ताप्लेजुङको मिक्वाखोला गाउँपालिका- ५ पापुङका वडाध्यक्ष डण्डु शेर्पाले पाउने सेवा सुविधा सामाजिक काममा खर्चिने भएको छ । उनले पाउने मासिक रुपमा पाउने पारिश्रमिक र भत्ता रकम सामाजिक कार्यमा खर्च गरिने र अब बाँकी कार्यकालको सेवा सुविधा नलिने वडाध्यक्ष शेर्पाले घोषणा गरे ।
दैनिक भ्रमणभत्ता लिँदै नलिई गाउँको विकासमा खर्च गर्ने र पारिश्रमिकबापत पाएको रकमले आफ्नो गाउँपालिकाभित्रका ७० वर्षमाथिका वृद्धवृद्धालाई न्यानो कपडा खरीद गरी वितरण गर्ने उनको भनाइ छ । ‘गाउँसभा चल्दै थियो, सबै जनप्रतिनिधिले सेवा सुविधा कम भयो भनेर गुनासो गरिरहेका थिए, तर मलाई चित्त दुखिरहेको थियो कि जनताले केही गरोस् भनेर जिताएर पठाएका हामीले नै सेवा सुविधा पुगेन भन्दै उनीहरुकै टाउकोमा ऋणको भार थपिरहेका छौँ भनेर, त्यहिबेला सेवा सुविधा नलिने भनेर निधो गरेको हूँ’, वडाध्यक्ष शेर्पाले भने ।
जनताको सेवा गर्न चुनिएको जनप्रतिनिधिले तिनै जनता र राज्यलाई नै ऋणको भार थपिने गरी सुविधा उपभोग गर्नु आफ्ना लागि उचित नभएको उनको भनाई छ । यस्तै मासिक रूपमा पाउने पारिश्रमिक बापतको रकमले वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्नुका साथै आफ्नो वडाभित्रका विभिन्न शैक्षिक संस्थाका कार्यालय सहयोगीको तलब भत्तामा थप गरी दिने तयारी गरेको शेर्पाले बताए ।