युएईमा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

युएई

जनजागरण चेतनशील युवा क्लव युएईद्वारा बृहत सांस्कृतिक कार्यक्रम-२०२० सम्पन्न भएको छ । क्लबले मार्च १३ तारिख शुक्रबार बरदुबइस्थित एभरेष्ट इण्टेरनेशनल होटेलमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि काभ्रे अन्तर्राष्ट्रिय सेवा समाजका अध्यक्ष दिल लामाले जनजागरण यूवा क्लबका सबै टिमलाई शुभकामना दिने क्रममा नेपालीहरू सांस्कृतिक, धार्मिक, प्राकृतिक रुपमा धनी भएको बताए । उनले थपे-‘देश विदेशमा छरिएर बसेका युवाहरू जागरूक भई देशको लागि उदाहरणीय काम गर्दै भावी सन्ततिहरुलाई राजनैतिक जनचेतना पनि जगाउनु पर्छ’ ।

त्यस्तै विशेष अतिथि नेपाल सरकार प्रधानमन्त्री पूर्व स्वकीय उपसचिव मिना श्रेष्ठले प्रवासमा रहेर पनि नेपालमा भइरहने गतिविधिलाई नियालिरहेकोमा धन्यवाद दिइन् । बाध्यता र विवशताले रोजगारीका लागि प्रवास भासिएका नेपालीहरुको नेपाल प्रति ठुलो योगदान रहेको भन्दै उपसचिव श्रेष्ठले प्रसंशा गरिन् । उनले थपिन्,’विश्वव्यापी रुपमा फैलिएको कोरोनाको आतंकबाट त्रसित हुनुभन्दा सतर्क र सावधानी अपनाउनु पर्छ ।’

कार्यक्रममा अन्तर्राष्ट्रिय मंगोल एकता समाज युएईका अध्यक्ष अमर धिमालले क्लबले गर्दै आएको कार्य सराहनीय भएको बताए । उनले थपे,’ यहा रहेका क्लब लगायत युएईमा रहेका विभिन्न संस्थाले जस्तै दुख, पीडामा परेका नेपालीहरुको उद्धारमा मंगोल एकताले पनि सहकार्य गर्न तयार छ ।’ युएई तथा अन्य देशमा कार्यरत युवाहरू जागरूक भई नेपालमै गएर केही गर्नसके देशले काँचुली फेर्ने छ, उनले भने ।

त्यसैगरी समारोहमा त्रिशुली समाज युएईका अध्यक्ष सम्पर तामाङले रोजगारीको लागि प्रवासमा रहेका प्रत्येक व्यक्तिले यहा झै नेपालमा खटिए भने, भावी सन्ततिहरू बिदेशिनु नपर्ने दावी गरे । देश तथा विदेशमा रहेका कलाकारहरुले सांस्कृतिक माहोललाई मात्र जोड नदिई जनचेतनामुलक कार्यक्रमहरुमा पनि जोड दिनुपर्ने अध्यक्ष तामाङ बताए ।

कार्यक्रमका सभापति एवं क्लबका अध्यक्ष मनिष लोप्चन तामाङले युवा जनजागरण क्लब एक गाउँ, ठाउँ र एक जिल्लाको लागि मात्र नभई विश्वभर छरिएर रहेको नेपाली युवाहरुलाई समेटेको जानकारी दिए । उनले राम्रो कामको सत्कार र नराम्रो कामको बहिष्कार गर्नुपर्ने बताए । समाजमा हुने गरेको नकारात्मक गतिविधिहरुलाई पञ्छाएर सकारात्मक सोचतिर सबै एकजुट भई अघि बढ्न समेत आग्रह गरे ।

कार्यक्रममा दुबई पुलिस कोच अन्तर्राष्ट्रिय खेलाडी करण बहादुर चन्द, जन प्रगतिशील कलाकार समूहका अध्यक्ष नविन दोङ तामाङ, ताप्लेजुङ सेवा समाजका अध्यक्ष सोनी भण्डारी, त्रिशुली समाज युएईका कोषाध्यक्ष लोकेन्द्र तामाङ, डिस्कोभरी रोयल एलएलसि प्रबन्ध निर्देशक ओम उप्रेती, सुनसरी सेवा समाज युएईका अध्यक्ष देविका आचार्य लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू उपस्थितिरहेका थिए ।

त्यस्तै कार्यक्रममा स्थानीय कलाकारहरू रोहित बस्नेत, देवराज तामाङ, सोनम तामाङ, सुरेन्द्र लामा, राकेश लामा, सञ्जिता तामाङ, हेमराज बिसी, राधिका थापा, नवाङ तामाङ र संगीता तामाङले बेजोड प्रस्तुति राखेका थिए ।

‘समृद्ध नेपाली समाज निर्माण गर्नको लागि सम्पूर्ण अन्तर्राष्ट्रिय युवाहरू एक जुट हौं ‘ नाराका साथ सम्पन्न कार्यक्रममा कलाकारहरुलाई युएईमै पहिलोपटक ट्रफी र प्रमाणपत्रले सम्मान गरिएका थिए । त्यसैगरी कार्यक्रम सुरेन्द्र तमाङ र अञ्जुली लोप्चन तामाङले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया