गुम्बाकाे पुनःनिर्माण कहिले हुन्छ ?

बनेपा

टनचोकका रामबहादुर लामा (तामाङ) ले गुम्बाभित्र पूजापाठ गर्न नपाएको साढे चार वर्ष भयो । पहिले पहिले सधैँ बिहान र बेलुका नियमित रुपमा बाजागाजासहित मोलम पाठ गरेर पूजा गर्ने उनले हिजोआज भत्केको गुम्बाको भग्नावशेष नजिकै बनाएको टहराभित्र पूजा गर्दै आएका छन् ।

२०७२ सालको भूकम्पले गुम्बा भत्किएपछि निर्माण गरिएको टहराभित्र बुद्ध मुर्ति राखिएका छन् । साढे चार वर्ष बितिसक्दा पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गुम्बा पुनःनिर्माणको कामलाई तीव्रता नदिँदा क्षतिग्रस्त गुम्बाहरु पुनःनिर्माण हुन सकेको छैन । ‘आफैँ बनाउ पैसा छैन, नबनाउ पूजापाठ गर्ने ठाउँ नै छैन’, प्रमुख लामा रामबहादुरले भने, ‘के गर्ने भन्नेमा कुनै सोच बनाउन सकेको छैन ।’

बनेपा नगरपालिका- ३ टनचोकमा रहेको पेमा छ्योइलिङ गुम्बा भूकम्पले जगैदेखि भत्कियो । पुनःनिर्माण प्राधिकरणका इञ्जिनीयरले भत्काउन सुझाव दिएपछि भत्किएका गुम्बाको अवशेषहरु हटाउने कार्य भयो । अहिले गुम्बा भएको ठाउँमा ढुङ्गाको थुप्रो मात्र रहेको छ ।
गुम्बामा तात्कालिन जिल्ला शिक्षा कार्यालय काभ्रेपलाञ्चोकबाट २०६३ सालमा गुम्बा शिक्षा अन्र्तगत पेमा छ्योइङि प्राथमिक विद्यालयको नाममा दर्ता गरेर बौद्ध शिक्षासमेत दिइदै आएको थियो । गुम्बामा २५ जना विद्यार्थीहरु अध्ययनरत थिए । भूकम्पले भवन भत्किएपछि विद्यार्थीलाई नजिकैको प्रभात आधारभूत विद्यालयमा भर्ना गरिदिएको र विद्यालय समेत त्यहीँ गाभिदिएको प्रमुख लामाले बताए ।

‘गुम्बा समुदायस्तरबाट बनाउन सक्ने अवस्थामा छैनौं’, लामाले भने, ‘बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिमा सम्पर्क गर्दा सबै विवरण प्राविधिक कार्यालयमा पठाइएको र प्रविधिकले हेरेपछि काम हुन्छ भन्ने आश्वासन मात्रै पाउँछौं ।’

लामाका अनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा समस्या राख्दा पहिला शहरका ठूला गुम्बाहरु निर्माण गरेपछि गाउँका गुम्बाहरुलाई हेर्ने भनेपछि उनी प्राधिकरणसँग आक्रोसित छन् ।

पहिले गाविसको सिफारिससहित पेश गरेको निवेदनमा कागजपत्र नपुगेको भनेपछि पछि पुनः नगरपालिका र वडा कार्यालयबाट आवश्यक सिफारिस र कागजात लगेर पेश गरिसकेको भएपनि अझै कुनै प्रतिक्रिया नआएको प्रमुख लामा रामबहादुरले जानकारी दिए ।

एक सय वर्ष नाघेका मठ, मन्दिर र गुम्बाहरु पुरातात्विक महत्वका हुने हुँदा गुम्बाका विवरणहरु, फोटो सबै भने बमोजिम पेश गरिए पनि अझै कुनै प्रतिक्रिया नआएकोमा उनी गुनासो गर्छन् ।

लामाका अनुसार वि.सं. १८०१ सालमा स्थापना भएको गुम्बा २७६ वर्ष पुरानो हो । यति धेरै पुरानो गुम्बाको संरक्षण गर्नु राज्यको दायित्व भए पनि पटकपटक राज्यका निकायहरुमा गएर हारगुहार गर्दा पनि सुनुवाइ नभएको स्थानीयवासी बताउँछन् ।

त्यसैगरी खानीखोला गाउँपालिका- ६ स्थित शक्तिशुभ मंगल गुम्बाका प्रमुख लामा रामबहादुर लोप्चन अझै गुम्बा भवन निर्माणको सम्झौता नभएको बताउँछन् । ‘हाम्रो गुम्बाको भवन नै निर्माण गर्नुपर्ने भएकोले अलि पछि मात्रै हुन्छ भन्ने कुरा भएको छ, त्यसैले अहिलेसम्म प्राविधिक कोही पनि आएको छैन’, उनले भने, ‘त्यसका लागि पटकपटक पुनःनिर्माण प्राधिकरण धाउँदै आएको छु, अझै पनि बजेट प्राप्त भएको छैन ।’
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) काभ्रेपलाञ्चोकका निमित्त प्रमुख गणेश घिमिरेले भने आठवटा गुम्बाको सम्झौता भैसकेको जानकारी दिए । ‘जिल्लामा २०७२ को भूकम्पले क्षति पुगेको गुम्बा पुनःनिर्माणको काम अगाडि बढिसकेको छ’, प्रखुख घिमिरेले भने, ‘अरु पनि हुने क्रममा छन् ।’

जिल्लामा गुम्बा पुनःनिर्माणका लागि पाँचवटा समूहमा वर्गीकरण गरी ११२ वटा गुम्बा लाभग्राहीको सूचीमा सूचीकृत भएका छन् । तीमध्ये एक गे्रडमा २० वटा, दुई ग्रेडमा १३ वटा, तीन ग्रेडमा १५ वटा, चार ग्रेडमा १६ वटा र पाँच ग्रेडमा ४८ वटा गुम्बा परेका छन् ।

कार्यालयका अनुसार ग्रेड एकदेखि तीनसम्मको गुम्बा मर्मत्मा मात्र पर्ने र ग्रेड चार र पाँचको मात्रै पुनःनिर्माणमा पर्छन् । ती मध्ये ग्रेड चार र पाँचमा पर्ने गुम्बाले मात्रै सम्झौता गरेर काम गर्न पाउने कार्यालयले जनाइएको छ ।

बाँकी गुम्बाहरुको हकमा सम्बन्धित गाउँपालिकाले लागत सहभागितालाई सुनिश्चित गरेर आएको खण्डमा ग्रेड र पहिलो गुम्बा निर्माण भएको प्रकृतिका आधारमा रकम पाउने व्यवस्था निर्धारण गरिएको जनाइएको छ ।

घिमिरेका अनुसार त्यसरी आएका गुम्बाले एक ग्रेडका लागि तीन लाख, दुई ग्रेडका लागि एक तलाको भए पाँच लाख र दुई तलाको भए १० लाख तथा तीन गे्रेडका लागि एक तलाका लागि १० लाख र दुई तलाभन्दा बढी भएमा २५ लाखसम्मको अनुदान पाउने व्यवस्था रहेको छ । चार र पाँच ग्रेडका गुम्बाको हकमा भने कस्तो प्रकृतिको बनाउने र कतिको बनाउने भन्ने निश्चित गरेर जति पनि लागतको बनाउन सकिने तर त्यसका लागि सम्बन्धित गुम्बा र प्राधिकरणले ५०/५० प्रतिशत लागत व्यहोर्ने गरी पुनःनिर्माण गर्न सकिने जनाएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका