कोरोनाका कारण आलु महोत्सव स्थगित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
पोखरा, कास्की

पोखरा महानगरपालिका-२५ हेम्जामा विगत वर्षदेखि हुँदै आएको आलु महोत्सव यसवर्ष नहुने भएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड– १९ का कारण यस वर्ष हेम्जामा आलु महोत्सव नहुने आयोजक क्लबका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए ।

‘हामीले तयारी गरेका थियौं तर कोभिड– १९ को प्रभाव बढिरहेकाले स्वस्थ्य सर्तकतालाई ध्यान दिएर यो वर्ष महोत्सव स्थगन गर्ने निर्णयमा पुग्यौं’, श्रेष्ठले भने । विगत १० वर्षदेखि हेम्जामा विष्णुपादुका क्लबले आलु महोत्सव गर्दै आइरहेको छ । वर्तमान अवस्थालाई मध्यनजर गर्दै क्लबका सल्लाहकारसहितको बैठकले उक्त निर्णय गरेको उनले जानकारी दिए ।

विसं २०६६ देखि हुँदै आएको उक्त महोत्सवको पहिलो संस्करण स्थानीय बहुद्देश्यीय किसान सहकारी संस्थाले, दोस्रो संस्करण तत्कालीन हेम्जा गाविसले तथा तेस्रो संस्करणदेखि लगातार विष्णुपादुका क्लबले गर्दै आएका थिए । आयोजकका अनुसार १० दिनसम्म चल्दै आएको उक्त महोत्सवमा कृषकले ३८ देखि ४० मेट्रिक टन आलु बिक्री गर्दै आएका थिए भने करिब एक लाख दर्शकले मेलामा अवलोकन गर्दै आएका थिए । कृषकसँग समन्वय गरेर मेलासम्म आलु ल्याएर बिक्री वितरणको व्यवस्थापन गर्दै आएका संयोजक जयराम तिमिल्सिनाले यसवर्ष फागुनको पहिलो साताबाटै व्यापारीले कृषकको घरघर पुगेर आलु सबै खरिद गरिसकेको बताए ।

‘सधैँ आलु महोत्सव कुरेर बस्ने कृषक यसवर्ष कोभिड–१९ का कारण महोत्सव हुने-नहुनेमा पहिले नै आशंका थियो, व्यापारीले बारीबाटै आलु खरिद गरिसकेका छन्’, तिमिल्सिनाले भने । व्यापारीले ३० रुपैयाँदेखि ३२ रुपैयाँ प्रतिकिलोमा आलु खरिद गरेका र यसवर्ष हेम्जामा करिब ४५ मेट्रिक टन आलु उत्पादन भएको छ, भने गतवर्ष ५० मेट्रिक टन आलु उत्पादन भएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया