दाङमा थारू भाषालाई प्राथमिकता

दाङ
तस्बिर: फाइल

घोराही उपमहानगरपालिकाभित्र बसोबास गर्ने कुल जनसंख्याको करीब २४ प्रतिशत जनसंख्या थारू भाषा बोल्छन् । अन्य भाषाको तुलनामा सो भाषा बोल्ने धेरै छन् । सोही कारण उपमहानगरपालिकाले थारू भाषालाई अहिले प्राथमिकतामा राखेको छ ।

उपमहानगरको २०७४ साउनमा बसेको कार्यपालिका बैठकले नगर क्षेत्रका सरकारी कार्यालयमा थारू भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेका थिए । उक्त निणर्य केही हदसम्म व्यवहारमा लागू गरिएको छ । नगरले गर्ने नगरसभा वा अन्य सार्वजनिक महत्वको कार्यक्रममा नेपाली भाषासँगै थारू भाषामा ब्यानर लेखिएका हुन्छन् ।

यसलाई सरकारी कामकाजको रुपमा महत्व दिएसँगै नगरले थारू भाषालाई प्राथमिकतामा राख्न फेरि नयाँ कार्य शुरु गरेको छ । उपमहानगरपालिकाले थारू भाषाको पाठ्यक्रमको निर्माण गर्न थालेको छ । देश संघीय संरचनामा गएपछि माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएकाले विभिन्न स्थानीय तहले आआफ्नो स्थानीय तहअनुसार पाठ्यक्रम निर्माण गर्ने अधिकार पाएको हुँदा घोराहीले यसलाई व्यावहारिक कार्यान्वयनको प्रयास थालेको छ ।

जिल्लामा यसरी पाठ्यक्रम निर्माण गर्न थालिएको सम्भवतः यो नै पहिलो हो । जिल्लामा १० स्थानीय तह छन् । कसैले पनि आफ्नै पालिकास्तरीय पाठ्यक्रम निर्माण शुरु गरेका छैनन । जिल्लामा थारू, मगर र अवधि भाषामा अध्यापन गराइए पनि पाठ्यक्रम निर्माण भएको थिएन । पाठ्यक्रम निर्माणका लागि उपमहानगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरेर विज्ञ व्यक्ति तथा संस्थालाई प्रस्ताव आह्वान गरेको छ । गत फागुन ८ गते बसेको नगर शिक्षा समितिको बैठकले थारू भाषामा पाठ्यक्रम निर्माण गर्ने निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ ।


उपमहानगरले प्राथमिक विद्यालयसम्मको पाठ्यक्रम निर्माण गर्न थालेको शिक्षा युवा तथा खेलकूद महाशाखाका शाखा अधिकृत नारायणप्रसाद पौडेलले जानकारी दिए । पाठ्यक्रम निर्माण गरेर नगरमा रहेका प्राथमिक विद्यालयमा लागू गरिने शाखा अधिकृत पौडेलले बताए । पाठ्यक्रम तयार गरिसकेपछि पाठ्यपुस्तक प्रकाशनका लागि पाठ्यपुस्तक विकास केन्द्रलाई प्रदान गरिने बताइएको छ ।

‘ नगर क्षेत्रमा रहेका इच्छुक विद्यालयमा थारू भाषाको पाठ्यक्रम लागू गरिनेछ’, अधिकृत पौडेल भने, ‘सबै विद्यालयमा लागू हुनेछैन ।’आउँदो शैक्षिक सत्रबाट लागू गर्ने तयारी गरिएको शिक्षा युवा तथा खेलकूद महाशाखाले जनाएको छ । पाठ्यक्रम निर्माणका लागि एक लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । स्थानीय पाठ्यक्रमलाई प्राथमिकता दिनुपर्ने उद्देश्यअनुसार नै उपमहानगरपालिकाले थारू भाषाको पाठ्यक्रम निर्माण गर्न लागेको हो । पाठ्यक्रम अनिवार्यभन्दा पनि रुचि राख्ने विद्यालयमा लागू गरिने अधिकृत पौडेलले बताए ।

थारू बस्ती बढी रहेका विद्यालयहरुमा लागू गर्ने तयारी भएको उपमहानगरका सूचना अधिकृत भीमबहादुर चौधरीले बताए । ‘बालबालिकाले आफ्नै मातृभाषामा अध्ययन गर्न पाउँदा बालबालिकामा सिकाइसँगै थारू भाषाको संरक्षणमा सहयोग पुगोस् भन्ने अपेक्षा छ’, अधिकृत चौधरीले भने । थारू भाषाको पाठ्यक्रम एक सय पूर्णाकको रहनेछ ।

तपाईको प्रतिक्रिया