सुन्तला गाउँ सिंगानामा मौरीका घारैघार

गलकोट

जिल्लाको बागलुङ नगरपालिका- ८ सिंगाना बाँसबोटका तेजेन्द्र गौतमले जीवनमा धेरै हण्डर ठक्कर खाए । रोजगारीका लागि १० वर्ष भारतको मद्रास बस्यो । ज्याला मजदूरीको त्यो जागिरबाट सन्तुष्ट हुन नसकेर नेपाल फर्केका गौतमले स्वदेशमै पनि जागिर र अरु केही व्यवसाय गर्याे । तर अहिले उनलाई आम्दानीको स्रोत र सन्तुष्टि दिलाएको छ, मौरी पालनले ।

बागलुङको सिंगाना गाउँको पहिचान सुन्तला गाउँ पनि हो । यहाँका सुन्तला नेपालकै स्वादिलो भन्दै सुन्तला मौसममा उपभोक्ताको घुइँचो लाग्ने गर्दछ । तर केही वर्षयता भने तेजेन्द्र गौतम र अरु केही मेहनेती युवाका कारण अहिले त्यो गाउँका घरमा मौरीका घार भरिएका छन् । यसै त सुन्दर सिंगाना गाउँलाई सुन्तलाका बोट र मौरीका घारले सिंगारेर झनै सुन्दर बनाइदिएका छन् ।

गौतम भन्छन्, ‘विदेशबाट फर्किएपछि परिवार पाल्न झनै समस्या भयो, जिल्ला हुलाक कार्यालय बागलुङमा सात वर्ष करारमा हुलाकीको काम पनि गरेँ, अरु सानातिना व्यवसाय गरेँ तर केही भएन । अहिले भने मौरीपालनले जीवन धान्न सजिलो बनाइदिएको मात्र होइन कि एक किसिमलेभन्दा मेरो जीवनमै परिवर्तन ल्याएको महसुस भएको छ ।’

गौतमको गाउँमै केही गर्ने साँेच आयो र पछिल्लो समय मौरीपालन थालेका गौतलाई यही व्यवसायले जीवनमा ठूलो परिवर्त नै ल्याइदिएको छ । अहिले ४० वर्षका गौतमको घर मौरीका घारले ढाकेको छ । उहाँको घरमा अहिले ६० वटा मौरीका घार छन् । उहाँले मह मात्र नभएर मौरीसहितको घार पनि बिक्री गरेर मनग्गे आम्दानी गर्दै आउनुभएको छ । विदेशमा धेरै दुःख र जागिरमा पाएको सकसलाई पूर्णविराम लगाएर थालिएको मौरीपालन व्यवसाय उहाँको आम्दानीको प्रमुख स्रोत बन्दै गएको देखिन्छ । गौतम भन्छन्, ‘बिहानैदेखि रातिसम्म मौरीसँगै रमाउँछु, परिवार नै खटेका छौँ, यसले मलाई आम्दानी र सन्तुष्टि दुवै दिलाएको छ ।’

वि.सं. २०६३ मा तीन वटा परम्परागत (मुढे) घारबाट मौरी पाल्न शुरु गर्नुभएका गौतमले विस्तारै आधुनिक घार थप्दै व्यावसायिकरुपमै मौरीपालन थालिएको थियो । ‘गतवर्ष मसँग १०० घार मौरी थिए’, गौतमले भने, ‘४० घार माहुरीसहितको घार बिक्री गरेँ, अहिले फेरि १०० घार पु¥याउने योजनामा छु, केही महिनामा पुग्छ होला ।’

जङ्गल क्षेत्र प्रशस्त रहेको सिंगानामा मौरीलाई पर्याप्तमात्रामा चरणको व्यवस्था भएकाले मौरीको सङ्ख्या बढेको र यो व्यवसाय फस्टाउँदै गएको गौतमले बताए । सिंगाना मौरीपालनका लागि निकै सम्भावना बोकेको गाउँका रुपमा आफूले पाएको उनको अनुभव छ । मौरीपालनलाई थप व्यवस्थित गर्दै लगेको गौतमको भनाइ छ । ‘जीवनमा धेरै दुःख पाइयो कहिले भारतको मद्रास त कहिले हुलाकमा नोकरी’, उनले भने, ‘मौरी पालनले मेरो जीवनमा धेरै परिवर्तन ग¥यो, विदेश र नोकरीले नदिएको सन्तुष्टि अहिले यसले दिएको छ । ।’ गौतमले अहिले पहाडी भूभागमा पाइने स्थानीय जातको (यतीस शेरेना) जातको माहुरी पाल्दै आएको छ ।

गाउँको हावापानीमा उत्पादन भएको मह अर्गा्निक भएको भन्दै मह किन्ने उपभोक्ता घरमै आउन थालेपछि गौतम यतिखेर दङ्ग छन् । यसै कारण पनि पुनः सय घार मौरी पु¥याउने सोचमा छन् । उत्पादन भएको मह बिक्रीमा कुनै समस्या नभएपछि महलाई व्यावसायिकरुपमा नै बढाउँदै लैजाने सोच आएकोे गौतमले बताउनुभयो । उत्पादन भएको मह गाउँमै खपत हुन्छ अहिले मह र माहुरीसहितको घारसमेत बिक्री गर्दै आएको उनको भनाइ छ ।

मौरीपालनलाई गाउँभरि विस्तार गर्न मौरीका घार फुटाउँदै बिक्री गर्दै आएको गौतमले जानकारी दिए । उनले एक घारबाट एक वर्षमा दुई पटक गरी १० माना मह उत्पादन हुँदै आएको बताए । गाउँमा प्रशस्त चरण क्षेत्र भएकाले उत्पादन भएको मह अर्गा्निक भएको र औषधि उपचारका लागिसमेत मह खरिदका लागि घरमै उपभोक्ता आउने गरेको बताए । उनले मौरीपालनसम्बन्धी धेरै तालिम लिइसकेकाले मौरीलाई फुटाउने र यसबाट धेरै घारसमेत बनाउने गर्छन् । गौतमले भने, ‘मह मात्रै हैन, व्यावसायिक पालन गर्नेलाई माहुरीसहितको घार नै बिक्री गर्दै आएको छु ।’ पछिल्लो समयमा महभन्दा पनि घार किन्नेको सङ्ख्या निकै बढेको उनको भनाइ छ ।

उनले माहुरीसहितको घार आठ हजार रुपैयाँमा बिक्री गर्ने गर्छन् । त्यसैगरी मह प्रतिमाना एक हजार रुपैयाँमा बिक्री गर्दै आएको छ । थोरै लगानीमा दीर्घकालीन आम्दानी गर्नका लागि मौरीपालन व्यवसाय निकै राम्रो भएको उनको अनुभव रहेको छ । उनले एक वर्षमै एक घार मौरी फुटाएर चार घार बनाउन सकिने बताए । महमात्रै नभएर मौरीसहितको घार बिक्री गर्दा आफूजस्ता मौरीपालक किसान बढ्ने भएकाले पछिल्लो समय घार फुटाउँदै बिक्री गर्दै गरेको गौतमले जानकारी दिए । एक वर्षअघि मात्र मौरीलाई फार्मका रुपमा विकास गरेर ‘आर्जन एण्ड आर्जिता’ मौरी फार्म दर्ता पनि गरेको छ ।

गौतमको मौरी फार्मलाई गत वर्ष कृषि ज्ञान केन्द्र पर्वतले एक सय घार मौरी बनाउन सफल भएको भन्दै ४ लाख ५० हजार रुपैयाँ अनुदानसमेत उपलब्ध गराएको थियो । अनुदानले मौरीपालन गर्न झनै हौसला प्रदान गरेको उनले बताए । ‘मैले आवश्यक परेमा मौरी पाल्न इच्छुकलाई निःशुल्क प्राविधिक सल्लाहसमेत दिँदै आएको छु’, उनले भने, ‘यस जिल्लामा र विशेषगरी सिंगानामा प्रशस्त चरन भएको जङ्गल क्षेत्र भएकाले यस्ता स्थानमा मौरीका लागि राम्रो वातावरण हुन्छ र यसबाट मनग्गे आम्दानी पनि गर्न सकिन्छ ।’

शुरुमा मौरीको आधुनिक घार खरिद गर्नबाहेक कुनै खर्च नलाग्ने भन्दै गौतमले सामान्य लगानीमा धेरै नाफा कमाउन मौरीपालन गर्न अन्य बेरोजगार युवालाई समेत सल्लाह दिन्छन् । देशमा रोजगारी नपाउने समस्या भएकाले त्यस्ता युवायुवतीलाई मौरीपालन व्यवसाय शुरु गर्न उनको सुझाव छ । महमात्रै बिक्री गरेर उनले वार्षिक कम्तीमा पनि पाँच लाख आम्दानी गर्दै आएको छ ।

मौरीपालनमा सबैभन्दा कम खर्च हुने भएकाले आम्दानीको ७० प्रतिशत रकम बचत गर्न गौतम सफल भएको छ । उनले महभन्दा मौरीसहितको घार बिक्रीबाट धेरै आम्दानी गर्दै आएको बताए । गौतमले गत वर्ष मौरीसहितको ४० घार बिक्री गरेर तीन लाख रुपैयाँ आम्दानी गरेको सुनाए ।

गौतम मौरीपालकको अगुवा संस्था नेपाल मौरीपालन महासंघ बागलुङ शाखाको अध्यक्ष पनि हुन् । विदेशमा गएर ठक्कर खाएर नेपाल फर्कनुभन्दा शुरुमै कृषि पेशा अँगाल्दा अहिले घरमै बसेर धेरै आम्दानी गर्न सकिने उनको अनुभव छ ।
सिंगानामा गौतम जस्तै अरु पनि १२ जनाभन्दा बढी मौरीपालक किसान छन् । करिब छ वर्ष कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित लुम्ले कृषि अनुसन्धान केन्द्रमा जागिर गरेको अनुभव गाउँमै सदुपयोग गर्दै आएको छ । सिंगाना गडेबोटका हरिबहादुर क्षेत्रीले पनि केही वर्षदेखि मौरीपालन व्यवसाय शुरु गरेको छ । हालसम्म पशुपालन तथा तरकारीखेती गर्दै आएका क्षेत्रीले ११ घारबाट मौरीपालन व्यवसाय शुरु गरेको हो । ‘दश वर्षदेखि कृषि अनुभव गाउँमै सदुपयोग गर्दै आएको छु,’ क्षेत्रीले भने, ‘घर वरपर तोरी तथा फूलजन्य वृक्ष प्रशस्त भएका कारण मौरीपालनका लागि वातावरण रहेको छ र म पनि यसैतर्फ आकर्षित भएको हुँ ।’

सिंगानालाई ‘एक घर–एक मौरीघार’ बनाउने उद्देश्यका साथ गत वर्ष बागलुङ नगरपालिकाको कृषि शाखाले ८० थान मौरीका घार वितरण गरेको बागलुङ नगरपालिका–८ का वडाध्यक्ष जीतबहादुर क्षेत्रीले जानकारी दिए । ‘अध्ययनका क्रममा सिंगानामा मौरीपालनको निकै सम्भावना देखियो’, क्षेत्रीले भने, ‘सुन्तला गाउँका रुपमा रहेको सिंगानामा सुन्तलासँगै मौरीपालन व्यवसाय फष्टाउँदैछ ।’ क्षेत्रीका अनुसार किसानको मागअनुसार यो चालू आर्थिक वर्षमा मौरीसहितको घार वितरण गर्ने योजनामा रहेको सिंगाना वडा कार्यालयले जनाएको छ ।

आगामी पाँच वर्षभित्र सिंगानाका सबै घरमा मौरीका घार हुनेगरी ‘एक घार, एक मौरी’ कार्यक्रम ल्याइएको हो । सुन्तला उत्पादन हुने क्षेत्रमा मौरीले चरन क्षेत्रका रुपमा सुन्तला बगैँचालाई प्रयोग गर्दा यहाँ उत्पादन भएको मह अर्गानिक तथा निकै स्वादिष्ट हुने गरेको छ । सिंगानामा सुन्ताला, तोरी, पैँयु र लालीगुराँस लगायतका वृक्ष छन् । यहाँ राम्रो सुन्तालाका बिरुवा पनि पाइने भएकाले अन्य स्थानको तुलनामा मौरीपालनको व्यावसायिक सम्भावना बढ्दै गएको किसानले बताउँदै आएका छन् ।

मह खानका लागि स्वादिष्ट हुने मात्र नभएर यसको औषधीय गुणसमेत छ । महलाई आयुर्वेदीय औषधिका रुपमा समेत प्रयोग गरिन्छ । महमा मानव स्वास्थ्यका लागि आवश्यक एन्टिअक्सिडेन्ट्स, भिटामिन, एन्जाइम, क्याल्सियम, आइरन, सोडियम, क्लोरिन, पोटासियम पाउन सकिन्छ । नियमितरुपमा मह सेवन गर्नाले एलर्जी, रुघाखोकी, घाँटीको समस्या कम हुनुका साथै मोटोपन घटाउने, अनिद्रा हटाउने र अल्सर तथा क्यान्सरको समस्यासमेत समाधानमा सहयोग पु¥याउने चिकित्सक बताउछन् ।

तपाईको प्रतिक्रिया