नेपाली दूतावास साउदीले अलकासिममा श्रमिक सुरक्षा, सचेतना तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । दूतावासले शुक्रबार एनआरएनए अलकासिमको समन्वयमा कार्यक्रम सम्पन्न गरेको हो । उक्त क्षेत्रका विभिन्न कम्पनीमा कार्यरत ७०भन्दा बढी नेपाली श्रमिकहरुले कार्यक्रममा सहभागीता जनाएका थिए ।
कार्यक्रम उद्घाटन सत्र¸ अन्तरक्रिया सत्र र समापन सत्र गरी ३ चरणमा संचालन गरेका थिए । उद्घाटन सत्रमा दूतावासका तर्फवाट द्वितीय सचिव भरत खनालले सहभागी तथा अतिथिहरुलाई स्वागत तथा कार्यक्रमको उद्देश्य लगायतका विषयया जानकारी गराए ।
अन्तरक्रिया चरणमा श्रमिकका समस्या र समाधानका उपायहरूका विविध विषयमा श्रम सहचारी अम्बिका प्रसाद अधिकारीले विस्तृतरुपमा प्रस्तुत गरेका थिए । त्यसैगरी कार्यक्रममा सहभागीहरूले श्रमिकका सवालहरूमा सक्रियतापूर्वक आफूलाई परेका समस्या, दूतावासले दिने सेवा लगायतका विषयमा अन्तरक्रिया गरेका थिए ।
समापन समारोहमा एनआरएनए साउदीका सचिव विशाल श्रेष्ठ¸ क्षेत्रीय समन्वय समितिका सल्लाहकार मनिष कोइराला¸ प्रवक्ता नुरूलजामा अन्सारीर सदस्य काजीमान कन्दङवाले दूतावासलाई उपयोगी कार्यक्रम लाएकोमा धन्यवाद दिए । उनीहरूले दूतावासले देखाएको बाटोमा हिडेमा समस्यालाई उल्लेख्य रूपमा कम गर्न सकिने भएकोले आगामी दिनमा समेत दूतावासले कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रमका अध्यक्ष नियोग उपप्रमुख दिलीपकुमार पौडेलले साउदीमा आउने नेपाली कामदारका लागि नेपाल सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक लागू गर्न थुप्रै चुनौतीहरुका बाबजुद दूतावास प्रतिबद्ध रहेको बताए । उनले थपे, यसमा श्रमिकहरू समेतको महत्वपूर्ण भूमिका रहन्छ ।
नियोग उपप्रमुख पौडेलले न्यूनतम पारिश्रमिक कार्यान्वयनमा सरोकारवालालाई निरन्तर दवाव र साउदी आउनेहरुमा सचेतना संचार गर्नु आवश्यक भएको जिकिर गरे । वैदेशिक रोजगारीमा जाँदा बुझाउनुपर्ने सेवा शुल्क तिर्ने विषयमा सरकारको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी कामदारको पनि हो, नियोग प्रमुख पौडेल भन्छन् ।
हामी इजाजतपत्रवालाका कुरा सजिलै विश्वास गर्दछौ तर आफ्नै हकहितमा सरकारले गरेका निर्णयमा विश्वास गर्न हामीलाई सकस हुन्छ । तर राज्यले कामदारहरुको हितमा थुप्रै कार्य गरेको समेत नियोग उपप्रमुख पौडेलले बताए । उनले भने, अब सबैले हर हिसावले राष्ट्र निर्माणमा सहयोग गर्नुपर्छ । परिवारसँग बसेर रमाउन सक्ने अवसर नेपालमै खोज्नुपर्ने समेतमा जोड दिए ।