रोशीका उपाध्यक्षको न्यायिक काम, आफ्नो सुविधाले दुई एम्बुलेन्स खरिद

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाताा
काभ्रे

जनप्रतिनिधिले ‘मानवीय सेवामा कसरी सहयोग पुर्याउनुपर्छ’ भन्ने उदाहरण रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला बनेकी छन् ।

उनले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको बजेटले दुई एम्बुलेन्स खरिद गरी मानवीय सेवामा सहयोग पुर्याएकी छन् । गाउँपालिकाको कार्यपालिका बैठकबाट पारित गरि एम्बुलेन्स खरिद गरिएको जनाइएको छ ।

वडा नं. ५ र ११ मा रहने गरी दुवै वडाका एम्बुलेन्स सञ्चालन समितिका अध्यक्षद्वयलाई आइतबार एक कार्यक्रम बीच संविधानसभा सदस्य तीर्थ लामाले एम्बुलेन्स हस्तान्तरण गरे । सरकारद्वारा कर छुटसहित २१ लाख ५ सय २० रुपैयाँमा दुई एम्बुलेन्स खरिद गरिएको हो ।

ती एम्बुलेन्सबाट रोशी गाउँपालिकाको ३५ हजार बासिन्दाका साथै नमोबुद्ध नगरपालिका, महाभारत गाउँपालिका, तेमाल गाउँपालिका तथा छिमेकी जिल्ला सिन्धुलीको सुनकोशी गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् ।

उपाध्यक्ष बर्तौलाले आफ्नो सुविधाभन्दा पनि पालिकावासीको आवश्यकता मध्यनजर गरी एम्बुलेन्स खरिद गरिएको कार्यक्रममा बताइन् । गाउँपालिकाले उपाध्यक्षलाई गाडी खरिद गर्न गत आर्थिक वर्षमै रु २६ लाख रकम छुट्याएको थियो । गाउँपालिका अध्यक्ष दलबहादुर लामाले उपाध्यक्षले उदाहरणीय काम गरेकोमा खुशी व्यक्त गरे ।

बर्तौलाले गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएदेखि नै गाउँपालिकाको कुनै पनि सवारीसाधन प्रयोग गरेकी छैन । ‘अध्यक्षको गाडी अहिलेसम्मा दुईपटक मात्रै चढेको छु, मैले निर्वाचित भएदेखि नै घरबाट गाउँपालिका कार्यालय आउन जान सार्वजनिक यातायात प्रयोग गर्दै आएको छु’, बर्तौलाले भनिन् । भौगोलिकताले विकट एवं पहाडी भूभाग भएकाले गाउँपालिकाका बासिन्दाले समयमै उपचार पाउन् भन्ने उद्देश्यले आफ्नो सवारी बजेटबाट एम्बुलेन्स खरिद गर्न लगाएको उनले बताइनन् ।

उनले भनिन्, ‘म जनताको सेवा गर्न निर्वा्चित भएकी हुँ, म जहाँ पनि हिँडेर पुग्न सक्छु, तर गर्भवती र बालबालिका तथा वृद्धवृद्धाका लागि समयमै उपचार होस् भन्ने चाहेर आफ्नो गाडीलाई छुट्याइएको रकमबाट एम्बुलेन्स खरिद गर्न लगाएकी हुँ ।’

उपाध्यक्ष बर्तौलाले आफूलाई आउने इन्धन खर्चलाई पनि सामाजिक सेवामै खर्चिएकोे छ । उनलाई वार्षिकरुपमा इन्धनबापत आउने ३ लाख रुपैैयाँ टुहरा तथा अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरिएको छ । हालसम्म १४ विद्यालयका ४८ टुहुरा तथा अपाङ्गता भएका बालबालिकालाई उनीहरुको शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले जनही ६ हजार २ सय ५० रुपैैयाँ सहयोग गरेको उनले जानकारी दिइन् ।

गाउँपालिकाको शिक्षा शाखामार्फत गाउँपालिकामा अवस्थित ६९ सामुदायिक विद्यालयबाट थप टुहुरा तथा अपाङ्गता भएका बालबालिकाको तथ्याङ्क उपलब्ध भयो भने ती बालबालिकालाई क्रमैसँग सहयोग उपलब्ध गराइने उपाध्यक्ष बर्तौलाले बताइन् ।

गाउँपालिकाको न्यायिक समिति अध्यक्षलगायत विभिन्न नौवटा समितिको संयोजकका रुपमा रहेकी गाउँपालिका उपाध्यक्ष बर्तौलाले कुनै पनि बैठकका भत्तासमेत लिँदैनन् । यसअघि पाँचखाल नगरपालिकाले गत आर्थिक वर्षमा १४ वडाध्यक्षलाई सवारीसाधन खरिदका लागि छुट्याइएको बजेटबाट गत असारमा दमकल खरिद गरेको थियो ।

तपाईको प्रतिक्रिया