कान्तिपुर टेलिभिजनबाट स्ट्यान्डप कमेडी (हास्यप्रधान) कार्यक्रम ‘कमेडी च्याम्पियन’ प्रशारण हुने भएको छ । यो वर्षको गाईजात्रा छेका पारेर आगामी भाद्रबाट प्रसारण गर्न लागेको हो ।
प्रतियोगिता मुलक यो कमेडी रियालिटी शोलाई ‘३ प्रोडक्सन’ले निर्माण गर्न लागेको हो । कार्यक्रमका निर्देशक बिशाल भण्डारीले बिहिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गरी आफु अब अडिसनको तयारीमा रहेको जानकारी गराए ।
भण्डारीका अनुसार यो प्रतियोगितामा बरिष्ठ हाँस्यब्यग्य अभिनेता सन्तोष पन्त, हास्य अभिनेता मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायक रहनेछन् ।
बिदेशी हास्य कार्यक्रमको यो कुनै फ्रेन्चाईज नभएको पुष्टी गर्दै यसमा सहभागिता जनाउने बारे आयोजक एवम् निर्देशक भण्डारीले भने, ‘यो कार्यक्रममा भाग लिन गुगल प्लेस्टोरमा गएर कमेडी च्यम्पिएनको एप्स मोवाईलमा डाउनलोड गर्नुपर्नेछ । त्यसपछि नेपालबाट सम्पादन नगरिएको ३ मिनटको स्ट्यान्डप कमेडी भिडियो र बिदेशबाट ५ मिनटको सम्पादन नभएको स्ट्यान्डप कमेडी भिडियो आयोजक पक्षलाई पठाउनु पर्नेछ ।’ यिनै भिडियोलाई हेरेर निर्णयकले चयन गरेको आधारमा उत्कृष्ट भएकाहरुले विभिन्न शहरमा कमेडी च्यम्पिएनसीपको अडिसन आफुहरु सहभागी हुन पाउनेछन् ।
कमेडी च्याम्पियनको उपाधि बिजेताले एउटा कार र २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
यो कार्यक्रममा अभिनेत्री तथा नेपाल आईडलकी सञ्चालिक रिमा विश्वकर्माले सञ्चालन गर्नेछिन् । सान थापाले लेख्ने यो कमेडी च्याम्पिएनको निर्मातामा अभिनेत्री केकी अधिकारी सहित राज घिमिरे र सृजा थपलिया रहने छन् ।
निर्माता एवम् अभिनेत्री केकी अधिकारीले कसैलाई मानहानी नहुने गरी यो नेपालको उच्चस्तरीय स्ट्यम्पड कमेडी आफुहरुले बनाउने पनि कार्यक्रममा बताईन् ।
बरिष्ठ हाँस्यब्यग्य कलाकार एवम् निर्णयक सन्तोष पन्तले आफुहरुको पालामा भन्दा अहिले कमेडी सेन्स दर्शक र कलाकारमा धेरै बढेको बताए ।
यसैगरी बरिष्ठ हाँस्यव्यग्य अभिनेता एवं निर्णायक मनोज गजुरेलले अहिलेको पुस्ताको चाहना अनुसारको कमेडी कार्यक्रम बन्ने विश्वास सो कार्यक्रममा व्यक्त गरे । निर्णायक एवम् अभिनेत्री ऋचा शर्माले पनि नेपाली स्ट्यान्डप कमेडीमा यो पहिलो नम्बरको कार्यक्रम बन्ने बताईन् ।
अर्का निर्णायक प्रदीप भट्टराईले यो कार्यक्रममा धेरै राम्रा कमेडियन जन्माउने विश्वास सो कार्यक्रममा व्यक्त गरे ।