लालबन्दीमा तामाङ सांस्कृतिक प्रशिक्षण

सर्लाही

सर्लाहीको लालबन्दीमा तामाङ रीतिरिवाज र संस्कृतिसम्बन्धी एक दिने जानकारीमूलक प्रशिक्षण सम्पन्न भएको छ । शुक्रबार डिम जनता उच्च माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न प्रशिक्षण लालबन्दी नगरपालिका वडा नं. १५ परवानीपुरले लक्षित वर्गका लागि विनियोजित बजेट मार्फत् दिइएको हो ।

‘तामाङ संस्कार, संस्कृति र रीतिरिवाज लोप हुँदै गईरहेको वर्तमान अवस्थामा वडाको सहयोगले संस्कार, संस्कृति र रीतिरिवाजको महत्व बारे जानकारी मात्र होइन जातीय पहिचानबारे नै जानकारी दिन सम्भव भएको छ’ कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष गोरख बल तामाङ भने, ‘प्रशिक्षणले नयाँ पिढीलाई तामाङ संस्कृतिबारे जानकारीका साथै जगेर्ना कसरी गर्ने ? भन्ने सिकाएको छ ।’

‘प्रशिक्षणले तामाङ समुदायको छेवार, विहे, घेवालगायत सामाजिक कार्यमा गर्दैै आइरहेको रीतिथितिहरु जीवन्त बनाउन सहयोग पुग्नेछ’ नगरपालिकाकी उपप्रमुख शान्ति लामा बताइन्, ‘तामाङ भाषा, संस्कृतिलाई लोप हुन नदिन र भावी पुस्तालाई सिकाउन जरुरी छ ।’

वडाभरिका तामाङहरु सहभागी प्रशिक्षण कार्यक्रममा नेपाल तामाङ घेदुङ भाषा, लिपि र साहित्य विभाग प्रमुख काजिमान थिङ तामाङले प्रशिक्षण दिएको थियो ।

लालबन्दी नगरपालिका वडा नं. १५ का वडाध्यक्ष गोरख बल तामाङको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रमा नेपाल तामाङ घेदुङ प्रदेश नं. २ का सदस्य शुभलाल बोम्जन, समाजसेवी चन्द्रबहादुर स्याङतान, महिला नेतृ छोइसाल ग्लान लगायत उपस्थित रहेका थिए ।

तपाईको प्रतिक्रिया