मृत्युबाट जोगाउने मेरो असल अभिभावक गणेश सर


गणेश पण्डित नुवाकोटको वामपन्थी आन्दोलन मात्रै होइन देशकै एक ईमानदार देशभक्त वामनेता हुनुहुन्थ्यो । उहाँ हामी र हामीभन्दा अग्रजहरुका पनि अभिभावक हुनुहुन्थ्यो ।

जीवनका अप्ठेरा दिनहरु आउँदा झट्ट सम्झने विरलै मान्छे हुन्छ प्रत्येक नागरिकका । म त्यसको अपवाद हुन सक्दिन । मेरा पनि जीवनका प्रत्येक अप्ठेरा क्षणहरुमा सम्झने एक अभिभाकीय व्यक्तित्व हुनुहुन्थ्यो आदरणीय गुरु गणेश पण्डित ।

गणेश पण्डित नुवाकोटको वामपन्थी आन्दोलन मात्रै होइन देशकै एक ईमानदार देशभक्त वामनेता हुनुहुन्थ्यो । उहाँ हामी र हामीभन्दा अग्रजहरुका पनि अभिभावक हुनुहुन्थ्यो । हुन त नेपाली समाज र राजनीतिमा इमान र निष्ठाको खडेरी छँदैछ । सत्यता स्विकार गर्न कसैले कन्जुस्याइँ गरेर इतिहास त मर्दैन । दरबारियाहरुको भाषासँग मेलखाने गद्दार पुष्पलाल मोहन विक्रम सिंहको नाममा छापिए । तर, पुष्पलालको महानता कमजोर भएन । बरु पुष्पलालले दशकौँ वर्ष अघि देखेको सपना साकार भयो । मोहन विक्रम सिंह स्वास्निको लागि सांसद र मन्त्रीको भिख माग्दै बुढेसकाल गुजारिरहेका छन् । यो हो विधिको बिडम्बना । लोकतान्त्रिक गणतन्त्र बुर्जुवा कार्यक्रम भन्दै बाबुरामलाई पेस्तोल तेर्साउने नन्दबहादुर पुन लोकतान्त्रिक गणतन्त्रको उपराष्ट्रपति छन् । हामी बाँचेको समाज र राजनीतिको आजको यो वास्तविकता हो ।

राजनीतिको यो बेइमान थिति विरुद्ध अविचलित यात्रा गर्ने महान यात्री हुनुहुन्थ्यो गणेश पण्डित । धनवाद र डनवाद राजनीतिको अब्बल हतियार बन्यो बहुदलीय कालयता । यसले निष्ठा र आदर्शको राजनीति धुलिसात भयो । जसको कहर समाजले भोगेको वास्तविकता हामी सबैको सामु छर्लङ्ग छ । राजनीतिलाई कमाइखाने पेशा बनाउने डकैतहरुसँग उहाँको असहमति थियो । त्यो अन्तरसम्वादमा अभिव्यक्त हुन्थ्यो ।

त्रिचन्द्र कलेजमा उच्च शिक्षा हासिल गर्ने क्रममा तत्कालीन वामपन्थी र कांग्रेस समर्थक विद्यार्थीहरुले स्ववियुको निम्ति गरेको आन्दोलनको अग्रमोर्चामा हुनुहुन्थ्यो गणेश पण्डित । त्यो २०२४/२०२५ सालको कुरा हो । पञ्चायती निरंकुशता र मण्डले विद्यार्थीहरु विरुद्धको त्यो संघर्षमा नुवाकोटबाट वामपन्थी खेमाका गणेश पण्डित हुनुहुन्थ्यो भने कांग्रेस खेमाबाट उहाँकै सहोदर भान्जा अर्जुन नरसिंह केसी (नेपाली कांग्रेस पूर्व सहमहामन्त्री वर्तमान केन्द्रीय सदस्य) हुनुहुन्थ्यो । त्यही आन्दोलनको कारण उहाँमाथि उपत्यकामा बस्न प्रतिबन्ध लगायो महेन्द्रको पञ्चायती निरंकुशताले । त्यसपछि उहाँ उपत्यका छोडेर (कुमार पण्डितका अनुसार) नुवाकोटमा शिक्षकको रूपमा शैक्षिक जागरण र वामपन्थी आन्दोलनको प्रचार र संगठन गर्न क्रियाशिल हुनुभयो । त्यसक्रममा उहाँ शिक्षक संगठनको अगुवाई गर्दै देशव्यापी शिक्षक आन्दोलनमा क्रियाशिल हुनुभयो । २०४२ सालको बमकाण्डमा थुप्रै शिक्षकहरुमाथि धरपकड भयो । गणेश सर पनि त्यस बर्बरताबाट मुक्त हुनुभएन । चरम यातनासहित पञ्चायती हिरासत र जेल बस्नुभयो । कहिले शिखरबेसीमा नजरबन्द बिताउनु पर्यो ।

इतिहासको यो कस्टकर यात्रा एउटा हुनेखाने परिवारमा जन्मनु भएका गणेश सरको त्याग र बलिदानको अनुपम उदाहरण हो । २०४८ भएको संसदीय निर्वाचनमा भने उहाँ नेकपा एमालेको उम्मेदवार बन्नु भयो र भारी मतका साथ विजयी हुनुभयो ।

तीसको दशक वरिपरि भने नेकपा चौमसँग उहाँको सामिप्यता थियो । माथि नै भनियो नुवाकोटको वामपन्थी आन्दोलनको शुरूवात उहाँहरुकै सक्रियतामा भएको थियो ।

जीवनको उर्वरकालदेखि मरनोपरान्त वाम कम्युनिष्ट आन्दोलनप्रति अविचल रहनु गणेश सरको महानता थियो । अमुक पार्टीभित्र अन्यायको पहाडले थिचिए पनि समग्र कम्युनिष्ट आन्दोलनबाट विचलित नहुने शिक्षा मैले गणेश सरसँगै सिकेको हुँ । विदेशीहरुको दूतावासमा छोराछोरीको लागि छात्रवृत्तिको भिक्षा माग्ने पत्रुहरुले अमेरिका भ्रमणको बहाना बनाएर दण्डित गर्दा म सानै थिएँ । सिआइएको कब्जामा पुगेको हुलले गणेश सरप्रति गरेको दण्ड बुझ्दा म हाइस्कुल पढ्न थालेको थिएँ । हाइस्कुल सकिएपछि भएको आमनिर्वाचनमा भने म उहाँको चुनाव प्रचारमा लागेको हो । त्यतिबेला मेरो मतदाता नामावलीमा नाम समेत थिएन ।

गणेश सर बारे अनेक मिथक सुनेको थिएँ मैले । आफ्नै बाबुको तमसुक च्यातेर किसानलाई ऋृण मिनाह गरेर कम्युनिष्ट आन्दोलनमा होमिएका योद्धाको रुपमा । पञ्चायाती शासकहरुको जेलभित्र भोगेको अकथनीय यातना सहेका एक बहादुर योद्धाको रूपमा । मेरो दिमागमा नाचिरहने यो मिथक मैले नजिकबाट चिनेको चाहीँ २०५६ को आम निर्वाचनमै हो । उहाँ तत्कालीन नेकपा मालेको उम्मेदवारको रुपमा नुवाकोटको २ नम्बर क्षेत्रमा खडा हुनुभएको थियो । रास्ट्रघाती महाकाली सन्धिपछि कमरेड बामदेवको अगुवाइमा एमाले विभाजित भएपछि गणेश सर नुवाकोटको नेतृत्वमा हुनुहुन्थ्यो नेकपा मालेको ।

एक असाधरण सरल मानिसको रूपमा मैले उहाँलाई चिनेको हुँ पहिलोपटक । त्यो आजीवन कायम रह्यो । बिदुरचोकमा माइक बोकेर उभिएको सानो फुच्छे मलाई गणेश सरले अंगालोमा बेरेको अहिले झै लाग्छ । उहाँको त्यो माया मैले जीवन र मृत्युको दोसाँधमा उभिदा पनि पाएको छु । ज्ञानेन्द्रसँग ढोरपाटनमा हातमिलाएर सत्ता साझेदारी गर्ने प्रचण्ड गुटको लाबाङ मण्डले कार्यनीतिप्रति असहमति राखेर बाहिर बस्दा शाही नेपाली सेनाको शिकार हुनबाट बचाउन उहाँले दिनरात प्रयत्न नगर्नुभएको भए म आज जीवित रहने सम्भावना थिएन ।
त्यसैबखत हो उहाँसँग सबैभन्दा बढी साक्षरतकार भएको । देशभक्तिप्रति अविचल निष्ठा कम्युनिष्ट आन्दोलनप्रतिको दृढता र अथाह वर्गप्रेम उहाँका वास्तविक गुणहरु हुन् ।

आफ्नो वैचारिक प्रतिवद्धतालाई तिलान्जली दिएर सत्ताको भर्याङ् चढ्न खोजेको भए गणेश पण्डितका निम्ति कुनै आइतबार कुर्नु पर्दैन थियो । यसको पछिल्लो साक्षी हुँ म । यो गणेश पण्डितको महानता हो । सत्ता, सम्पत्ति र शक्ति हत्याउन आफ्नै सहयोद्दाहरुको मृत्युमा रमाउने पाखण्डीहरुले गणेश सरप्रति अनावश्यक टिप्पणी गर्दा मभित्र घृणाको ज्वालामुखी दन्किन्छ ।

एक यस्तो अविचलित योद्धाको गतवर्ष असमायिक निधनको खबर सुन्दा म नुवाकोटको एक बस्तिमा प्रतिवन्धित जीवन व्यतित गरिरहेको थिएँ । त्यसको केहि महिना पहिला उहाँसँगै नाम मिल्ने शिक्षकको निधन हुँदा काठमाडौंमै थिएँ । चिया पिउँदै गर्दा एक्कसी यस्तो खबर सुनेपछि मैले हतार हतार सरलाई फोन गरेको थिएँ । पहिलो फोन नउठेपछि म स्तब्ध भएको थिएँ । दोश्रो पटक फोन उठ्यो मेरो ओठ थरथर काप्न थालेको थियो । फोन सर आफैंले उठाउनु भएपछि म केहि समय बोल्नै सकिन । बाबु नेता कता छौ ? के छ देशको राजनिती ? (स्नेहपूर्वक पहिलो सोधाई यहि हुन्थ्यो मलाई) उहाँबाट सोधनी हुने यो पहिलो शब्दहरू दोहोरिए पछि म हर्षित भएको थिएँ । अनावश्यक स्टाटस लेख्ने सबै फेसबुकेहरुलाई गाली गर्दै मैले पनि स्टाटस झोस दिएको थिएँ । तर, दुर्भाग्य यो पटक खबर आयो हृदयघात भएर अस्पताल लानेक्रममा गणेश सरको निधन भयो । दौडेर काठमाडौं आउँ झैँ नभएको होइन । तर, बिकट ठाउँमा भएकोले साधनहरु थिएन । त्यसमाथि प्रतिबन्धको कहर छँदै थियो । उहाँको अन्त्यष्टीमा समेत सहभागी हुन सकिएन । त्यतिबेला समावेशी अनलाइनमा अलबिदा गणेश सर भनेर एउटा लेख लेखेर श्रद्धाञ्जली व्यक्त गरेको थिएँ ।

त्यसको केहि महिना पछि साथीहरू बीच भेटघाट हुँदा एउटा स्मृति ग्रन्थ निकाल्न पाए हुन्थ्यो भन्ने प्रस्ताव गरेको थिएँ । त्यसपछि राजकुमार दाइलाई (गणेश सरको जेष्ठ सुपुत्र) म्यासेन्जरमा प्रस्ताव राखेको थिएँ । उहाँले निकाल्ने हो भन्नु भा थियो । एकदिन टेम्पोमा पानी पोखरी ओरालो लाग्दै थिएँ म्यासेन्जरमा दिनेशको (गणेश सरको कान्छो सुपुत्र) फोन आयो । बुबाको स्मृति ग्रन्थ निस्कदै छ । दाइले पनि लेख्नु पर्यो । लेख्नु त छँदै थियो । यो बीचमा बिरामी परेँ ।

दिनेशले फेरी फोन गरेपछि झस्याङ्ग भएँ र लेख्न बसेँ । यो लेख्दै गर्दा छुटाउनै नहुने केहि विषयहरु छन् । नुवाकोटको वामपंथी आन्दोलनको इतिहास गणेश सर बिना शुरु हुनै सक्दैन । जिल्लाको पूर्वी क्षेत्रमा आएको शैक्षिक जागारणको इतिहास र सामाजिक आन्दोलनको सकारात्मक प्रभाव इतिहासमा अकाट्य रूपमा स्थापित सच्चाई हो । इतिहासको इमानदारी पूर्व निर्मम समिक्षा गर्नुपर्छ । र, भन्न सक्नुपर्छ गणेश सर इमान्दारीताको अर्को नाम हो । देशको देशभक्ति पूर्ण आन्दोलनको सतिशाल हो । त्यतिमात्रै होइन, उहाँ एक क्षमतावान कवि पनि हो र हुनुहुन्थ्यो । म उहाँको यो कविताबाट आफ्नो कुरा बीट मार्दैछु जो आजपनि देशको सिमानाको जल्दाबल्दा मुद्दा हो । उहाँले उतिबेलै यसरी लेख्नुभएको थियो :

अग्ला स्वच्छ हिमालको छतमुनि बस्ती अति सुन्दर
नेपाली मुटुभित्रको धुकधुकी ज्योति ननिभ्ने तर
हो नेपाल अखण्ड तैपनि बन्यो कोहि बिरानो सरि
कालापानी बनेर दुख्छ मुटुको घाउ ननिको गरि ।

हो आज पनि कालापानी मुटुको घाउ बनेर प्रत्येक देशभक्तहरुलाई दुखिरहेको छ । यसबारे लेखिनै सकियो । देशका सारा युवा अहिले यो मुद्दाको पैरवी गर्दैछ ।

अन्त्यमा, आजको वार्षिक स्मृतिमा फेरी पनि मलाई जीवनका अप्ठेरा दिनहरूमा बाँच्न सिकाउने र बचाउनुहुने आदरणीय गुरुप्रति हार्दिक श्रद्दासुमन !

तपाईको प्रतिक्रिया