तामाङ भाषा र लिपि : अुछेन सम्भोटा वैकल्पिक तामाङ लिपिको अवधारणागत प्रस्तुति

काठमाडाैं

भाषा कुनै पनि समुदायलाई चिनाउने र बुझाउने महत्वपूर्ण माध्यम हो । भाषासँग सभ्यता, इतिहास, पहिचान, वर्तमान र भविष्य समेत गाँसिएको हुन्छ । यस अर्थमा भाषा मानव जीवनको अमुल्य वरदान पनि हो ।

आज हामीले बोलिरहेको भाषा हाम्रो पूर्खाको विरासत हो । यसैको आधारशिलामा हाम्रा मूल्य र मान्यताहरुले पूर्णता पाएका छन् । यसको संरक्षण र सवद्र्धन गर्नु सबैको दायित्व हुन आउँछ । यसै परिप्रेक्ष्यमा तामाङ भाषाको पठनपाठन र अनुसन्धानमा लामो समयदेखि लागि परेका भाषिक अभियन्ता तथा सञ्चारकर्मी प्रतीक ङेसुर तामाङद्वारा लिखित ‘तामाङ भाषा र लिपि’ नामक पुस्तक बजारमा आएको छ । पुस्तकलाई तामाङ भाषा लिपि विकास केन्द्रले प्रकाशन गरेको हो ।

प्रस्तुत पुस्तकमा दुई खण्डमा रहेका छन् । पहिलो खण्डमा भाषा, लिपिको अवधारणा, अुछेन लिपि, थोन्मी सम्बोटाको परिचय, तामाङ भाषा, लेख्य परम्परा, तामयिगको अवधारणा, वर्ण पहिचान, सरल लेखनशैली, प्रयोग र अभ्यास, विकास र अवरोध, निष्कर्ष सहित अबको बाटोको बारेमा संक्षिप्त विश्लेषणात्मक चर्चा गरेका छन् । यसैगरी दोस्रो खण्डमा तामाङ भाषाका लागि प्रयोग गरिएका व्यन्जन वर्णहरु, लेखन विधि अन्र्तगत सङयुक्त व्यन्जन बनाउने तरिका, तामाङ शब्द र अर्थ, तामाङ मौलिक शब्दहरु, शब्दोच्चारण अभ्यास, तिब्बती व्याकरण अनुसार लेखिएका तामाङ शब्दहरु, ल्होको नामहरु, तामाङ महिनाहरु, तिब्बती भाषामा प्रयोग भएका जान्नुपर्ने केही व्याकरण र छ्योअीमा बारम्बार प्रयोग हुने केही शब्दहरुलाई उल्लेख गरेका छन् ।

तामाङ भाषालाई लिपिमा ढाल्ने नयाँ पुस्ताको सपना जिउँदै मरितुल्य बनाएको छ । भाषिक चेतमा आएको जागरणले आज छब्बीस वर्ष नाघिसकेको छ । यद्यपि कुन चाहिँ लिपि भन्ने विषयमा अलमल अझै कायमै छ । यो विचलनको अवस्थालाई सुरक्षित अवतरण गर्ने गरी संस्थागत र तामाङ बुद्धिजीविहरुबाट भरपर्दाे प्रयास भएको देखिदैन ।

मानव सभ्यताको विकास क्रममा लेखनकलाको महत्वपूर्ण भूमिका रहेको छ । कति सम्म भने भाषाको उत्पति नहुँदै मानिसले आफ्नो भावना व्यक्त गर्न चित्रकला लगायतको अभ्यास गर्दथे । कालन्तरमा चित्रात्मक, अक्षरात्मक र ध्वन्यात्मक गरी तीन किसिमको लिपिको विकास भएको मानिन्छ । मानव सभ्यताको विकासको क्रमसँगै लिपिको विकास अगावै थुप्रै भाषाहरु अस्तीत्वमा आइसकेको कुरालाई लेखकले अघि सारेका छन् । जस अनुसार भाषाको आवश्यकताले लिपिको विकास भएको कुरालाई जोड दिदै भारत वर्षको सन्दर्भमा ब्राह्मी लिपिलाई प्रारम्भिक लिपि रहेको र यसलाई धम्मलिपि पनि भन्ने गरेको तथ्य सहित विभिन्न भाषाका लागि अस्तीत्वमा आएका लिपिहरुलाई पुस्तकमा चर्चा गरेका छन् । नेपालमा विभिन्न लिपिहरुका प्रयोग हुँदै आएपनि राज्यको सरकारी कामकाजको भाषा खस नेपाली देवनागरी लिपि राज्यकै संरक्षण पाएकाले यो लिपिले व्यापकता पाएको तथ्यलाई अघि सारेका छन् । यस अर्थमा कुनै पनि भाषा लिपिबद्ध भएर बाँच्न संरक्षणको आवश्यकता रहेको तर्कलाई जोड पुग्दछ । आज नेपालका थुप्रै भाषाहरु देवनागरी लिपिमा लेखिएका छन् । जसले गर्दा देवनागरी लिपि थुप्रै भाषाभाषीहरुको साझा लिपिका रुपमा स्थापित भएको तथ्यलाई लेखकले प्रस्तुत गरेका छन् ।

तामाङ शब्दले समुदाय र भाषा दुबैलाई बुझाउँछ । वक्ताको हिसाबले कुल तामाङको जनसंङख्याको ८७.८८ प्रतिशतले तामाङ भाषा अर्थात मातृभाषाप्रति प्रतिबद्ध छन् । जुन अन्य समुदायको तुलनामा सबैभन्दा उच्च हो । पछिल्लो राष्ट्रिय जनगणना अनुसार ७० जिल्लामा तामाङ भाषाको वक्ता रहेको लगायतका तथ्यलाई पुस्तकमा समेटिएको छ । जसले गर्दा भाषिक रुपमा तामाङ जातिको अवस्थितिलाई पुस्तकले उजागर गरेको छ । तथ्याङ्कको पक्षबाट विश्लेषण गर्ने हो भने पनि तामाङ भाषा समृद्ध भाषा हो । यद्यपि यसको लेखन पक्षबाट आशतीत विकास हुन नसक्नु उदेक लाग्दो कुरा घटनाक्रमको फेरहस्तिले बताउँछ । मौलिक लेखनको लिपिको खोजमा होस् या अन्य कारणले आजको दिनसम्म पनि लेखन लागि ठोस लिपि विकास गरी लेखनले लय समाउन नसकिरहेको तीतो सत्यलाई पुस्तकले विश्लेषण गर्ने जमर्काे गरेको छ । हालसम्म भए गरेका तामयिगको अवधारणा लगायतका लेख्य परम्परालाई पुस्तकमा वर्णन गरेका छन् ।

भाषा र लिपि नितान्त फरक विषय हुन् । यो प्राविधिक विषय पनि हो । जुन विज्ञान सम्मत छ । यसैले प्रस्तुत पुस्तकलाई भाषा विज्ञानको पक्ष भन्दा पनि तामाङ समुदायमा लिपिको सान्दर्भिकता तत् सम्बन्धि पुस्तकमा उठाएका विषय केन्द्रित रहेर समीक्षा गर्ने जमर्काे गरिएको छ । कुनै पनि भाषा जीवित हुनको लागि भाषा बोलिनु पर्छ । जब बोल्छ भाषाले पूर्णता पाउँछ । सँगैसँगै भाषासँग टाँसिएर आउने सम्बन्धित जातिको कला, संस्कृति, साहित्य तथा सामाजिक व्यवहारहरुले पनि । यद्यपि भाषा विज्ञानमा भाषा बाँच्नको लागि बोलेर मात्र हुँदैन त्यसलाई लिपिबद्ध गर्ने संयन्त्र लिपिकोे पनि विकास हुनु पर्छ । यदि यसो नगर्ने हो भने समय अन्तरालमा भाषामा भाषिक विचलन तथा अन्य बाह्य अन्य कारणले गर्दा भाषाको मृत्यु हुन सक्दछ ।

नेपालको सन्दर्भमा पनि थुप्रै भाषाहरु मृत भाषामा परिणत भइसकेका छन् । इतिहासको कालखण्डमा मातृभाषाहरुलाई मास्न तत्कालिन राज्यसंयन्त्रले धृष्टता नगरेका होइन तरपनि हाम्रा पूर्खाहरुले भाषालाई विरासतको रुपमा बचाइ राख्यो । जुन हाम्रो लागि सभ्यतासँग नजीक हुने अवसर पाएको छ । यति मात्र होइन पहिचानको मुद्दामा भाषा दरिलो सहारा भएको छ । यसै सन्दर्भमा प्रस्तुत पुस्तकमा लेखकले आफ्नो भाषाप्रतिको मोहले तामाङ भाषाको लिपिलाई तामाङ समाजमा स्थापित गर्ने अभियानको रुपमा पुस्तकलाई अघि सारेका छन् । यसो त लेखकले लामो समय भाषा प्रशिक्षणको दौरान भोगे गरेका भाषागत प्राविधिक जटिलताको अनुभव र भाषिक आन्दोलनको दुरीलाई पनि राम्रैसँग नापेका छन् । यसैले लेखकले भाषिक जटीलतालाई सहकार्य गरेर अघि बढन सकिने संभावनालाई खुल्ला गरेको देखिन्छ ।

पुस्तकले अुछेन सम्बोटा लिपिको विकल्पलाई अवधारणागत रूपमा अघि बढाएर तामाङ जनजिब्रोलाई उपयुक्त हुने वर्णहरुको विकास गर्न खोजिएको छ ।

तामाङ भाषाको लिपिको विकासमा धेरै थरी धारहरु देखिए । सबैले मौलिकताका कुराहरु उठाए । कति तिब्बतीकरणको खेमामा दरिए । भाषाको बारेमा थोरै पनि ज्ञान नहुनेहरु आफनै प्रकारको अडान बोकेर उत्रिए । जसले गर्दा स्वस्थ्य बहस हुन सकेन । यसको प्रत्यक्ष अप्रत्यक्ष रुपमा सिङ्गो समुदाय बन्दी बनाएर राखेको तीतो सत्य आजको दिनसम्म पनि कायमै छ । राम्रो कुरालाई राम्रो भएर पनि स्वीकार गर्न नसक्नु अझ विडम्बनाको कुरा देखिन्छ । यसले भाषालाई लिपिमा ढाल्ने नयाँ पुस्ताको सपना जिउँदै मरितुल्य बनाएको छ । भाषिक चेतमा आएको जागरणले आज छब्बीस वर्ष नाघिसकेको छ । यद्यपि कुन चाहिँ लिपि भन्ने विषयमा अलमल अझै कायमै छ । यो विचलनको अवस्थालाई सुरक्षित अवतरण गर्ने गरी संस्थागत र तामाङ बुद्धिजीविहरुबाट भरपर्दाे प्रयास भएको देखिदैन । यो अर्थमा प्रस्तुत पुस्तकले धेरै त्यस्ता ठाउँहरुमा सम्बोधन गर्न खोजेको देखिन्छ । पुस्तकले एउटा बहसलाई पनि अघि सार्न खोजिएको छ । यदि यसो होइन भने अर्काे के त ? विकल्पको लागि पनि तयार देखिन्छ । यसलाई सकारात्मक रुपमा लिन सकिन्छ । पुस्तकले अुछेन सम्बोटा लिपिको विकल्पलाई अवधारणागत रूपमा अघि बढाएर तामाङ जनजिब्रोलाई उपयुक्त हुने वर्णहरुको विकास गर्न खोजिएको छ ।

कुनै पनि भाषाको लेखन पद्धतिको विकास हुन लामो समयको अभ्यास जरुरी हुन्छ । यसको लागि भाषाको बैज्ञानिक पक्ष र समुदायसँगको सामीप्यतालाई नजिकबाट विश्लेषण गर्नुपर्छ । यो प्रक्रिया त्यति गाहे पनि होइन । यो स्वभाविक प्रक्रियाबाट हुन्छ नै । तर निश्चित ढाँचामा रहेर स्वस्थ्य वहस र विश्लेषणको अभावमा यी प्रक्रियाहरु अवरुद्ध भइरहेको अवस्था छ । यसले समुदायसँग सम्बन्धित प्राप्त दस्तावेजहरु अभिलेखहरुले लिपिबद्ध हुने सुनौलो अवसरहरु क्षीण हुँदै गएको कुरालाई पुस्तकमा टड्कारो रुपमा औल्याएको छ । जुन पुस्तक प्रकाशनको पक्षबाट महत्वपूर्ण मान्न सकिन्छ । त्यति मात्र होइन लेखकले स्थापित गर्न खोजेको लिपि र त्यसको सरल लेखन विधिलाई पुस्तकमा उतारेका छन् । जसले गर्दा पुस्तक सिकारुहरुको लागि महत्वपूर्ण अध्ययन समाग्री बन्न पुगेको छ । सबैभन्दा ठूलो सरोकारको विषय भन्नु नै तामाङ भाषालाई लिपिबद्ध गर्ने भन्ने हो । यसको लागि प्रस्तुत पुस्तकमा अघि सारिएको लिपिलाई सर्वमान्य हिसाबले स्थापित गर्न चुनौति र अवसर दुबै देखिन्छ । यो अभियान एक व्यक्ति विशेषको प्रयासले मात्र पनि संभव हुने भन्दा पनि संस्थागत अग्रसरता हुनु जरुरी देखिन्छ ।

तपाईको प्रतिक्रिया