रासस बलियो हुँदा मिडियामा सकारात्मक प्रभाव पर्छ: कानूनमन्त्री

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
रुपन्देही

प्रदेश नं ५ का राससकर्मीका लागि आयोजित तीनदिने क्षमता विकास तालीम बुटवलमा सोमबारदेखि शुरु भएको छ ।

राष्ट्रिय समाचार समिति प्रदेश नं ५ बुटवलको आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा शुरु भएको तीनदिने तालीम उद्घाटन गर्दै प्रदेश आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीले रासस बलियो हुँदा मिडियामा सकारात्मक प्रभाव पर्ने बताए । ‘रासससँग सबै मिडिया जोडिएको हुँदा सकारात्मक विषयलाई महत्व दिएर सम्प्रेषण गर्न आवश्यक छ’, उनले भने ।

राष्ट्रिय  विषयमा बहस हुँदा मिडियाले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउँदै मन्त्रीले पत्रकारले पनि विधागत हिसाबले समाचार संकलन गर्ने विषयलाई प्राथमिकता दिन आवश्यक रहेको बताए । उनले थपे,’कुनै बेला सरकार र मिडियाबीचमा विभिन्न कारण दूरी बढ्छ । सरकार र मिडियाबीचमा ग्याप हुन नदिन राससले प्रमुख भूमिका खेल्नुपर्छ । ‘

उत्पादन र प्रसारणको विन्दु एउटै नहुँदा समस्या आउने भएकाले प्रदेशस्तरबाटै मिडिया सञ्चालन आवश्यक रहेको मन्त्रीको भनाइ थियो । मन्त्री केसीले प्रदेश र स्थानीय तहले गरेका कामलाई स्थानीय नागरिकसम्म पुर्‍याउनका लागि सकारात्मक भूमिका खेल्न राससकर्मीलाई आग्रह गरे । उनले थपे, ‘ संघीय सरकारले एउटा दृष्टिकोण दियो भने काँध थाप्न हामी तयार छौँ । यसको मोडल कस्तो बनाउँदा राम्रो हुन्छ भन्नेबारे धारणा बनाउन जरुरी छ ।’

रासस बुलेटिन प्रदेशबाट आउने

कार्यक्रममा राससका अध्यक्ष श्यामल अधिकारीले रासस बलियो भए मात्र राज्य बलियो हुने बताए । उनले स्थानीय तहसम्म राससको गुणस्तरीय सेवा प्रदान गर्न प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउँदै यसबाट सरकारलाई नै फाइदा पुग्ने विचार व्यक्त गरे । ‘ हामीले प्रदेश नं ५ बाटै राससको बुलेटिन शुरु गर्ने तयारी गरेका छौँ । यसले प्रदेश सरकारका गतिविधि जनतासम्म पुर्‍याउन मद्दत गर्छ’, उनले भने ।

अध्यक्ष अधिकारीले राससले सरकार र जनताबीचमा पुलको काम गरेकाले यसलाई कमजोर नसम्झन आग्रह गरे । उनले राससका प्रदेशस्तरका सञ्चारकर्मीको प्रतिस्पर्धी क्षमता विकास गर्न जरुरी रहेकाले त्यसमा सहयोग गर्न प्रदेश सरकारलाई आग्रह गरे । अध्यक्ष अधिकारीले राज्यलाई बलियो बनाउन निर्भीक र निडर भएर काम गर्न राससकर्मीलाई सुझाव पनि दिए ।

राससका महाप्रबन्धक ओपेन्द्र शर्माले रासस मिडियाको पनि मिडिया भएकाले यसलाई तल्लो तहसम्म विस्तार गर्ने योजना बनाइएको बताए । समाचार बैंकका रुपमा स्थापित राससका सेवा विस्तार गर्ने क्रममा प्रदेशस्तरबाटै समाचार बुलेटिन निकाल्ने गरी तयारी गरिएको शर्माले जानकारी दिए । राससको सेवा प्रभावकारी र गुणस्तरीय बनाएर सबै प्रदेशबाट बुलेटिन सञ्चालन गर्ने योजना रहेको उनको भनाइ थियो ।

राससका पूर्वअध्यक्ष बालकृष्ण चापागाईँले राससका समाचार आधिकारिक र सन्तुलित हुने भएकाले यसको महत्व बढेको बताए । उनले राससको सेवा सुदृढ गर्दै प्रदेश संरचनालाई बलियो बनाउन प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकारका काम जनतासामु लैजाने महत्वपूर्ण काम राससले गरेको जनाउँदै उनले अब राससको औचित्यमाथि प्रश्न खडा गर्ने कसैको हैसियत नभएको स्पष्ट पारे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रेस सल्लाहकार शेरबहादुर केसीले राससले प्रादेशिक ढाँचामा काम गरिरहनुपर्दा प्रदेश सरकारका प्राथमिकता र यसले गर्न खोजेको के हो  भन्ने विषयमा रिपोर्टिङ गर्न जरुरी रहेको बताए ।

राससका प्रदेश प्रमुख भरत केसीले प्रदेश र स्थानीय तहका समाचारकर्मीले नयाँ विषय उठाई समाचार संकलन गर्न आवश्यक रहेको बताए ।  तालीममा प्रदेश नं ५ का १२  जिल्लाका ३० पत्रकार सहभागी छन् । तालीममा वरिष्ठ पत्रकार हस्त गुरुङ र गोपाल गुरागाईँ, राससका सम्पादक हरि लामिछाने र नारायणप्रसाद न्यौपानेले  विभिन्न विषयमा प्रशिक्षण दिनेछन् ।

तपाईको प्रतिक्रिया