खप्तड गोल्डकप: गोर्खा ब्वाइज क्वाटरफाइनलमा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
कैलाली

गोर्खा ब्वाइज क्लब खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुटवलको सुनौलो संगमलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै ब्वाइज क्वाटरफाइनल प्रवेश गरेको हो ।

खेल गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट हारजितको टुंगो लगाएका हुन् । गोलकिपर मनोज गुरुङले सुनौलो संगमका खेलाडी मोहन थापाको पेनाल्टी रोकेपछि ब्वाइजको क्वाटरफाइनल यात्रा पक्का भएका थिए ।

टाइब्रेकर ‘पेनाल्टी सुटआउट’ सुनौलो संगमबाट शंकर राई, अजित थापा, रञ्जित थापा, र सफल भए भने मोहन थापाको प्रहार ब्वाइजका किपर गुरुङले रोके । त्यसैगरी ब्वाइजका कप्तान उत्तम गुरुङ,निशान न्यौपाने हरि कठायत, अनिष तामाङ, रन्दिप पौडेलको प्रहार सफल भए ।

खेलको ‘म्यान अफ दी म्याच’ घोषित भएका ब्वाइजका किपर गुरुङले १० हजार रुपैयाँ प्राप्त गरे । यसअघि क्वार्टरफाइनलमा पुगिसकेका हिमालयन शेर्पासँग ब्वाइजको भिडन्त हुनेछन् ।

एपिएफ क्लब, भारतको कन्चनजंगा एफसी र नव जागृती क्लब यसअघि नै क्वार्टरफाइनल पुगिसकेको छन् । त्यस्तै सुदूरपश्चिम-११, महेन्द्र पुलिस क्लब, थ्री स्टार क्लब र संकटा क्लबले सोझै क्वार्टरफाइनलमा प्रवेश पाएका थिए ।

सुदूरपश्चिम-११ स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको मंगलबारबाट क्वार्टरफाइनल खेल शुरु हुने आयोजकले जानकारी दिए । प्रतियोगिताको विजेताले २१ लाख १ रुपैयाँ र दोस्रो हुने टोलीले १० लाख १ रुपैयाँ प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया