तागत

कविता

हलो जोत्दै
थकाइको मेसो मिलाउँदै
एकदिन किसानले भन्यो
हामीलाई रिस उठ्यो भने अन्न होईन बारुद उमार्छु
त्यो खाद्यमन्त्रीको किचनले त्यतिखेर
कसरी मिष्ठान्न भोजनको सिठी फुक्छ ?

ज्यावाल बनाउँदै
आफैँले बनाएको कुटो कोदालो खेलाउँदै
एकदिन फलाम कारखानाको मजदुरले भन्यो
मैले चाहेँ भने सब फलाम अस्त्र बनाउछु
नौ जवान युवाहरुको हातमा थमाउछु
त्यो रक्षामन्त्रीले के गर्छ म पनि हेर्छु ?

कपडा कारखानाका मजदुर
एकदिन सुसेली मार्दै भन्यो
हामीले बनाई रह्यौं मुलायम कपडा
देखेकै छैन हाम्रो जादुको पापड
सनक उठ्यो भने बुन्ने छौँ कात्रो नै कात्रोको खाँद
त्यो बेला राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीले
कुन लुगा लगाएर देखाउँछन् आफ्नो शान सौगातको छाँट ?

थाहा थियो किसान-मजदुरलाई
उनीहरु रिसायो भने
अन्न बारुदमा परिणत हुन्छ
ज्यावलहरु अस्त्र बन्छ
मुलायम कपडाहरु एकाएक कात्रो भएर निस्कन्छ
अनि यो राज्यमा हालीमुहाली गर्नेहरुको सत्यनाश हुन्छ ।
युग फेरिने छ
र त्यो समानताको युगको मालिक उनीहरु हुनेछन् ।

यो संवादले उद्देलित म
उनिहरु रिसाएको हेर्न कुरिरहेको छु
तर, विडम्बना !
गुनासो बाहेक
उनीहरु रिसाएको कहिल्यै देख्न पाईएन ।

तपाईको प्रतिक्रिया