घरायसी झगडामा श्रीमानको हत्या, पत्नी पक्राउ

राजु तामाङ प्रदेश २
सर्लाही, हरिवन
PHOTO:

जिल्लाको उत्तर–पूर्वी चुरे क्षेत्र स्थित विकट गाउँमा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ । हत्यामा संलग्न भएको आशंकमा प्रहरीले मृतककै पत्नीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर लामीदमार निवासी ५४ वर्षीय अम्बरबहादुर परियारको धारिलो हतियार प्रहार गरी शनिबार हत्या भएको सर्लाही प्रहरीले पुष्टी गरेको छ  । वडाका नं. १२ का वडाध्यक्ष नागेन्द्र पाख्रीनका अनुसार परियारको टाउको र ढाडमा धारिलो हतियारले प्रहार गरेको गहिरो चोट रहेको बताएको छ । प्रहरीले हत्यामा संलग्न हुनसक्ने आशंकामा परियारकी ५७ वर्षीया श्रीमती सोनामाया नेपालीलाई नियन्त्रणमा लिएको छ । घरायसी झगडमै श्रीमानको हत्या हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

शनिबार राती कै घटना भएपनि घटनास्थल सिन्धुली जिल्लाको सीमा नजिक साबिक कालिन्जोर गाविसको अति विकट चुरे क्षेत्रमा पर्ने भएकाले प्रहरीले आईतबार मात्र जानकारी पाएको हो । लामीदमारका स्थानीयवासीले आईतबार बिहान ७ बजे वडाध्यक्ष पाख्रिनलाई जानकारी गराएपछि मात्र उनीमार्फत घटनाबारे प्रहरीले थाहा पाएको बताएको छ ।

मृतकको शव घटनास्थलबाट पोष्टमार्टमका लागि आईतबार दिउँसै सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय केशरगंजले जनाएको छ । प्रहरीले घटनास्थलबाट एक थान बञ्चरो समेत बरामद गरेको छ। कालिन्जोरबाट बाँके खोलाको बाटो हुँदै घटनास्थल पुग्नु पर्ने हुँदा मृतकको शव ल्याउँन छ घण्टा भन्दा बढी समय लागेको प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए ।

घरमा श्रीमान–श्रीमती मात्र बस्ने गरेको र प्रायः मदिरा सेवन गरिरहने अम्बरबहादुर र सोनामायाबीच दैनिकजसो विवाद भईरहने गरेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया