महिला दिवसलाई सतर्कता र सचेतना दिवसका रुपमा मनाऔं: मुख्यमन्त्री पोखरेल

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
बुटवल, रुपन्देही

प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले यो वर्षको अन्तर्राष्ट्रिय महिला दिवसलाई कोरोना भाइरसविरुद्धको सतर्कता र सचेतना दिवसका रुपमा मनाउन अपिल गरेको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उनले यो वर्ष कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले भेला, सभा र सम्मेलन नगर्न आग्रह गरेको जनाए ।

महिला सशक्तीकरण र आत्मसम्मान उत्सवका रुपमा विश्वमा मार्च ८ लाई मनाइने उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले नेपालमा महिला सशक्तीकरण र आत्मसम्मान उत्सव मात्रै नभएर राजनीतिक चेतना र जागरण विस्तारका अवसरका रुपमा मनाइँदै आएको सन्देशमा उल्लेख गरेको छ ।


‘जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था र शाही शासनको कठिन अवस्थामा प्रजातान्त्रिक अधिकार प्राप्तिका लागि नेपाली महिलाले गरेको संघर्ष निकै अविस्मरणीय छ, ती  अध्याँरा र अप्ठ्यारा दिनमा  मार्च ८ को विशेष महत्व थियो’, सन्देशमा भनिएको छ ।

लोकतान्त्रिक आन्दोलनको दायरालाई फराकिलो बनाउन र उत्कर्षमा पुर्‍याउन महिला दिवसका सन्दर्भमा आयोजना भएका कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनले महिलाको सक्रियता, जुझारुपन र अठोटको सन्देशमा हार्दिक सम्मान व्यक्त गरेको छ । ‘अझै नेपाली महिला बोक्सी, छाउपडी र दाइजो जस्ता कुरीतिको शिकार भइरहेका छन्, यस्ता कुरीति हटाउन सबै हातेमालो गरेर अघि बढ्न जरुरी छ’, सन्देशमा उल्लेख गरिएको छ ।

मुख्यमन्त्री पोखरेलले संविधानको सफल कार्यान्वयन गर्दै समतामूलक नेपाल निर्माणको महाअभियानमा सबै एकताबद्ध भई अघि बढ्नसबै राजनीतिक दल, समुदाय, संघसंस्था र आम नागरिकमा हार्दिक अपिल गरेको छ । साथै उनले महिला दिवसका अवसरमा सबै महिला दिदीबहिनीप्रति सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया