प्रतिष्ठानले साहित्यकार श्रेष्ठलाई सम्मान गर्ने

काठमाडाैं

धौलागिरी साहित्य प्रतिष्ठान बागलुङले साहित्यकार श्रीराम श्रेष्ठलाई सम्मान गर्ने भएको छ । यस वर्षको सरस्वती साहित्य पुरस्कार २०७६ श्रेष्ठलाई प्रदान गर्ने प्रतिष्ठानले जानकारी दिए ।
प्रतिष्ठानका अध्यक्ष काजी रोशनका अनुसार असार २९ गते भानुजयन्तीको अवसरमा बागलुङमा साहित्यिक कार्यक्रमबीच उनलाई पुरस्कृत गरिनेछ ।

नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं साहित्यकार श्रेष्ठलाई साहित्यको क्षेत्रमा योगदानको मुल्यांकन गर्दै सम्मान गर्न लागेको प्रतिष्ठानले जनाएको छ ।

साहित्यकार श्रेष्ठको ट्राफिक जाम, जीवन र विज्ञान, जिजिविषामा बाँच्ने मान्छेहरु, चिनारी, नुवाकोटको जनजीवन एक अध्ययन, केराको थाम, अनुभूति अनेक, भूकम्पको चाङ, रुखकटहर, गोरुजुधाई, आत्तिएको सडक, आगोको लप्का लगायतका कृतिहरु प्रकाशित छन् ।

यसअघि उनी बीडी त्यागी साहित्य सम्मान, मातृभूमी साहित्य सम्मान, ज्योति, दाङ साहित्य सम्मान, अन्तर्रा्ष्ट्रिय साहित्य सम्मान, बिष्णुपुष्प साहित्य सम्मान, भानुभक्त आचार्य स्मृति सम्मान, मुरारीदेवी स्मृति सम्मान, भक्तबहादुर घले जनजाती पुरस्कार लगायत दुई दर्जनभन्दा बढी पुरस्कार र साहित्य सम्मानबाट सम्मानित भइसकेको छ ।

उनले कविता, हाईकु, ताङका, सिजो, मुक्तक गीत, लघुकथा, समीक्षा, समालोचना, यात्रा स्मरण, निबन्ध, अनुसन्धानमुलक विधामा कलम चलाएका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका