आहा रारा गोल्डकप: आर्मीलाई पराजित गर्दै मनाङ फाइनलमा

कृष्ण दबाडी संवाददाता
पोखरा, कास्की

मनाङ मस्र्याङदी क्लब पोखरामा सञ्चालन भइरहेको १८औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

यही फागुन २२ गतेदेखि पोखरा रंगशालामा भइरहेको प्रतियोगिताको बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा चिरपरिचित प्रतिस्पर्धी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै मनाङ प्रतियोगिताको उपाधि नजिक पुगेको हो । मनाङले अब उपाधिका लागि चैत १ गते नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलमा मनाङले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल गरे । आर्मीले पहिलो र दोस्रो हाफमा समान एक गोल गरे । खेलको चौथो मिनेटमै मनाङका विदेशी खेलाडी फ्लोरेन्टले गोल गर्दैै टोलीलाई अग्रता दिलाए । सुशील राईले बायाँ साइडबाट प्रहार गरेको कर्नर बललाई पेनाल्टी एरियामा विमल रानाले मिलाइदिएको पासमा फ्लोरेन्टले गोल गरेको हो ।

मनाङले २९औं मिनेटमा विमल रानाको गोलबाट अग्रता दोब्बर बनाए । अञ्जन विष्टले मिलाइदिएको पासमा डिवक्सभित्रबाट रानाले प्रहार गरेको बलले जाली चुमे । खेलको ४१औं मिनेटमा आर्मीका कप्तान भरत खवासले गोल गर्दै टोलीलाई खेलमा फर्काउने कोसिस गरे । सुमन अर्यालको क्रसमा नवयुग श्रेष्ठले हेडमार्फत मिलाइदिएको पासमा पेनाल्टी क्षेत्रबाट खवासले हेडमार्फत गोल गरेको हो ।


दोस्रो हाफमा खेलमा फर्कन आर्मीले निरन्तर संघर्ष गरिरहेको अवस्थामा ८१औं मिनेटमा मनाङका अञ्जन विष्टले गोल गर्दै टोलीको जित सुनिश्चित जस्तै गरेकोमा ८३औं मिनेटमा आर्मीका दीपकुमार लामाले गोल गर्दै खेल रोमाञ्चक अवस्थामा पुर्‍याए । खेलमा ७७औं मिनेटमा दीपक गुरुङको स्थानमा मैदान प्रवेश गरेका लामाले अर्का वैकल्पिक खेलाडी टंक बस्नेतको क्रस पासको सदुपयोग गर्दै सुन्दर गोल गरे ।

बराबरीका लागि अन्तिमसम्म प्रयास गरे पनि खेलको अन्तिम तथा इन्जुरी समयमा प्राप्त केही अवसर खेर फाल्दा साविक उपविजेता आर्मी यसपटक फाइनल पुग्न सकेन । आर्मी आहा रारामा चारपटक फाइनलमा प्रवेश गरे पनि हालसम्म उपाधिबाट विमुख हुँदै आएको छ ।

शहीद स्मारक लिगमा मनाङले १–० ले आर्मीलाई पराजित गरेपछि यी दुई टोली पहिलोपटक पोखरामा प्रतिस्पर्धा गरेका हुन् । खेलमा मनाङका फ्लोरेन्ट ‘म्यान अफ दी म्याच’ घोषित हुँदै पाँच हजार रुपैयाँ पुरस्कार तथा ट्रफी प्राप्त गरे । पोखरेली दर्शकले सर्वाधिक मन पराउने मनाङले हालसम्म पाँचपटक आहा राराको उपाधि चुमेको छ । प्रतियोगिताको दोस्रो, तेस्रो, १०औं, १४औं र पन्ध्रौं संस्करणमा मनाङ च्याम्पियन बनेको हो ।

खेलपछिको पत्रकार सम्मेलनमा आर्मीका प्रशिक्षक नवीन न्यौपानेले खेलको शुरुमै गोल खान पुग्दा टोली दबाबमा परेको बताउँदै सेन्ट्रल डिफेन्स मजबुत नहुँदा बढी मिस पास भएको बताए । विपक्षीको ‘टाइट मार्किङ’का कारणले भरत खवासलगायतका खेलाडी खुलेर खेल्न नसकेको तथा उनीहरुको मार्किङलाई तोड्न कठिन भएको उनको भनाइ छ ।

मनाङका प्रशिक्षक फुजा टोपेले आर्मी बलियो र अनुभवी टोली रहे पनि महत्वपूर्ण खेलमा जित हासिल गर्दै फाइनल प्रवेश गरेकामा खुशी व्यक्त गरे । आफूहरु उपाधिका लागि खेल्ने भएकाले फाइनल खेल अत्यन्त प्रतिस्पर्धापूर्ण हुने उनले बताए ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १० लाख एक हजार रुपैयाँ तथा उपविजेताले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया