घरवार आफैँमा एक निरंकुश मान्यता हो पनि भन्न भ्याइदिन्छन्, कतिपय उत्तराधुनिक चिन्तनमा तल्लिन युवा (बृद्धबृद्धा पनि) । (किनकि आजकल एक्लै बस्नेको जमात बाक्लिदो छ)
(बोर लाग्न सक्छ यहाँहरुलाई मेरा छरपष्ट कुरा । के गर्नु त आजकल मगजमा यस्तै अनेकअनेक कुरा गज्याङगुजुङ खेलिबस्छन् ।)
हुन त छरिएर पनि कहाँ पो पुगिदो रहेछ र ? घुमीफिरी एकै ठाउँ । धरातल, परिवेश सबै त उस्तै छन् । हाम्रा पीडा र भोगाइका लहरहरु कतै न कतै जोडिन्छन् । जसरी यी श्रमिक दाजुलाई पिरलो छ, घरको उस्तै त छ मेरी आमालाई पनि । आमा बेलाबखत कुरो कोट्याउँछिन् । छिमेकी बजैको घटना ताजै छ । भूकम्पले भत्काएको घर बनेपछि सजिलो गरी बसौँला भन्दाभन्दै एकरात साँघुरो टहरामा उनले सास छाडिन् । बिहान मात्रै थाहा पाएछन् परिवारले । कति सजिलै फुसुक्कै फुस्किन सक्ने है यो अभरिलो सास । सजिलोसँग नयाँ घरमा बस्ने कल्पना मनैमा गाँठो पारी गइन् ती आमै । सायद धेरैको घरहरुको कल्पना उसै गरी गाँठो परी बसिरहन्छ होला मनमा । मेरी आमाको मनमा पनि त्यस्तै एउटा गाँठो होला । सत्य भन्नुपर्दा भूकम्पले ढालेको मेरो घर पनि त अझै बन्न सकेको छैन । त्यसैले पनि हो कि, मेरी आमाको छट्पटी बढ्दो छ । सजिलो रैनछ, घर बनाउन ।
तर, धेरैले कल्पन भने छाडेका छैनन् ।
लाग्छ एकदिन त अवस्य नै बन्नेछन् हाम्रा घरहरु ।